तातो रोडमा खाली खुट्टा हिँड्दै गरेको दृश्यले छुन नसक्ने हाम्रो शासकीय मुटु कति कठोर होला ?
नारायण गाउँले ।
काठमाडौंमा एक छाक खान र सुत्नसम्म पुग्ने हो भने यो सङ्कटमा लालाबाला बोकेर हिँड्दै महेन्द्रनगर पुग्ने दुस्साहस कसैले गर्दैन ।
रत्नपार्कबाट अनामनगर पुग्न ट्याक्सी चाहिने मान्छेले तिनको मजाक उडाउनु खेदजनक छ ।
५-६ दिनसम्म हिँड्दा-हिँड्दै चप्पल फाटेर कलिला केटाकेटी तातो रोडमा खाली खुट्टा हिँड्दै गरेको दृश्यले छुन नसक्ने हाम्रो शासकीय मुटु कति कठोर होला ?
न पिउने पानी छ, न ओत लाग्ने ठाउँ छ । न केही खानका लागि पसल ख़ुलेका छन्, न गोजीमा पैसा छ । निर्जन बाटोमा हिँड्दाहिँड्दै थाकेर बस्ती नजिक पुग्दा मान्छेको गन्धले पनि मन रसिलो हुँदो हो तर त्यहाँ पनि तिरस्कार र अस्वीकृतिको नमिठो अनुभवमात्रै छ । मान्छेलाई सबैभन्दा बढ़ी मान्छे चाहिएको बेला मान्छे देखेर मान्छे परपर भाग्दै गरेको अवस्था पक्कै सामान्य होइन । बाटामैं सुत्केरी भएर पनि तातो पानीकै लागि बाटोमा लतारिँदै हिँड्नु परेको चित्र मानवतामाथिको व्यङ्ग्य हो । कोरोनाले त बाँच्न पनि सकिएला तर भोकले मरिन्छ भन्ने नभई कोही पनि यति कष्टकर यात्रामा निस्किँदैन । हिँड्दै बल्ल बल्ल घर पुग्ने बेलामा पुलमाथि राखिएको बार नाघ्न नसकेर मृत्यु भएको घटनाले पनि हाम्रो मथिङ्गल हल्लाएजस्तो लागेन ।
उदेक लाग्दो त के छ भने देशमा ‘कम्युनिस्ट’ नामको सरकार छ र पूर्व मजदुर सङ्गठनका नेता प्रधानमन्त्रीका मुख्य राजनैतिक सल्लाहकार छन् । यो चित्र त सड़कमा निस्किएका दुई चार सयको हो । यस्तो अवस्थामा गास जोड्न नसक्ने पक्कै लाखौं होलान् ।
दुःखको कुरा त ती गलित र थकित शरीर लिएर जब गाउँ पुग्लान्, गाउँका अर्का शासकले तिनलाई दिने घृणा र तिरस्कारको घाउ कति ठूलो होला ? कति पुलमा पर्खाल लगाइएका होलान् ?
पक्कै पनि तीन हप्ता देशभित्रै क्वारेन्टीन बसेर गाउँ आइपुगेको व्यक्तिलाई सोझै इटालीबाट झरेझैँ व्यवहार हुनेछ । ती शायदै आफ्नो घरसम्म पुग्न पाउलान् । घरमा तिनलाई कुरेर बसेको गरिबी, अभाव र शून्यता त छँदै छ ।