प्रधानमन्त्रीज्यू, बेइजिङ-काठमाडौं चल्ने चुच्चे रेल, घरघरमा पाइपबाट आउने ग्यासका लागि पो दिएको बहुमत !



नारायण गाउँले ।

ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य हो । तर यो बहुमत दुई वर्षभित्रै बेजिंग-काठमाडौं चल्ने चुच्चे रेलका लागि हो । दुई वर्षभित्र घरघरमा पाइपबाट आउने ग्यासका लागि हो । दुई वर्षभित्र उत्तरतिर सातवटा नाका खोल्नका लागि हो । दुई वर्षभित्र हावाबाट बिजुली निकाल्ने र स्याटेलाइटबाट बेचेर धनी बन्नका लागि हो । दुई वर्षभित्र सात वटा स्मार्ट सिटी बनाउन र देशभर विद्युतीय बस चलाउने भाषणका लागि हो । यो बहुमत एकता, स्थायित्व, विकास र समृद्धिका लागि हो । अलिकति बढ़ी नाकाबन्दीको विरोधका लागि हो ।

तर भयो के ? प्रचण्ड बहुमत हुँदाहुँदै नाकाबन्दी मैले नै गरेको हो भन्ने उपेन्द्र यादव उपप्रधानमन्त्री बने । यो जनमतको गालामा पहिलो झापड़ थियो । चीन र भारतसँग सम्बन्ध सुमधुर राख्नु जरूरी छ तर धेरै अघि बढेर मोदीको ‘नागरिक अभिनन्दन’ जरूरी थिएन । त्यो पनि नाकाबन्दीको पीड़ा नसेलाउँदै र भारतले औपचारिक रूपमा नाकाबन्दी स्वीकार नगर्दै । साझा विवेकशीलले आफ्नो पार्टी कार्यालयमा राखेको ‘मोदीलाई स्वागत छ : तर नाकाबन्दी भुलेका छैनौं’ भन्ने सामान्य ब्यानर पनि पुलिसले च्यातेर लग्यो । यो स्वतन्त्र र सभ्य देशको गालामा अर्को झापड़ थियो ।

दुई वर्षसम्म ओलीले हरेक भाषणमा पानी जहाजको बखान र पार्टीभित्र-बाहिरका विपक्षीहरूमाथि क्षुद्र गाली गरेर बिताए । टिकट काट्ने मिति तोके । जब मिति आयो, अचानक उनको मुखबाट पानी जहाज गायब भयो । कहिल्यै संसदमा उभिएर देशको माइक्रो इकोनोमी या सामाजिक समस्याका बारेमा तथ्यपूर्ण छलफल गरेनन् । कहिल्यै संसदभित्र उभिएर प्रश्नउत्तर गर्न सकेनन् । एउटा पुरस्कारको लोभमा सिङ्गो राज्यशक्ति प्रयोग भएर होली वाइन कार्यक्रम भयो । लाजमर्दो ढङ्गले देशको प्रधानमन्त्री कार्यक्रम अवधिभर आयोजक र अतिथिसँग होटलमा बसे । देशका सबै जनप्रतिनिधिलाई होली वाइन पिउन उपस्थित हुने परिपत्र गरिएको थियो ।

उनले विष्णु पौडेलदेखि गोकुल बाँस्कोटासम्मलाई छानबिन हुन दिएनन् । वाइडबड़ी काण्डमा संसदीय समितिको निर्देशन लत्याएर अलग्गै छानबिन समिति बनाए तर रिपोर्ट कहिल्यै सार्वजनिक गरेनन् । न निर्मला पन्तले न्याय पाइन् । संस्थागत भ्रष्टाचारले सीमा नाघेको त विपक्षीले होइन, आफ्नै दलका नेताले स्वीकार गरेकै छन् । दुई वर्षको धेरै जसो समय त उनकै स्वास्थ्य र पार्टी एकीकरणकै नाममा बित्यो । र बाँकी समय पनि यति देखि ओम्नीसम्मका काण्डले बिताए ।

अहिले सिङ्गो देश कोरोनाभारससँग लड्दै थियो । जनता लकडाउनमा थिए । लाखौं युवाले वैदेशिक रोजगारी गुमाउन सक्ने देखिएको थियो । रेमिट्यान्स डेढ़ खर्बले घट्ने रिपोर्टहरू आएका थिए । विश्वभर नेपालीहरू विभिन्न कारणले रोकिएर देश फिर्तीको प्रतीक्षामा थिए ।
सबै पक्षलाई साथ लिएर आसन्न आर्थिक, सामाजिक र स्वास्थ्य समस्याबारे बृहत् छलफल र आकास्मिक नीति तय गर्नुपर्ने अवस्थामा उनी थिए । यो नायकत्व पुष्टि गर्ने गतिलो अवसर थियो । तर उनले पहिलो काम चीनबाट राजदूत फिर्ता बोलाए । उनी बिरामी भएर बाहिर आएदेखि मन्त्री पदको लोभ बाँड्दै पार्टी फुटाउने षड्यन्त्रमा व्यस्त पो रहेछन् । यसका लागि उनले देशको संविधान नै परिवर्तन गर्ने र राष्ट्रपति कार्यालयसम्म बदनाम गराउने खेल गरे ।

अहिले बालुवाटारमा हुने बैठक आर्थिक समृद्धिका लागि होइन, बामदेवलाई प्रधानमन्त्री कसरी बनाउने भनेर हुन्छ । समाचारका पाना होउन् या कार्यकर्ताका फेसबुक पेज मजदुरको आँसू र पसिनाले होइन, भागबण्डा र घोचपेचले भरिएको छ । लकडाउन बढाउने कि नबढाउने भनेर एकपल्ट मन्त्रिपरिषदको बैठक बस्छ, त्यत्ति हो ।

तोकिएको समयमा पानी जहाज आएन, किन आएन भन्ने बताउनु या माफी माग्नु उनलाई जरूरी लाग्दैन । पाइपमा ग्यास या चुच्चे रेलको प्रगति जनतालाई बताउन भनेर कुनै पत्रकार सम्मेलन भएको छैन । अहिले देश नै ठप्प हुने गरी अध्यादेश प्रकरणमा उनी उत्तानो परे । तर पनि नम्रतापूर्वक गल्ती स्वीकार गर्न उनी सक्दैनन् ।

उसो त लोकतन्त्र, सिङ्गो प्रणाली र जनमतको हदैसम्म अपमान गर्दै वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पनि देश र जनताकै भलाइका लागि हो भन्ने तर्क गर्ने कार्यकर्ता होउन्जेल उनी सुध्रिनुपर्ने पनि के नै छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशी प्रदेशमा सवारी दुर्घटनाः पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

झापा। कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन्

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ ।

अहिले संसद र अदालतबाटसमेत ‘जनयुद्ध’लाई अपमानित गर्ने काम भइरहेको छ, यो सैह्य हुन्नः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले काठमाडौँको राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले

सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय