लद्दाखको रणनीतिक भूगोल, भूराजनीतिक महत्व र भारत-चीनको भीडन्त



केशवप्रसाद भट्टराई ।
लद्दाख राजा हरि सिंह शासित जम्मु काश्मिर राज्यको अङ्ग थियो I  त्यसैले काश्मिरको आधुनिक इतिहासको सङ्क्षिप्त उल्लेख गरौँ –
काश्मिरमाथि अफगानीहरूले १७५० देखि १८१९सम्म शासन गरे I उक्त अवधिलाई काश्मिरको इतिहासको सबैभन्दा अन्धकार युग मानिन्छ I
अफगानहरूले काश्मिरमा चलाएको बर्बरता र क्रूरताबाट आजित भएर काश्मिरी जनताको तर्फबाट एउटा प्रतिनिधि मण्डल पंजावका राजा रणजित सिंह कहाँ गयो र अफगानीहरूलाई आफ्नो भूमिबाट धपाउन उनको सहयोगको लागि अनुरोध गर्यो I  महाराज रणजित सिंह अन्तर्गतका एक सामन्त जनरल गुलाब सिंहको नेतृत्वमा गएको पंजावी फौजले अफगानीहरूलाई काश्मिरबाट धपायो I
जम्मु र काश्मिर रणजित सिंहको शासन अंतर्गत आयो I

रणजित सिंहले प्रसन्न भएर गुलाव सिंहलाई विर्तामा जम्मु दिए I १८३९मा रणजित सिंहको निधन भयो I सन् १८४६मा अङ्ग्रेजहरूले पंजावलाई पराजित गरे I तर पंजावको पराजय अघि गुलाब सिंहलाई अङ्ग्रेजहरूले आफ्नो पक्षमा पारेका थिए I महाराज गुलाव सिंहको शासन कायम हुन आउँदा सम्म कश्मिरी पण्डितहरूको सानो सङ्ख्या बाहेक ९० प्रतिशत काश्मिरी जनता विभिन्न मुस्लिम शासकहरूको क्रूर दमन र दवावमा परेर मुसलमान बनिसकेका थिए I

पहिलो अङ्ग्रेज -अफगान युद्धमा अफगानिस्तानमाथि आक्रमण गर्न अङ्ग्रेजलाई जम्मु भएर सेना लैजान बाटो दिए वापत अङ्ग्रेजहरू गुलाव सिंहसँग औधि प्रसन्न थिए I १८४६मा अङ्ग्रेज सिख युद्धमा पनि गुलाव सिंहले अङ्ग्रेजहरूलाई गुप्तरूपमा साथ दिएका थिए I
यी सबैको गुन तिर्ने उद्देस्यले १६ मार्च १८४६मा अङ्ग्रेज सरकारले गुलाव सिंहलाई ७५ लाख रुपैयाँमा जम्मु काश्मिर वेचिदिए I (१ )
उनै गुलाव सिंहका चौथोपुस्ताका हरि सिंह १९४७मा भारत स्वतन्त्र हुँदा जम्मु काश्मिरका महाराजा थिए I

चीनको मुस्लिम बहुल तर पृथकतावादी राजनीतिको समस्या बेहोरिरहेको सिन्जियाङ, क्षेत्रीय र अन्तर्राष्ट्रिय विवाद र तनावबाट मुक्त हुन अझै नसकिरहेको तिब्बत, पाकिस्तान र अफगानिस्तानसँग सीमा जोरिएको र मध्य एसियाको ताजिकिस्तान लगायतका मुलुकहरू निकटको जम्मु काश्मिर (पाकिस्तान नियन्त्रित समेत) को भौगोलिक अवस्थितिले नै यसको भूराजनीतिक महत्वलाई स्पष्ट पार्दछ I

