यस्ता छन् ५६ दिन चलेको संसदको छैटौं अधिवेशनमा प्रतिनिधिसभामा भएका काम कारवाही



कोरोना महामारीका बीच उच्च सतर्कता अपनाउँदै सबैको पिसिआर विधिबाट कोरोना परिक्षण गरि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्दै आवश्यक सबै उपाए अपनाएर भौतिक दुरी कायम गर्दै २०७७ साल वैशाख २६ गते शुक्रबार सुरु भएको संघीय संसदको छैटौं अधिवेशन २०७७ साल असार १८ गते बिहीबार सम्म ५६ दिन चलेर अन्त्य भयो । छैटौं अधिवेशनमा प्रतिनिधि सभामा भएका काम कारवाहीको संक्षिप्त जानकारी :

१. संसदको छैटौं अधिवेशनसंगै प्रतिनिधि सभाको पहिलो बैठक २०७७ साल वैशाख २६ गते शुक्रबार प्रारम्भ भई २०७७ साल असार १८ गते बिहीबारसम्म जम्मा ५६ दिन चालु रह्यो । जसमध्ये २५ दिनमा २६ पटक बैठक बसी जम्मा १०३ घण्टा २५ मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै यही अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक २ पटक बसी ५ घण्टा १० मिनेट समय व्यतित भएको थियो ।

२. आर्थिक बर्ष २०७७/०७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि सभाको मिति २०७७ वैशाख २९, ३० र ३१ गतेको बैठकमा व्यापक छलफल भई अर्थ मन्त्रीबाट जवाफ दिने कार्य समेत सम्पन्न भएको थियो ।

३. २०७७ जेठ २ गतेको बैठकमा  राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनप्रति पेश भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । साथै  राष्ट्रपतिबाट सम्बोधन मार्फत् प्रस्तुत भएको आ.व. २०७७/०७८ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि २०७७ जेठ ४ र ५ गते व्यापक रुपमा छलफल भई जेठ ६ गते उक्त नीति तथा कार्यक्रम बहुमतबाट पारित भयो ।

४. २०७७ जेठ १५ गतेको बैठकमा आ.व. २०७७/०७८ को लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) पेश भएको थियो जस उपर जेठ १८ गते छलफल भई जेठ १९ गतेको बैठकमा अर्थमन्त्रीबाट जवाफ दिने कार्य समेत सम्पन्न भएको थियो ।

५. २०७७ जेठ १९ गतेको बैठकमा प्रस्तुत भएको विनियोजन विधेयक, २०७७ माथि २०७७ जेठ २३, २४ र २५ गतेसदनमा दफावार छलफल भई र जेठ २६, २७ र २८ गते सम्बन्धित  मन्त्रीहरुबाट जवाफ दिई जेठ २८ गते बहुमतबाट पारित भएको थियो ।

६. यस अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा १० वटा सरकारी र ४ वटा गैर सरकारी विधेयक दर्ता भएकोमा ६ वटा विधेयकहरु संघीय संसदको दुवै सदनबाट पारित भैसकेको छ, २ वटा विधेयक सभामा प्रस्तुत भएको छ भने २ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी रहेको छ । साथै सभाको दोस्रो, तेस्रो, चौथोर पाँचौं अधिवेशनमा दर्ता भएर विभिन्न चरणमा रहेका २४ वटा विधेयकहरु मध्ये एउटा विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने ९ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा नै रहेको छ, एउटा विधेयक सभाबाट पारित भई राष्ट्रिय सभामा पठाइएको छ, तीनवटा विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा प्रस्तुत भएको छ, दुई वटा विधेयकको सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सभामा टेबुल भएको छ, ३ वटा विधेयक सभामा प्रस्तुत भएर रहेको छ भने ४ वटा सरकारी र एउटा गैर सरकारी विधेयक सभामा प्रस्तुत हुन बाँकी नै रहेको छ । त्यसैगरी राष्ट्रिय सभामा उत्पत्ति भई प्रतिनिधि सभाको तेस्रो, चौथो, पाँचौं र यस अधिवेशनमा प्राप्त भएको विभिन्न ८ वटा विधेयकहरु मध्ये २ वटा विधेयक सभाबाट पारित गरी राष्ट्रिय सभामा फिर्ता पठाइएको छ भने ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश भएको अवस्था छ, एउटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको छ, एउटा विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त भैसकेको छ भने तीनवटा विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल मात्र भएको अवस्थामा छ । यसरी यस अवधिमा प्रतिनिधि सभाबाट कूल १० वटा निम्नलिखित विधेयकहरु पारित भएको छ ।

