केपीको खटन, प्रचण्डको फेरिएको आशन



ज्ञानबहादुर क्षेत्री ।
वैशाख २० गते शनिवारको सन्ध्या । राजधानीमा सीमसीम पानीको मौसम । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ नेकपाको सचिवालय वैठक । वैठक घनघोर रुपमा चल्यो । प्रधानमन्त्रीले हालसम्म भए गरेका कामका दौरान भएका कमीकमजोरीहरुप्रति आत्मालोचना गर्नु गरे । बाँकी नेताले त्यसलाई अनुमोदन गरे । उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा अर्थात मन् लागेमा प्रतिनिधि सभामा लाने निर्णय भो । राष्ट्रिय सभामा लाने भनी दुई चार महिना अघि त्यही सचिवालयले गरेको निर्णय ठुस भयो । थप निर्णय वरिष्ठ नेता माधव नेपालको चित्त बुझाउन २५ गते स्थायी समितिको वैठक राख्ने निर्णय भयो । यसरी,वामदेवलाई फेरि माननीय बनाउने आश्वासन, प्रचण्डलाई ओली बराबरको आशन, माधव नेपाललाई स्थायी समितिको वैठक र केपी ओलीलाई पार्टी र सरकारको निरन्तर शासनको युगान्तकारी निर्णयका साथ नेकपा सचिवालय वैठक सकियो ।

अब मिडिया र सामाजिक संजालमा नेकपामा बिभाजनै आउला झैं गरी चर्केको हुण्डरी मत्थर भयो । उधारोमा प्रधानमन्त्री बनेर मच्चिएका वामदेव थन्किए । कुर्सी नमिलेका प्रचण्ड नी आशन फेरिएपछि चुप । स्थायी कमिटी वैठक हुने भएपछि माधवको मुखमा बुझो । प्रधानमन्त्रीले नै आत्मालोचना गरेपछि लेनिनवादी संगठनात्मक शैलीमा चल्ने आधुनिक नेकपामा उम्रेको सबै झारपात र रोगको च्याटै ओखती भैगयो ।
यसको चुरो कुरो थप बुझ्न अलिक वर्ष अघिको प्रसंग सान्दर्भिक छ यहाँ । कुरो २०६३ को जनआन्दोलन हो । जनआन्दोलन भर्खर भर्खर मुर्झाउँदै थियो । राजा श्रीपेच उतारेर मन्त्रिपरिषदको अध्यक्ष बनेका बेला गृहमन्त्रीको कुर्सीमा थिए, अहिलेका राप्रपाका एक अध्यक्ष कमल थापा ।

गृहमन्त्रीका रुपमा थापा कफ्र्यू लगाउँथे, कहिले कडा, कहिले नरम । राजाको शासन नै जनताको टेलिफोन र ईन्टरनेट सेवामा कटौति गरेर सुरु भएका कारण, जनता गुमाएका सेवा सुविधा हल्का खुकुलो हुँदा पनि ठूलै उपलव्धी भएको ठान्न विवश थिए ।
अहिले सत्तारुढ नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली त्यही करीब १४ वर्ष अघिको शाहीशासनको झल्को दिने गरी आफ्नै पार्टीका प्रतिपक्षीहरुलाई कहिले खुकुलो त कहिले कसिलो मानमनीतो र सेवा दिईराखेका छन् । पार्टी र सत्ताको आशनमा बसेर ओलीले नेताहरुको हैसियत नापेर आफू दाता र अरु सहयात्रीहरु मगन्ते भएको सन्देश दिईरहेका छन् ।

आफ्ना समकक्षी प्रचण्डका लागि वैशाख २० को बहुप्रतिक्षित सचिवालय वैठकमा आफ्नै हारमा बस्ने कुर्सी व्यवस्था गरेर वैठक आरम्भ गरेका छन् प्रधानमन्त्री ओलीले । एसएलसीका विद्यार्थीको जस्तो एकजना सहयोद्धालाई ओली आफ्नो सरकारी निवासमा कहिले दायाँ, बायाँ त कहिले आफ्नै लहरमा सिट प्लान गरेर राख्छन् र प्रधानमन्त्रीको प्रेस सचिवालय आशनको नयाँ व्यवस्थापन भनेर प्रचारमा जुट्छ ।

