जसले माटोलाई देशको नक्सामा जोडे तिनैलाई गाली गरेर कागजी विजयोत्सव मनाउन मिल्छ र ?



नारायण गाउँले ।

‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्याउँदै छ ।’ यो वाक्यको अर्थ के होला ?
-भारतीय उपमहाद्वीपदेखि झन्डै आधा विश्व निलिसकेको अङ्ग्रेजबाट वीरतापूर्वक यो भूमिको स्वाभिमान जोगाएको पनि गणतन्त्रले नै हो कि ?
-अहिले सबैको वैतरणी बनेको लिम्पियाधुरा भन्ने चुच्चो विशाल नेपालमा जोड्ने काम पनि गणतन्त्रले नै गरेको हो कि ?
-सजिलै अङ्ग्रेजी उपनिवेशको शिकार बन्न सक्ने गरी सयौं राज्यमा बाँडिएको भूभागलाई एउटा स्वतन्त्र देशको आकार दिएको पनि गणतन्त्रले नै हो कि ?
-सीमा रक्षाका लागि सात दिनसम्म पानी समेत पिउन नपाएर भाला, खुँडा र खुकुरीले अंग्रेजी तोपगोलासँग लडेको पनि गणतन्त्रले नै हो कि ?
-मकवानपुर हुँदै अंग्रेजी सेना काठमाडौंसम्म आउने र देश नै नरहने देखिएपछि अपमानजनक नै भए पनि ‘सुगौली सन्धि’ गरेर बाँकी भूभाग बचाउने पनि गणतन्त्र नै हो कि ?
-सिक्किम र तिब्बत निलिँदै गर्दा र शक्ति सन्तुलनमा नेपाली अवस्था एकदम कम हुँदा समेत बुद्धिमत्तापूर्वक राष्ट्रिय स्वाभिमान बचाइराखेको पनि गणतन्त्रले नै हो कि ?
-सुगौली सन्धि एउटा ठूलो पराजय थियो, अपमान थियो तर के थाहा, अंग्रेजसँग समानान्तर र स्वतन्त्र देशको हैसियतमा सन्धि गरेकाले नै छिमेकका अन्य राज्यजस्तै विलय हुनबाट बचेको पो हो कि ?
-के अब देशको एक तिहाई भन्दा बढ़ी भूभाग गुमेको सुगौली सन्धिमा हस्ताक्षर गर्नेलाई पनि देशद्रोही घोषणा गर्ने ?

नबिर्सौँ, यो देशको नक्सामाथि अहिले गर्व गर्दै गर्दा, कागजमा एउटा नक्सा कोर्दै गर्दा हामी आफैले आफैलाई महान् राष्ट्रवादी ठानिरहेका छौं तर यो नक्साको आधार गणतन्त्र आउनु धेरैअघि हाम्रा पुर्खाले रगत पसिनाले कोरेका थिए । नयाँ मुलुक पनि भनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पनि गणतन्त्रले फिर्ता ल्याएको होइन । गणतन्त्रले त कागजमा अलिकति टुप्पो थपेको हो, जसलाई ‘राजतन्त्र’ले लडेरै आफ्नो बनाएको थियो । गुमाएको कुरा गर्दा कमाएको कुरा बिर्सिन मिल्छ ? हामीलाई तिनले आर्जेको भूमिको नक्सा सच्याउन मात्रै १५ वर्षभन्दा बढ़ी लाग्यो । माटो फिर्ता ल्याउन कति समय लाग्छ, थाहा छैन ।

खासमा देशको नक्सा, राष्ट्रियता र तन्त्र फरक कुरा हुन् । कुनै तन्त्रभित्र कुनै खास शासकका कमीकमजोरी हुन सक्छन्, तर कुनै तन्त्र बढ़ी राष्ट्रवादी हुन्छ भन्ने तर्क षड्यन्त्रपूर्ण या अपूर्ण छ । देशको नक्सा गणतन्त्रले कोरेको भन्ने भाष्य राष्ट्रिय एकताको मर्म विपरीत छ । यसले देशको इतिहास र एउटा पक्षलाई बहिष्कार गर्छ । देशको नक्सा देशले बनाएको हो । राजतन्त्रदेखि गणतन्त्र यही देशको एउटा इतिहास हो । बरु हामी साम्राज्यवाद र सामन्तवाद विरुद्ध भन्दै आफ्नै दाजुभाइसँग लड्यौं, आफ्नै रगतको खोलो बगायौं । तिनले त विश्वकै ठूलो साम्राज्यवादसँग लड़े । देशको सीमा विस्तारका लागि लड़े । भोलि लिम्पियाधुराको माटोमा राष्ट्रिय झण्डा गाड्न सकेछौं भने तिनीहरूको अलिकति ऋण चुक्ता हुनेछ ।

इतिहासको एकाङ्गी विश्लेषण र आलोचना न्यायपूर्ण हुँदैन । गोर्खाबाट लिम्पियाधुरा पुगेर देशको नक्सामा जोड्नेहरू राष्ट्रघाती हुने र आज नक्सामा टाँसेर हामी राष्ट्रवादी हुने भन्ने हुँदैन । आज त हेलिकप्टरबाट त्यहाँ पुग्न पनि हामीलाई ठूलै कामजस्तो लाग्छ । इतिहासमा सबै निर्णय प्रिय हुन्छन् भन्ने हुँदैन । तर त्यो बेलाको वस्तुस्थिति, भूराजनैतिक अवस्था र शक्तिसन्तुलनको अध्ययन नगरी तिनको गुणदोष केलाउन सकिन्न । इतिहासका प्राप्तिलाई संरक्षण गर्दै कमजोरीहरू हामीले सच्याउँदै जाने हो । हाम्रा कमजोरीलाई भोलिको पुस्ताले सच्याउनेछ ।

जसले माटोलाई देशको नक्सामा जोड़े तिनैलाई गाली गरेर, तिनैलाई सानो बनाएर हामीले कागजी विजयोत्सव मनाउन मिल्छ र ? भोलि गणतन्त्रले प्रसंशा गर्छ भनेर पृथ्वीनारायण शाहले एकीकरण शुरू गरेका थिएनन् । बहादुर शाहहरूले सीमालाई तराईसम्म तन्काएका थिएनन् । हाम्रो प्रसंशाका लागि भीमसेन थापा या भक्ति थापाहरू अंग्रेजसँग जुधेका थिएनन् । गणतन्त्रले शालिक बनाउँछ भनेर ती सीमामा भोकै-प्यासै लडेका थिएनन्, त्यसैले प्रसंशा या श्रेय तिनलाई नदिऊँ, तर तिनलाई चोरी औँला नउठाई हामी खुशी मनाउन सक्दैनौं र ? के यो खुशी सिङ्गो देशको बनाउन मिल्दैन र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार