प्रधानमन्त्री ओलीका कारण नेकपा संकटमाः प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा संकटमा परेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको सन्दर्भमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा नेकपा एमाले नामको पार्टी दर्ता भएकाले पार्टी संकटमा परेको बताएका हुन् ।
प्रचण्डले अहिले नेकपामा नीति एउटाको तर नेतृत्वमा विचार अर्कै रहेको भन्दै यसरी अघि बढ्न नसकिने बताए । एकताकै निम्ति पहल भइरहेकाले आफूले जुलुस ननिकालेको उनले बताए । उनले यो पदको निम्ति नभई विचार विधि र पद्धतिको वहस भएको बताए ।
उनले भने, मैले तपाईँहरुलाई ढाँटिरहनु पर्दैन, पार्टी संकटमा छ । पार्टीको बैठक चल्दा चल्दै निर्वाचन आयोगमा अर्का अध्यक्षको सक्रियतामा नेकपा एमालेको नाममा पार्टी दर्ता अघि बढाइयो, यसले संकटलाई व्यक्त गरेकै छ । मुर्दाबाद र जिन्दावादका नारा लागिरहेका छन्। हामीले साथीहरुलाई धैर्य गर्नुस् भनेका छौं। तर त्यस खालका प्रचारवाजी पनि भइरहेका छन्। पार्टी संकटमा छ, सामान्य अवस्थामा छैन।’
नयाँ नक्सा जारी गर्ने निर्णय पार्टीले गरेकाले व्यक्तिको देवत्वकरण भइरहेको भन्दै असन्तुष्टि जनाए । अझै पनि पार्टीमा विधि र विचारको विकास हुने र नफुट्ने विश्वास आफूमा रहेको उनले बताए ।
प्रचण्डले पुष्पलालको जनवादी क्रान्तिको नीति पारित हुँदा पनि राजा परस्त केशरजंग रायमाझी नेतृत्वमा जाने कुराले कम्युनिष्टमा गम्भीर समस्या ल्याएको भन्दै अहिले पार्टीभित्र पनि नीति एउटाको छ तर नेतृत्वमा अर्कै विचार भएको बताए । उनले यस्तो अवस्था रहे पार्टी दुर्घटना पर्ने बताए ।