लेनिनले १९२०मा भनेका थिए -बेलायत हाम्रो सबैभन्दा ठूलो दुष्मन हो र बेलायतको उपनिवेश मध्ये सबैभन्दा महत्वपूर्ण भारत हो I
त्यसैले बेलायतलाई सबैभन्दा कठोर प्रहार गर्न भारतमाथि नै प्रहार गर्नु पर्दछ (२) उपरोक्त भनाई लगत्तै सोभियत सङ्घले पश्चिममा क्यास्पियन सागरदेखि पूर्वमा चीनको पश्चिमी सीमानासम्म र उत्तरमा रूसदेखि दक्षिणमा इरान, अफगानिस्तान र चीनसम्म विस्तारित मध्य एसियाका कजाकस्तान, उज्बेकिस्तान, ताजिकिस्तान किर्गिजस्तान र तुर्कमेनिस्तान राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्यो I

ती मुलुकहरूमा कम्युनिस्ट पार्टी स्थापना गरायो I तुर्क जाती र मुस्लिम समुदायवीच जात र सम्प्रदायको आधारमा एकताको आधार निर्माण हुन नदिन ती मुलुकहरूवीच नयाँ सीमा रेखा निर्माण गर्यो र सोभियत सङ्घ अन्तर्गतका स्वायत्त राज्यको रूपमा १९२४मा आफूमा मिलायो I
यहाँ अर्को विचारणीय पक्ष के पनि रहेको छ भने मुलुकमा कम्युनिस्ट शासन स्थापना हुनु भन्दा धेरै अघि देखि लगातार रूस भारतलाई लक्ष गरेर दक्षिणतर्फ अघि बढिरहेको थियो I

उदाहरणको लागि १७५९मा रूस र बृटिस भारतको भूभागवीच छ हजार किलोमिटर भन्दा बढीको दूरी थियो तर १८८५मा आइपुग्दा त्यो दूरी करीव छ सय किलोमिटरमा सीमित हुन पुग्यो I  अफगानिस्तान सोभियत नियन्त्रणमा आउँदा जम्मु काश्मिरको सीमाना (पाक अधिकृत ) मा नै रूस आइपुग्यो I भारतीय काश्मिरको हिसाव गर्दा त्यो दूरी करीव सय किलोमिटर थियो I  आजको मितिमा अफगानिस्तान वास्तविक अर्थमा अमेरिका शासित छ I अर्थात जम्मु काश्मिरको सीमानामा छेउमा अमेरिका र चीन दुवै छन् I

अर्को शक्तिशाली मुलुक रूस छेवैबाट रणनीतिक अवशर खोजिरहेको छ I ब्रिटेनले भारतको सुरक्षाको लागि अलग अलग तहको सुरक्षा पत्र निर्माण गरेको थियो – उदाहरणको लागि पश्चिममा अफगानिस्तानको सीमानापारी मित्र शक्तिहरू स्थापना गर्ने, अफगानिस्तानलाई आफ्नो संरक्षकत्व अन्तर्गतको स्वतन्त्र राष्ट्र बनाउने र अफगानिस्तान र भारतको वीचमा विभिन्न जाती -जनजातीको स्वायत्त क्षेत्र कायम राख्ने I
१९४७मा भारत स्वतन्त्र हुनु अघिसम्म पश्चिम र पश्चिम-उत्तरको बृटिस भारतको सुरक्षा रणनीति त्यही थियो I

यता उत्तर तर्फ तिब्बतलाई अफगानिस्तान जस्तै बफर राष्ट्र बनाएको थियो I  तिब्बतदेखि दक्षिण भुटान, सिक्किम, नेपाल,काश्मिरलाई दोस्रो तहको बफर राष्ट्रहरूको हैसियतमा स्थापना गरेको थियो I  त्यस्तो बफरको औचित्यबारे नेपाल सम्वन्धी यो प्रसंग पनि मननीय छ —
सन् १८१४-१६ को नेपाल अङ्ग्रेज युद्धमा नेपाललाई भारतमा गाभ्ने बारे अङ्ग्रेज सरकारले उच्चतम तहमा व्यापक विचार -विमर्श र छालफल चलाएको थियो I तर त्यसका केही व्यवहारिक पक्ष र ब्रिटिस भारतका सर्वोच्च शासक अर्थात भायसराय लर्ड हेस्टिंगसका हिमालयन मामिला सम्वन्धी सल्लाहकार डा. बुचानन. हेमिल्टन त्यस्का विरूद्ध उग्र विरोधमा उत्रिए I