प्रतिनिधि सभामा उत्पत्ति भई सभाबाट पारित
१) रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) विधेयक, २०७७
२) नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७
३) आर्थिक विधेयक, २०७७
४) विनियोजन विधेयक, २०७७
५) राष्ट्र ऋण उठाउने विधेयक, २०७७
६) ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७
७) केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७
८) लोक सेवा आयोग विधेयक, २०७७
राष्ट्रिय सभामा उत्पत्ति भई सभाबाट पारित
९) नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७७
१०) संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७

७. सोही विधेयकहरु मध्ये “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” माथि मिति २०७७ जेठ ३१ गते बसेको प्रतिनिधि सभाको बैठकमा दफावार छलफल पश्चात् मत विभाजन हुँदा उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा जम्मा २५८ (दुईसय अन्ठाउन्न) मत र प्रस्तावको विपक्ष एवं “मत दिन्न” भन्ने पक्षमा “शून्य” मत परेकोले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७” दुई तिहाई बहुमत भन्दा बढी मतबाट पारित भएको थियो ।

८. यस अधिवेशनमा संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७”, “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७” र “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” तीनवटा अध्यादेश पेश भएकोमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” सभाबाट स्वीकृत भै प्रतिस्थापन विधेयक समेत सभाबाट पारित भएपछि उक्त बाँकी दुई अध्यादेश उपर कुनै कारवाही गरिरहन नपर्ने जानकारी गराइएको थियो ।

९. यस अधिवेशनमा “कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७”, “राज्यव्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७७”, “कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०७७”, “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७७”, “शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन, २०७७”, “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७७”, “राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको नेपाल सरकारको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन”, “राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन २०७५/०७६” र “महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७५/०७६” पेश गर्ने कार्य सम्पन्न भयो ।

१०.२०७७ जेठ १४ गतेको बैठकबाट सार्थक वार्ता तथा संवाद मार्फत् संसदलाई प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक अध्ययन गरी सुझाव दिन प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम मिति २०७६ साउन २० गते गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको कार्यावधि छैटौं अधिवेशन अवधिभरको लागि थप गरिएको थियो ।

११. २०७७ जेठ २६ गतेको बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न नौ सदस्यीय “चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समिति” गठन भएको थियो ।

१२. यस अधिवेशन अवधिभर पूर्व सदस्य विश्वनाथप्रसाद अग्रवाल, शिवनारायण उराव, दुर्योधन सिंह चौधरी, मेघराज नेपाली (निषाद) र प्रतिनिधि सभाका वर्तमान सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा शोक प्रस्तावहरु पारित भएका छन्।

१३. यसै अवधिमा सदनको विभिन्न मितिको बैठकमा  परराष्ट्र मन्त्रीले छिमेकी राष्ट्र भारतले नेपालको भूभागमा पर्ने लिपूलेकबाट चीन जोड्ने सडक निर्माण गरेको भन्ने विषय र नेपाल सरकारबाट सो सम्बन्धमा भएको कुटनीतिक पहलका सम्बन्धमा एवं  गृह मन्त्रीले रुकुमको चौरजहारीमा भएको कुटपिट र हत्याको घटनाको सम्बन्धमा सार्वजनिक महत्वको वक्तव्य दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अयट्रेलियालीहरूले दैनिक खेर फाल्छन् दुई करोड ९० लाख डलर बराबरको खाना

  अस्ट्रेलियालीहरूले हरेक वर्ष सात लाख टन खाद्यान्न फाल्ने गरेको एक प्रतिवेदनले देखाएको

यसरी गरियो पेरिस ओलम्पिकको उद्घाटन्(फोटोफिचर)

काठमाडौं । विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ३३ औं पेरिस ओलम्पिकको भव्य उद्घाटन

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले