साउन ६ गतेपछि केही क्षेत्रलाई थप खुल्ला गर्ने सरकारको तयारी
काठमाडौं । सरकारले कोरोना महामारीका कारण बन्द गरिएका केही क्षेत्रलाई थप खुकुलो बनाउदै खुल्ला गर्ने तयारी गरेको छ । आइतबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा साउन ६ गतेपछि केही क्षेत्रलाई खुल्ला गर्ने बिषयमा छलफल भएको हो ।
केही क्षेत्र खुल्ला गर्नका लागि प्रस्ताव आएको र त्यसबारेमा बिस्तृत छलफल गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए । यसका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने र आवश्यक निर्णय लिइने उनले बताए । कोरोना महामारीपछि हवाइक्षेत्र, सिनेमा हल, विद्यालय, धार्मिक क्षेत्र लगायत अझै बन्द छन् ।
बैठकले विभिन्न देशमा रहेका श्रमिकहरुलाई नेपाल ल्याउने क्रमलाई जारी राख्ने निर्णय पनि गरेको छ । समितिले कोरोना नियन्त्रणका लागि भएका कामहरु प्रभावकारी भएको निष्कर्ष निकालेको उनले बताए । त्यस्तै विश्वभर कोरोना संक्रमण बढ्दै गएको अवस्थामा नेपालमा कोरोना नियन्त्रण र रोकथामका लागि भएका प्रयासलाई जारी राख्ने समितिले जनाएको छ ।