ब्रिटिस भारत र चीन जस्ता एक अर्काप्रति घृणा र शत्रुता राख्ने दुई ठूला र शक्तिशाली मुलुकहरुको वीचमा करीव एक हजार दुई सय किलोमिटर ( बाँके, बर्दिया, कैलाली र कन्चनपुर पछि जङ्गबहादुरको पालामा नेपालमा आएकोले त्यतिखेरको नेपाल र ब्रिटिस भारत वीचको सीमानाको लम्बाई यस्तै थियो ) को सीमा क्षेत्रमा बफरको रूपमा नेपाल रहँदा त्यसले ब्रिटिस भारतको वृहत्तर राष्ट्रिय हितलाई नै सहयोग गर्ने कुरामा डा. हेमिल्टनले आफ्नो उच्च नेतृत्वलाई सहमत गराए I (३) लर्ड हेस्टिंगसका उत्तराधिकारीहरूले बारम्बार डा.हेमिल्टनको विचारलाई अनुशरण गरिरहे I

अझ भारत र चीनलाई जोड्ने अनि एसियाका तीन आणविक शक्ति राष्ट्र चीन, भारत र पाकिस्तान जोड्ने र एक अर्को मुलुकको अधिनमा रहेको जम्मु काश्मिरको भूभागमाथि उनीहरूको दावी रहेको कारण अमेरिका र रूस लगायत विश्वका सवै शक्ति राष्ट्रहरूको रूचि र ध्यान जम्मु काश्मिरमा लक्षित छ र केन्द्रित छ I

पूर्व सोभियत सङ्घ र अमेरिकाले अफगानिस्तानमा किन त्यत्रो ठूलो सैन्य रणनीतिको लगानी गरे भन्ने कुराको एउटा उत्तर – अफगानिस्तानसँग जोडिएको र एकै साथ चीन, भारत र पाकिस्तानको नसा छाम्न सकिने जम्मु काश्मिरको भूगोल पनि हो I
त्यसमाथि पाकिस्तानकोलागि पानीको एक मात्र मूल स्रोत भनेको पनि पनि जम्मु र काश्मिरबाट झर्ने नदीहरू हुन् I
अर्थात राष्ट्रकोरूपमा पाकिस्तानको जीवन नै जम्मु काश्मिरबाट झर्ने नदीहरूमा निर्भर छ I
_______________________
सन्दर्भ ग्रन्थ
(१ ) भारतीय काङ्ग्रेस पार्टी सम्वद्ध विख्यात भारतीय पत्रकार र लेखक एम. जे. अकवर २०१४मा भारतीय जनता पार्टीमा सम्वद्ध भए र नरेन्द्र मोदीको पहिलो सरकारमा २०१५-२०१८ को अवधिमा विदेश राज्य मन्त्री समेत थिए I उनीद्वारा लिखित र चर्चित पुस्तक इन्डिया दी सीज विदीन, पेङ्गुइन बुक्स, १९८५, पृष्ठ २२०
(२ ) गाइल्ज मिल्टनको चर्चित पुस्तक रसियन रूलेट : अ डेडली गेम – हाउ ब्रिटिस स्पाइज थवार्टेड लेनिन्ज ग्लोबल प्लटबाट राजिव डोग्राको पूर्वोक्त पुस्तकमा उदृत, पृष्ठ १९९ I
३ ) ए. ल्याम्ब -ब्रिटेन एण्ड चाइनिज सेन्ट्रल एसिया : दी रोड टु ल्हासा १७६७ टु १९०५, रुटलेज एण्ड केगान पल , १९६०, पृष्ठ ३९-४० बाट फ्रेडरिक ए. ग्रिनहट द्वितीय लिखित पुस्तक – दी तिबेतियन फ्रन्टियर्स क्वेस्चन – फ्रम कर्जन टु कोलाम्बो कन्फरेन्स, एस चन्द एण्ड कम्पनी, (मिति नभएको) पृष्ठ २मा उदृत I

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित