कोरोनारुपी जनयुद्ध विरुद्धको काबिल कमाण्डर को हो ?
विनोद पौडेल ।
१. नयाँ वर्ष २०२० को सुरुमा नै जब वुहानमा कोरोना भाईरसको संकट देखा परयो, चिनले यसलाई ठूलो राष्ट्रिय चुनौतिका रुपमा लियो । अनि सुरुमा यो भाईरस रोक्न असक्षम वुहानको सरकारी नेतृत्वलाई वर्खास्त गरेर केन्द्र सरकारले नै रोगको रोकथाम, उपचार र पुनस्र्थापनामा जोड दियो ।
तर नेपालमा सोलोडोलो कोरोना रोकथामका नाममा लकडाउन मात्रै गरियो । लकडाउन भनेको लकडाउन न हो मान्छे घर बस, कोरोना भगाओ भन्ने उर्दीमा मात्रै सीमित भयो । स्वास्थ्य सामाग्री खरीदमा देखिएको नाँगो भ्रष्टाचारका दोषीको पहिचान र कारवाहीको कुनै कदम चालिएन । भ्रष्टाचार विरुद्धको प्रधानमन्त्रीको शून्य सहनशीलताको नीति रत्नपार्कमा गर्ने मुकुन्दे पुराणमा सीमित भयो ।
२. नेपाल जनवरी, फेव्रुअरीभर त भिजिट नेपाल भन्दै कोरोना फ्रि देशमा पर्यटक स्वागत गर्ने एकोहोरो रटानमा लागि रह्यो । भाईरस नेपाल पनि आउन सक्छ भन्नेमा सरकारमा बस्नेहरुले कुनै वास्ता गरेनन् । मुलतः पर्यटन मन्त्री योगेश भट्टराई भिजिट नेपालको एकाह लगाउदैमा मस्त व्यस्त भए फागुन ७ सम्मै उनले कोरोना फ्रि देशका रुपमा पर्यटक बोलाईरहे । फलतः जहाज चढेर, सीमा नाका पार गरेर नेपाल आयो कोरोना, भिजिट नेपालको डोली चढेर ।
जब की कोरोना सुरु हुनासाथ चिनले वुहानमा सबैथोक माथि प्रतिवन्ध लगायो । तर नागरिकलाई कुनै असुविधा नहोस भनेर उसले राज्यकातर्फबाट सबै सुविधा र सेवा निरन्तर पुर्यायो ।
३. कोरोना संकटका बेला चिनियाँ राष्ट्रपति सी जिन पिङले व्यापक सर्वपक्षिय सामुहिक सहकार्यमा जोड दिए । राज्यका हर पक्षलाई व्यापक रुपमा परिचालन गर्ने चीनले सामुहिक लडाईंको प्रतिज्ञा गर्यो । राष्ट्रपति सीले कोरोनालाई नयाँ परिस्थितिको नयाँ जनयुद्धको संज्ञा दिए । त्यो जनयुद्धको सक्रिय नेतृत्व आफैंले गरे । उनी बिरामी भेट्न अस्पताल गए । काममा अहोरात्र खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आफै उनीहरुसंग हाजिर भएर उत्साह भरे, निर्देशन दिए, काममा सघाउन राज्यका सबै अंग एकसाथ परिचालित गरे ।
नभन्दै मध्य मार्चसम्ममा उनले वुहानलाई कोरोना भाईरसमुक्त देश बनाई छाडे । अहिले वुहान पूर्ववत जीवनदैनिकीमा फर्कीसकेको छ । चिनले कोरोना भाईरस विरुद्धको युद्ध एक्लै जितिसकेको छ ।
नेपालमा प्रधानमन्त्री आधा जसो बिरामी छन् । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भावनाका कुरा गरेर हुँदैन भन्दै कडा लकडाउनको उर्दी जारी गरिरहेका छन् । पिपिईको नाश नहोस् भनेर २४ घण्टा खटिएका टेकु अस्पतालका स्वास्थ्यकर्मी, डक्टर, नर्सलाई ढाडस दिने जाँगर वा ह्याउय छैन प्रधानमन्त्री ओली वा उनका रक्षामन्त्री ईश्वर पोखरेलको जो हुन्, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पनि ।
४.कोरोना भाईरस विरुद्धको एकल युद्ध जितेर अहिले चीन विश्वमा यो महामारीलाई पराजित गर्न अन्र्तराष्ट्रिय जगतलाई साथ दिदै छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा चिनियाँ भाईरस, वुहान भाईरस भनेर जब चीनको दुखको बेला खिसी गरे, तब भाईरस अमेरिका र युरोपमा आगोको लप्का झैं फैलियो । अहिले उनै अमेरिकी राष्ट्रपति चिनियाँ राष्ट्रपतिसंग संवाद गरेपछि बल्ल कोरोना विरुद्ध विजय हासिल गर्न सकिने आशासहित समकक्षी सी को प्रसंशा गर्दैछन् ।
नेपालमा प्रधानमन्त्री आफैं बिरामी परेकाले पहिले आफ्नो दोस्रो मृगौला प्रत्यारोपणमा करीब दुई साता अस्पतालमा नै रहे । यसो हुँदासम्म नेपालमा छिटफुट कोरोनाको संक्रमण एकादुईमा देखा परिसकेको थियो । अहिले यो भयावह हुने विन्दुमा उभिएको छ । तर सरकार वैठक र निर्देशनमा सीमित भैरहेको छ । कोरोना विरुद्धको युद्ध नयाँ परिवशेको नयाँ युद्ध हो भनेर सरकारले अझै मनन् गर्न सकेको छैन । कहाँ सी जिनपिङको आफैं फिल्डमा खटिने आतुर व्यस्तता, कहाँ हाईसन्चो मानेर वालुवाटारमा मस्त केपी ओली । यथार्थ छर्लंग छ, जनताका सामु ।
५. नेपालका प्रधानमन्त्री केपी ओली आफू पनि घरमा बसेर सरकार चलाईरहेकोले जनतालाई पनि घरमा बसेर कोरोना विरुद्ध लड्न आव्हान गर्दै सन्देश फर्माउछन् । तर चिनियाँ राष्ट्रपति सी जस्तो कार्यास्थलमा खटेर यो युद्धमोर्चामा झैं खटिने कमाण्डर कोही छैन, नेपालमा ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा उपचार उच्च स्तरीय समितिले चैत ११ पछि वैशाख पहिलो सातासम्म पनि कोरोना विरुद्ध लडने अग्रमोर्चाका सिपाही सरह स्वास्थयकर्मी र चिकित्सकहरुलाई विश्वासमा लिएर उत्साहका साथ परिचालन गर्न नै सकेका छैनन् । उनिहरुको मनोवल उच्च राख्न ईश्वर पोखरेलको फिल्ड भिजिटको अपेक्षा राख्नु त काल्पनिक पूज्य ईश्वरकै अपमान जस्तो हुन सक्छ ।
६. स्वास्थ्य मन्त्री भानुभक्त ढकाल आफैं आफ्ना विवादास्पद बोलीहरुले थला परेर सिनआउट हुन थालेका छन् । चिकित्सक र स्वास्थ्य टोली नै हुन् यो महामारी विरुद्धका पहिलो पंक्तिका योद्धा । उनीहरुलाई सुरक्षित पोशाकको जोहो एकजना डा. महावीर पुनले उपलव्ध गराईदिनु परेको छ । सरकारले उपलव्ध गराउन सकिरहेको छैन । बल्ल सेनाको सहारामा सरकार दोस्रो लटको स्वास्थ्य सामाग्री चीनबाट ल्याउन सफल भएको छ । जबकी लकडाउनको कहरले जनता निसासिईरहेका छन् । पहिलो लटको स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहमार्फत कमाउन खोज्दा बिभागीय मन्त्री ढकाल आफैं तीन वल्ड्याङ खाएका छन् ।
७. अर्बपतिहरुले संचालन गरेका राजधानीका ठूला निजी अस्पतालहरु कोरोना आशंकित बिरामीहरुका लागि अस्पतालको गेट बन्द गरेर बसेका छन् । सरकार निजी अस्पतालहरुलाई यो माहामारी विरुद्ध परिचालन गर्न काबिल साबित हुन सकिरहेको छैन । अर्कोतिर भएका अस्पतालहरुको ओपिडी सेवा समेत बन्द प्रायः छन् । अन्य दीर्घ रोगका बिरामीहरुको पीडाको त अर्को दुखान्त महाभारत छ । क्यान्सर, किड्नी, मुटु जस्ता दीर्घ रोगीहरु आफैं पीडामाथि पीडामा छन् ।