हेर्नुहोस् वैशाख २० को सचिवालय वैठकको तस्वीरः


तत्कालिन नेकपा एमाले र नेकपा माओवादी वीच पार्टी एकता भएदेखि नै अहिलेको नेकपा दुई अध्यक्षात्मक प्रणालीमा संगठित र एकिकृत भएको हो । समान अध्यक्ष हुन, ओली र प्रचण्ड । तर प्रचण्डलाई पार्टी एकताको करीब दुई वर्ष सहयोगीको जस्तो भूमिका मात्रैमा सीमित गरिदिएका ओलीले गएको पुसमा सचिवालयको निर्णय बमोजिम कार्यकारी अध्यक्षको जिम्मेवारी तोके । तर पार्टीको पहिलो अध्यक्ष आफै भएको अन्र्तवार्ता दिदै फेरि पनि प्रचण्ड सहयोगी जस्तो वा निमिक्त मात्रै हुन भन्ने सन्देश दिए ।

हेर्नुहोस् पछिल्ला दिनहरुमा वालुवाटारको सचिवालय वैठकमा प्रचण्डको आसनको पुरानो अभ्यासः


जब पार्टीभित्र संकट पर्छ, अनि ओली सारथीका रुपमा प्रचण्डलाई आफै बराबर भएको सन्देश दिन अग्रसर हुन्छन् । तर जब संकट टर्छ, अनि मैमत्त हात्ति जस्तो ओली आफ्नै सुरतालमा अघि बढ्छन् । पार्टीको सहमति र छलफल बेगर नै छलकपटपूर्ण प्रक्रियाबाट सरकारका निर्णयहरु गराउछन् । अनि प्रचण्डको पनि कुर्सी तलमाथि पारिदिन्छन् ।

२०७५ जेठ २ गतेको पार्टी एकताका ५ बुँदे समझदारीमा सरकारको नेतृत्व दुबै अध्यक्षले पालो पालो गर्ने लिखित सहमति थियो । तर त्यसको पालना ओलीबाटै भएन । उनले बरु पार्टीको कार्यकारी अध्यक्ष तपाईं, म ५ वर्षका लागि नै प्रधानमन्त्री भनेर रोइलो गरे, खुईंचे थापे । कहिले पुष्प जस्तो कोमल त कहिले प्रतापी प्रचण्ड देखिने प्रचण्डले आफूले आधा अवधि सरकारको नेतृत्व गर्न पाउने लिखित सहमतिमा पनि त्याग देखाए । ५ वर्ष ओलीलाई प्रधानमन्त्री मान्न तयार भए ।

ओलीको सिंहदरवारको आशन र शासन कस्तो छ ? कथित नागरिक समाजको जामा पहिरिने कनकमणी दीक्षितहरु बाहेकको नजरमा यो सरकार जनताको अभाव, तनाव र समस्यासंग बेसरोकार छ । कोरोना महामारीका वीचमा जनताको समस्या सरकारलाई दुखेको छैन । बरु प्रधानमन्त्री ओली तारन्तार कविता लेखेर जनताको दुःखमा व्यंग्य कसिरहेका छन् । जनता लकडाउनका वीचमा ओलीको शासनको रमिता हेरिहेका छन् ।

तर पनि ओली आफू महान दाता र पार्टीभित्रका अन्य सहयोद्धा वा देशका सबै वर्गका जनता केवल मतदाता मात्रै रहेको भान देखाउदै आफ्नै पारामा कुर्सी जोगाउने खेलमा मात्रै तल्लिन छन् । यसले यो सरकार के नेकपाकै हो र भन्ने गंभिर प्रश्न उठाएको छ ।
जे होस, अब यो सरकार नेकपाका नौ जना सचिवालय सदस्य मात्रैको हितमा केन्द्रित हो की ? ओलीको मनपरी गर्ने सत्ता हो की देशभरका देशभक्त, वामपन्थीहरुको पनि हो, नेपाली जनताको पनि हो भन्ने फैसलाको दोस्रो सुनुवाई चाहि अब वैशाख २५ को ४१ सदस्यीय स्थायी समितिमा हुने भएको छ । त्यतिन्जेलका लागि नेकपाको रमितामा अस्थायी बिराम भने लागेको छ । तै पनि जनताले लकडाउनका वीच निराश हुन भने पर्ने छैन, किन भने प्रधानमन्त्री ओली निरन्तर कविता वर्षाको साथ जनतालाई मन बुझाउने उपहार पस्किराख्नु भा छ नी । नपत्याए पढ्नोस् न प्रधानमन्त्रीका लकडाउन कविता उपहारः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति

वैशाख मसान्तसम्म मुलुकको व्यपार घाटा ११ खर्ब ७७ अर्ब

  काठमाडौँ ।  चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले ११ खर्ब ७७ अर्ब