चार करोडभन्दा बढीको ज्यान लिएको स्पेनिश फ्लूबाट हामीले के सिक्यौँ ?



त्यो महामारीलाई ‘मदर अफ अल प्यान्डेमिक’ अर्थात् ‘सबै महामारीको आमा’ भन्ने गरिन्छ। सो महामारीमा सन् १९१८ देखि १९२० सम्म दुई वर्षमा चारदेखि पाँच करोड मानिसको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओ र यूएस सेन्ट्रर्स फर डिजिजेज् कन्ट्रोल सीडीसीको तथ्याङ्क छ।

वैज्ञानिक र इतिहासकारहरू त्यसबेला विश्वको कुल जनसङ्ख्याको एक तिहाइको स्पेनिश फ्लूका कारण मृत्यु भएको बताउँछन्। त्यसबेला विश्वको जनसङ्ख्या १.८ अर्ब थियो।

पहिलो विश्वयुद्ध सकिँदै गर्दा उक्त भाइरस फैलिएको थियो। तर महामारीमा विश्वयुद्धमा मारिएकाभन्दा धेरैको ज्यान गयो।

विश्व कोभिड-१९ सँग जुझिरहेका बेला त्यो महामारी कस्तो थियो र त्यसबेला विश्व कस्तो अवस्थामा पुगेको थियो? महामारी समाप्त भएपछि विश्वमा के परिवर्तन भयो?

यदि तपाईँले अहिलेसम्म स्पेनिस फ्लू महामारीबारे सुन्नु भएको छैन भने पनि कोरोनाभाइरस सङ्कटका कारण बीसौँ शताब्दीको सुरुवातको त्यो खतरनाक भाइरसबारे जान्न पक्कै उत्सुक हुनुहुन्छ।

सन् १९१८, एउटा फरक विश्व

रोगको उपचार गर्ने मामिलामा सन् १९१८ मा चिकित्सा र विज्ञान आजको तुलनामा निकै सीमित थियो। चिकित्सकहरूलाई माइक्रोअर्गानिज्मका कारण स्पेनिश फ्लू भइरहेको छ र यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ भन्ने थाहा भएको थियो।

तर त्यसबेला उनीहरूले यो भाइरसको साटो ब्याक्टेरियाका कारण भइरहेको छ भन्ने ठानेका थिए। त्यसबेला उपचार पनि सीमित थियो। विश्वको पहिलो एन्टिबायोटिक नै सन् १९२८ मा पत्ता लागेको थियो।

फ्लूविरुद्ध लगाइने खोप त झन् सन् १९४० मा मात्र सर्वसाधारणका लागि उपलब्ध भएको थियो। त्यसबेला सबैका लागि स्वास्थ्य सेवा सम्भव नै थिएन। धनी देशहरूमा पनि सार्वजनिक स्वच्छता एउटा विलासी सुविधा थियो।

“औद्योगिक देशहरूमा अधिकांश चिकित्सकहरू कि आफैँ काम गर्थे वा च्यारिटी तथा धार्मिक संस्थाद्वारा रकम दिइन्थ्यो र अधिकांश नागरिकले उपचारको सुविधा पाउन असम्भव थियो,” एक पुस्तक ‘पेल राइडर: द स्पेनिस फ्लू अफ १९१८ एन्ड हाउ इट चेन्ज्ड द वर्ड’की लेखिका लोरा स्पिनी भन्छिन्।

गरिब र युवा मारमा

स्पेनिश फ्लूले पहिले कुनै पनि महामारीले नगरेको जस्तो हमला गरेको थियो। सन् १८८९ मा देखिएको अर्को महामारीमा पनि १० लाख मानिसहरूको ज्यान गएको थियो तर त्यो स्पेनिश फ्लूजस्तो ठूलो मात्रामा फैलिएको थिएन।

स्पेनिश फ्लूबाट मारिनेमा अधिकांश २० देनि ४० वर्षका युवा थिए। महिलाभन्दा पुरुषमा बढी प्रभाव परेको थियो।

त्यसको कारण यो रोग पश्चिमी मोर्चाको सैन्य शिविरबाट सुरु भएको थियो। पहिलो विश्वयुद्धका बेला त्यस सैन्य शिविरबाट फर्किएका सैनिकबाटै यो फ्लू अन्यत्र फैलिएको थियो। यो महामारीको मार गरिब देशहरूमा धेरै पर्‍यो।

हार्वर्ड विश्वविद्यालयका अध्येता रोबर्ट बरोले सन् २०२० मा गरेको एक अध्ययनले अनुमान गरे अनुसार अमेरिकी जनसङ्ख्याको करिब ०.५ प्रतिशत हिस्साले उक्त रोगका कारण ज्यान गुमाएका थिए। त्यो भनेको करिब पाँच लाख ५० हजार हुन्छ।

भारतमा स्पेनिश फ्लूबाट जनसङ्ख्याको ५.२ प्रतिशत प्रभावित भएका थिए। त्यो भनेको करिब एक करोड ७० लाख हुन्छ।

त्यसको आर्थिक असर पनि निकै ठूलो थियो। बरो त्यस महामारीले संसारभर कुल ग्राहस्थ उत्पादनमा छ प्रतिशतको गिरावट आएको ठान्छन्।

‘प्यान्डेमिक-१९१८’ नामक पुस्तककी लेखिका क्याथरिन अर्नोल्ड भन्छिन्, “पहिलो विश्वयुद्ध र स्पेनिश फ्लूले एउटा त्रासदी पैदा भएको थियो।”

स्पेनिश फ्लूबाट पीडित हुनेमा क्याथरिनकै हजुरबुवा र हजुराआमा पनि थिए। “कैयौँ देशहरूमा घरबार चलाउन जिम्मेवारी लिने, खेती गर्ने, वा व्यापार गर्ने युवाहरू जीवित थिएनन्। विवाह गरेर त्यसलाई पूर्ति गर्नका समेत मानिसहरू थिएनन्,” उनी भन्छिन्। योग्य पुरुष नभेट्दा लाखौँ महिलाहरू समस्यामा परेका थिए।

काममा महिला

स्पेनिश फ्लूले चौधौँ शताब्दीको प्लेगका कारण जमिनदारी प्रथा समाप्त भएजस्तो ठूलो सामाजिक परिवर्तन त ल्याउन सकेन तर यसले कतिपय देशमा लैङ्गिक सन्तुलन बिगारेको थियो।

टेक्सस ए एन्ड एम विश्वविद्यालयकी अध्येता क्रिस्टीन ब्ल्याकबर्नले पहिलो विश्वयुद्ध र स्पेनिश फ्लूका कारण काम गर्ने मानिसहरूको कमी हुँदा महिलाहरू काम गर्न बाध्य भएको पत्ता लगाएकी छन्।

उनी भन्छिन्, “सन् १९२० सम्म देशका सबै कर्मचारीहरूमा महिलाहरूको हिस्सा बढेर २१ प्रतिशत पुगेको थियो। त्यसै वर्ष अमेरिकी कङ्ग्रेसले संविधानको १९औँ संशोधन गरेर महिलाहरूलाई मतदानको अधिकार दिएको थियो।

उनी भन्छिन्, “सन् १९१८ को फ्लूले कैयौँ देशहरूमा महिलाहरुको अधिकारमा प्रभाव र परिवर्तन गरेको प्रमाण भेटिन्छ।” कामदारको अभावका कारण मजदुरहरूको तलब पनि बढ्यो।

अमेरिकाको सरकारी तथ्याङ्कअनुसार सन् १९१५ मा प्रतिघण्टा २१ सेन्ट रहेको मजदुरको तलब बढेर सन् १९२० मा ५६ सेन्ट भएको थियो।

नवजातमा असर

वैज्ञानिकहरूले स्पेनिश फ्लूका बेला जन्मिएका बच्चाहरूको पनि अनुसन्धान गरेका छन्। उनीहरूले महामारीका बेला जन्मिएका बच्चामा मुटुसम्बन्धी समस्या हुने सम्भावना बढी छ कि छैन भनेर पत्ता लगाउन अनुसन्धान गरेका थिए।

यूके र ब्राजिलका विश्लेषकहरूले सन् १९१८ र १९ मा जन्मिएका बच्चाहरूमध्ये कमैले औपचारिक रूपमा कलेजको पढाइ पूरा गरे।

केही सिद्धान्तका अनुसार महामारीका बेला आमाहरूमा देखिएको तनावको असर उनीहरूको गर्भाशयमा रहेका भ्रुणमा पर्‍यो।

सन् १९१५ देखि १९२२ मा जन्मिएका र अमेरिकी सेनामा भर्ना भएकाहरूको तथ्याङ्क विश्लेषणबाट सन् १९१९ मा जन्मिएकाहरूको उचाइ एक मिलिमिटर कम पाइएको थियो।

उपनिवेशवादको विरोध र अन्तर्राष्ट्रिय सहयोग

सन् १९१८ सम्म भारत ब्रिटिश उपनिवेश बनेको करिब एक शताब्दी भइसकेको थियो। भारतमा त्यसै वर्ष मेमा स्पेनिश फ्लू देखियो। त्यसबाट ब्रिटिश नागरिकभन्दा भारतीयहरू धेरै प्रभावित भए।

