अब हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ



डा. युवराज संग्रौला ।
एउटा भनाइ छ, अण्डाले हानेर ढुङ्गा फुटाउन खोज्नु मुर्खता हुन्छ । जब राज्य कमजोर हुन्छ, र नागरिकमा अराजक मनोवृत्तिको बाहुल्यता हुन्छ, राष्ट्रले अन्तर्राष्ट्रिय शाख गुमाउँछ । अहिले हाम्रो अवस्था यस्तै हो । जब राष्ट्र अपमानित हुन्छ, नागरिकको मनोदशा पनि भएपूर्ण हुन्छ । हामीले अहिलेसम्म नबुझेको कुरा के हो भने “दुईसय बर्ष देखि हाम्रो इतिहास वा राज्यको शाख अपमानित भएको छ।“ अब अण्डाले ढुङ्गा होइन फलामले ढुङ्गा फुटाउने मानसिकताको निर्माण गर्नुपर्छ ।

१. सन् १८१४ मा हामीमाथि साम्राज्यवादी आक्रमण भयो । हामिले जमिन गुमायौं । त्यसपछि हाम्रा नागरिकहरुलाई उपनिवेशी शासकले दासझैँ उसको सेनामा प्रयोग परम्परा थोपर्यो । राणाहरुलाई कठ्पुतली बनाएर हाम्रो समाजलाई अन्धकारको चपेटामामा हाल्यो । ब्रिटिश उपनिवेशीले नेपालको राजनीतिलाई फोहोर बनाइदियो । तर हाम्रा नेता र कर्मचारी बेलायतसँग दुईसय बर्षको इतिहास छ भन्छन् । अझ गोर्खा भर्ती जस्तो अपमानको पर्यायलाई नेपाल र बेलायतको कुटनीतिको साँघु भन्ने गर्छन् । अपमानित भएको भान पनि छैन । सन १९४७मा भारत स्वतन्त्र भयो, तर उसले गर्ने व्यवहार उपनिवेशको भन्दा फरक थिएन । बीपीलाई धोका दिएर आफू प्रधानमन्त्री हुन मातृका कोइराला दिल्ली पुगेको इतिहास हामीसँग छ । स्वाभिमान हामीले बेच्यौं । क्यूबा माथी अमेरिकाले के के अत्याचार गरेन । तर क्यूबालीले शिर पनि झुकाएनन्, स्वाभिमान पनि बेचेनन् । उनीहरुले आफूलाई उन्नत बनाए । शिक्षालाई आधुनिक बनाए । बिज्ञानलाई उन्नत बनाए । नागरिकले देशको अस्तित्वलाई नै आफ्नो अस्तित्व बनाए । क्यूबालाई अमरिकाले दमन गर्न सकेन । क्यूवाको जस्तो कठिन अवस्था हाम्रो होइन । तर हाम्रा नेता भनिने, राजा भनिने, र जनता भनिनेले आत्मा नै बेचिदिए ।

२. नागरिक भारत र बेलायतको सेनामा भर्ना हुन आहिले पनि कुद्छन् । ऊसँग ५० तर्क छन् आफ्नो गलत काम पुष्टि गर्ने तर आफ्नो खेत र बारीमा उन्नत खेती गर्ने सीप सिक्ने जाँगर छैन । लाहुरे संस्कृति राष्ट्रको अपमानका रुपमा हुर्केको छ । जबसम्म आफ्नो स्वाभिमानको अपमान भएको महसुस गर्न सकिन्न अरुले हेप्छन् । त्यसैले भारतले हाम्रो भूमिमा आफू खुस गर्छ ।

३. देशका वकिल विदेशीको गुलामी गर्छन्, विदेशीले पैसा दियो भने देशको अस्तित्वकै विरुद्ध तर्क दिन तयार छन् । उनीहरु विदेशीका लागि जासुसी गर्ने संस्थालाई सहयोग गर्छन् । देशका पत्रकार विदेशीका पैसा लिएर देशका विरुद्ध लेख्न तयार छन् । त्यसताका पछाडि नेता लाग्छन् । देशका इन्जिनियर सिमानामा पिलर राख्दा आफ्नो भूमि त्याग्न तयार छन् । देशका कर्मचारी राष्ट्रघात गरेर विदेशीको गुलामी गर्न तयार छन् । देशका नेता आफू मन्त्री हुन विदेशीका पाउमा शिर राख्न तयार छन् । देशका जनता चौकिदारी र सिपाहीका लागि स्वास्नी र खेत त्याग्न तयार छन् । यी सबै अपमानित इतिहास र राष्ट्रका मानिसका प्रवृत्ति हुन् । राष्ट्र कमजोर भए पछि यस्तै हुन्छ ।

४. हिटलरले आक्रमण गर्दा रसियामा पचास लाख मानिसले सिपाहीका रुपमा निसंकोच ज्यान दिए । चीनमा आफ्नो स्वतन्त्रताका लागि कतिले ज्यान दिए सबैलाई थाह छ । किनकि उनीहरुलाई राष्ट्र अपमानित हुँदा पोल्यो । हामीलाई राष्ट्रको अपमान पीडा हुँदैन,हामीलाई पीडा डिभी नपर्दा, विदेशी सेनामा भर्ती हुन नपाउँदा, र अरबमा शोषण हुन जान नपाउँदा हुन्छ । हामीलाई विदेशीको चाकरी औधी मनपर्छ ।

५. हाम्रोमा केही मानिसलाई सधैं प्रधानमन्त्री हुने धोको रहन्छ । कसैलाई त एक दर्जन पटक प्रधानमन्त्री हुन मन छ । मसँग प्रधानमन्त्री हुने के क्षमता छ भन्ने सोच्न उनीहरु तयार छैनन् । हाम्रा नेता जनताका संरक्षक हुन चाहँदैनन् । उनीहरु जनताका मालिक माननीय हुन चाहन्छन् । उनीहरुलाई आफ्नो बिचारको माया लाग्दैन, उनीहरुलाई घुस दिने माफियाको बढी माया लाग्छ । राष्ट्रघातीहरुप्रति रिस उठ्दैन उनीहरुलाई, बरु देशलाई माया गर्नेप्रति रिस उठ्छ । लुट्नेहरु आफना हुन्छन्, आफ्नो स्वाभिमान राख्नेहरु पराइ हुन्छन् । केही मानिस राजनीतिका नाममा छलकपट मात्र गर्छन् ।

६. देशका कानुन विदेशीका लागि बन्छन् । सन्धि र संझौता विदेशीकै लागी बन्छन् । हाम्रो दराजका कागजपत्र विदेशीले निकालेर लैजान्छन् । देशको नक्सा फेरिन्छ । विदेशमा राजदूतहरु सेवाबापत पेन्सन खान जान्छन्, राष्ट्रको रक्षाका लागि होइन । विदेशीले मन पराएका मानिस आयोग र कार्यदलमा रहन्छन् ।

त्यसैले विदेशीले हामीलाई अपमान गरिरहन्छन् । उनीहरु हामीलाई राष्ट्रनै मान्दैनन् । त्यसैले हेप्ने आँट गर्छन् । हाम्रो आफनै चिज हामीसँग छैन । हाम्रा कागज ब्रिटिश म्युजियममा छन् । हामीसँग हाम्रै सन्धी छैनन् । हामीले गुगलबाट नक्सा प्रिन्ट गरेका छौँ । हामीसँग तर्क होइन गाली गलौज छ । देशको बौद्धिकता जबर्जस्त दमन गरिएको छ । दोग्ला मानिस बिज्ञ बनाइएका छन् ।

हामिले अब राष्ट्रको अपमानलाई समाप्त गर्ने, हाम्रो स्वाभिमानको पुनर्निर्माण गर्ने अभियानको निर्माण गर्नुको बिकल्प छैन ।
१. हाम्रो साम्राज्यवाद बिरोधी इतिहासलाई हरेक व्यक्तिमा पुर्याउनु आवश्यक छ, अब । हाम्रो इतिहासको बध गर्नेहरुको खोजी हुनुपर्छ । २०० बर्ष अगाडी हामीले उपनिवेशी शक्तिका विरुद्ध लेखेको इतिहास फेरि लेख्नु पर्ने भएको छ ।

२. हाम्रा सिमाना बेच्ने, हाम्रा नक्सा बदल्ने, देशघाती संझौता गर्ने, र विदेशी एजेन्सीका लागि काम गर्ने भिखारीहरुको नकाब खोल्नु पर्छ अब ।

३. हाम्रो शिक्षाको बेहाल गर्नेहरुको नकाव पनि उतार्नु पर्छ ।

४. विदेशीलाई नागरिक बेचेर देशको उत्पादन समाप्त गर्नेहरुको खोजी पनि गर्नु आवश्यक छ ।

हामीले हाम्रो स्वाभिमानका लागि भारतसँग कुरागर्ने हिम्मत गर्नुपर्छ । अब नागरिकका झोले प्रवृत्ति समाप्त हुनु पर्छ । अब नेपालको अपमान समाप्त गर्ने आन्दोलन गर्नुको बिकल्प छैन । हिजो पनि देश विदेशीको कठपुतली थियो । आज पनि कठपुतली छ । अब देश कठपुतली हुनु हुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँः परराष्ट्रमन्त्री राणा

सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश

कांग्रेसले टुंग्यायो आठ जिल्लामा उपनिर्वाचनका उम्मेदवार(सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा कोशी

उर्जाराज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा परेको विषयमा राज्य व्यवस्था समितिमा र्‍याखर्‍याख्ती

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेता तथा उर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