८. अत्यावश्यकीय सेवा खुल्ला भनिए पनि औषधि किनेर फर्केका निहत्था नागरिकमाथि प्रहरी लाठी बर्सिएको छ । काम सकेर घर पर्कदै गरेका डाक्टरमाथि लाठी बजारेको आरोपमा प्रहरीमाथि सरुवा र कारवाही भएका दृष्टान्तहरु हेडलाईन न्यूज बनिरहेका छन् । सुरक्षाकर्मी र स्वास्थयकर्मी वीच हुनुपर्ने एकताको जड किन कसरी कमजोर बनाईदैछ भन्ने ताजा उदाहरण हो यो । यसमा समन्वयको अभावमा नै यी सबै काम भैरहेका छन् ।
९. लकडाउनको मारमा परेका किसानका उत्पादन बारीमा सड्दैछन् । भारतीय व्यापारीको तरकारी आयातमा भारतीय सीमा नाका कडा रुपमा अझै बन्द हुन सकिरहेका छैनन् । आफ्ना किसानको उत्पादन स्थानीय सरकारले संकलन गरेर जनताको घरदैलोमा पुरयाउन नसक्ने यो भन्दा किसानमारा सरकारी हर्कत अरु के नै हुन सक्छ ?जब की शहरी बासिन्दा त्यसको व्यग्र पर्खाईमा छन् ।
१०. शहरमा रोजगारी गुमेपछि भोकै नाङ्गै गाउँघर फर्कनेहरुको पीडाको कुनै सीमा छैन । उनीहरु राजमार्गमा बिस्कुन बनेर सुक्दै हिडदैछन् । तर तिनलाई व्यवस्थित रुपमा आआफ्नो गाउँघर फित्र्ता गर्ने सरकारको कुनै योजना छैन ।
यी सबै दृष्टान्तहरुको सोझो अर्थ हो, कोरोनो विरुद्धको नयाँ जनयुद्ध लडने नेपालमा जनताका भरोसायोग्य काबिल कमाण्डर छैन । सरकार आफैं बिरामी योद्धा बनेको छ । दशक लामो जनयुद्धको नेतृत्व गरेका प्रचण्ड पनि बन्दाबन्दीमा एककिलो चिकन भुटेर बस्ने सामान्य घरबन्दी भएका तस्वीरहरु आएका छन् । को हो त नेपाली मोडलको कोरोना विरुद्धको जनयुद्धको कमाण्डर ? कमाण्डर खोजिरहेको छ देश, कोरोनारुपी जनयुद्ध विरुद्धको महान लडाईंको ।
सर्वपक्षीय संयन्त्र बनाएर सरकारी लडाईंलाई सघाउँछु भन्ने राजनीतिक दल,तिनका नेताहरु मात्रै होईन सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड समेत सरकारको भाग खोस्न आतुर वैरी करार गरिँदैछन् । जब की देशलाई अहिले चाहिएको युद्ध कमाण्डर हो न की मस्त, सुस्त शासक । कोरोनाको वर्तमान कहर मात्रै होईन, यसले निम्तयाउने बहुआयामिक असरको व्यवस्थापन अब देशको नयाँ महायुद्ध हुनेछ । के यही तालले त्यो महायुद्ध पार लाग्ला ?
यहाँ सरकारको विरोध गरे, कोरोना विरुद्ध असहयोग गरेको बात लाग्छ । सरकार ढाल्न खेल खेलेको आरोप लाग्छ । तर सरकार न आफू केही गर्छ, न गरौं मिलेर भन्नेका मत र विचार नै सुन्छ । कतिसम्म भने जनआन्दोलन २०६३ मा जनताका छातीमा गोली बर्साउने कमल थापाहरु पनि सरकारको अर्कर्मण्यताको खिल्ली उडाउन थालिसके । जनताको आन्दोलनको राप र तापले नागाुर्जनमा सरुवा भएका पूर्वराजा ज्ञानेन्द्र समेत र सरकार निमुखा जनताको सारथी बन्न नसकेको भन्दै कसैलाई पनि निषेध गर्न नहुने घुर्की दिन थालिसके । तै पनि सरकार कोरोनारुपी जनयुद्धका लागि एकीकृत प्रतिरोधको वाचा गर्न सक्दैन ?
तर सिंहदरवारको सरकार घरी सिंहदरवार त घरी वालुवाटारमा वैठक र निर्णय गर्ने र निदाउने रोगबाट अझैं व्यूँझिएको छैन । सरकार ज्यामी, ज्यालादारी, निमुखा, श्रमिक, बेसाहरा कसैको पनि असल साथी, दुखको सारथी बन्न सकिरहेको छैन । आखिर किन ? यो नयाँ जनयुद्धमा देश नयाँ कमाण्डर जन्माएर कोरोना विरुद्ध लड्नै नसक्ने गरी कमजोर भैसकोको हो र ?