तथ्याङ्कहरूका अनुसार भारतमा कथित तल्लो जातिका मानिसहरुको मृत्युदर प्रतिहजारमा ६१.६ थियो। युरोपियनहरूको भने प्रतिहजार नौ जनाभन्दा पनि कम थियो।

भारतीय राष्ट्रवादीहरूले यो महामारीका बेला ब्रिटिश शासकले राम्रो व्यवस्थापन नगरेको भन्दै त्यसैलाई मुद्दा बनाए। सन् १९१९ मा ‘योङ्ग इन्डिया’को एउटा अङ्कमा महात्मा गान्धीले ब्रिटिश अधिकारीहरूको कडा आलोचना गरे।

विश्वयुद्धका कारण विश्वभरका देशहरू शत्रु भएका थिए तर यो महामारीले अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई पनि दर्शाएको थियो।

सन् १९२३ मा लिग अफ नेसन्स बन्यो। त्यसले स्वास्थ्यसम्बन्धी काम गर्ने निकाय पनि बनायो। विश्व स्वास्थ्य सङ्गठन भने सन् १९४८ मा मात्र खुलेको हो।

जनस्वास्थ्यमा प्रगति

महामारीले निम्त्याएको नोक्सानका कारण जनस्वास्थ्यमा सुधार गर्न मद्दत गर्‍यो। सन् १९२० मा रुसले पहिलोपटक केन्द्रीकृत जनस्वास्थ्य प्रणाली बनायो। अन्य देशहरू पनि त्यसै दिशामा अघि बढे।

लोरा स्पिनी लेख्छिन्, “कैयौँ देशहरूले सन् १९२० मा कि त स्वास्थ्य मन्त्रालय बनाए वा त्यसमा आमूल परिवर्तन गरे।” उनी स्पेनिश फ्लूकै कारण यस्तो भएको बताउँछिन्।

लकडाउन र सामाजिक दूरी

यो दुईवटा सहरको चर्चित कथा हो। सेप्टेम्बर १९१८ मा अमेरिकी सहरमा युद्धका लागि पैसा जुटाउन ऋणपत्रको बिक्री गर्न लागिएको थियो।

त्यसको प्रचारका लागि सैन्य परेडको आयोजना हुँदै थियो। स्पेनिश फ्लू सुरु भएपछि पनि फिलाडेल्फियाले उक्त परेडलाई जारी राख्यो तर सेन्ट लुइले कार्यक्रम रद्द गरिदियो।

एक महिनापछि फिलाडेल्फियामा स्पेनिस फ्लूबाट १० हजार मानिस मरेका थिए भने सेन्ट लुइमा ७०० भन्दा पनि कम मानिसको मात्र ज्यान गयो।

यति धेरै अन्तरले के देखाउँछ भने महामारी रोक्नका लागि लकडाउन र सामाजिक दूरी निकै प्रभावकारी छ।

बिर्सिएको महामारी?

स्पेनिश फ्लूले ठूलो शिक्षा दिए पनि त्यसलाई बिर्सिएको महामारी ठानिन्छ। कोरोनाभाइरसबाट अहिले धेरै नेताहरू सङ्क्रमित भएजस्तै त्यसबेला पनि अमेरिकी राष्ट्रपति र ब्रिटिश प्रधानमन्त्रीलाई पनि उक्त रोग लागेको थियो।

ब्राजिलका राष्ट्रपति रोड्रिगेज अल्भेसको त स्पेनिश फ्लूकै कारण ज्यान गएको थियो। तर यो महामरी पहिलो विश्वयुद्धको छायामा पर्‍यो।

युद्धका बेला कति सरकारहरूले समाचारमै प्रतिबन्ध लगाएका थिए। त्यसले गर्दा स्पेनिश फ्लूको धेरै जानकारी बाहिर आउन पनि पाएन।

यसबारे यकिन तथ्याङ्क नभएकाले नै यो महामरी इतिहासका पुस्तक र चलचित्रमै सीमित भयो। सन् २०१८ मा स्पेनिश फ्लू आएको एक सय वर्ष भयो। तर अन्य महामारी त के केही वर्षअघि देखिएको एड्सको जस्तो पनि यसको चर्चा भएन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वित्तीय स्रोतसमेत घटेपछि प्रदेश र स्थानीय तह घाटामा

काठमाडौँ । विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम रहेको निष्कर्षसहितको प्रतिवेदन

जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने

सभामुखलाई देउवाले भने-प्रतिपक्षीको आवाजलाई नजरअन्दाज नगरियोस्

    काठमाडौं ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख