‘अहिले बल्ल स्वाद चाख्दैछन् चीन कोरोनाभाइरससँग लड्दै गर्दा खुसी मनाउनेहरु’



नारायण गाउँले ।

१-‘चीन कोरोनाभाइरससँग लड्दै गर्दा पश्चिमाहरू खुशी मनाइरहेका थिए, अहिले बल्ल स्वाद चाख्दै छन् ।’
२-‘पूर्वीय संस्कृतिलाई सधैँ अपमान गर्ने र गिज्याउनेहरू नै अहिले नमस्कार गरिरहेछन् ।’
केही नेपाली प्रबुद्ध, विद्वान् र राजनैतिक विश्लेषकहरूका टिप्पणी हुन् यी ।

तर सत्य के हो भने,
ट्रम्पले एक महिनाअगाडि नै चीनले कोरोनाभाइरससँग प्रोफेशनल तरिकाले लड़िरहेको, चीन यसका लागि सक्षम रहेको र अमेरिका नजिकबाट सघाउन तयार रहेको अन्तर्वार्ता दिएका थिए । विश्वस्वास्थ्य सङ्गठनलाई धेरै देश र अर्बपतिहरूले ठूलो रकम उपलब्ध गराएका थिए । इजरायलदेखि अस्ट्रेलियासम्मका विश्वविद्यालयले कोरोनाभाइरसको खोप विकासका लागि कदम चालिसकेका थिए । कुनै पनि सरकारी निकाय या मिडियाले चीनको मजाक उडाएका थिएनन् ।

यो समस्यालाई सिरियस भएर हेरेका थिए । त्यहाँका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले जुन अभूतपूर्व साहस र योगदान गरेका थिए, तिनको सचित्र वर्णन युरोपमा बसेर पढ़िएकै थियो । अहिले एउटामात्रै पनि बिरामी नरहेको नेपालका नागरिकलाई त कुनै देशले प्रवेशमा रोक लगाएको छ तर सङ्क्रमण व्यापक बन्दासम्म पनि लगभग सिङ्गो विश्वमा चिनियाँ नागरिकलाई प्रवेशमा बन्देज थिएन । जोखिम बढ्दै जाँदा धेरै देशले चीनसँगको बोर्डर र हवाइ कनेक्टिभिटी नियन्त्रण गर्दै गएका हुन् । आफ्ना नागरिकको सुरक्षा हरेक देशको पहिलो कर्तव्य हो । यो हरेक देशले सकेजति गर्छन् नै । आज चीन आफैले पनि गरेको छ ।

एक दुईवटा मिडियामा आएका आलोचनात्मक लेखबाहेक सिङ्गो विश्व कोरोनाभाइरस चीनबाहिर फैलिनुअघि नै चिन्तित थियो । पश्चिमी मिडियाले माओको अनुहारमा मास्कमात्र होइन, बेलायतकी रानीले हातमा पन्जा लगाएको तस्बीर छाप्दै “Crownavirus” भनेर व्यङ्ग्य गरेका थिए । अस्ट्रेलिया, क्यानडा र न्युजिल्याण्ड लगायत धेरै देशको संयुक्त र लोकप्रिय राजसंस्था लिएर गरिएको त्यो व्यङ्ग्यको कसैले विरोध गरेको सुनिएन । चीनका माओजस्तै अमेरिकाका अब्राहम लिङ्कनको तस्बीरमा पनि मास्क लगाएका तस्बीर आउँछन् । अहिले पनि ट्रम्पदेखि बेलायती प्राधानमन्त्रीसम्मको खरो आलोचना मिडियामा छापिइरहेकै छ । पश्चिममा मिडियाहरू सरकार-नियन्त्रित छैनन् । ट्रम्प त विरोधसँग आत्तिएर सधैँ फेक मिडिया भन्छन् ।

आज युरोपका सुपरस्टोरमा खाद्यान्नको स्टक रित्तिएको होस् या नागरिकले शासकप्रति रोष प्रकट गरेको फोटो होस्, विश्वभर पुगेका छन् । किनकि यहाँका सरकारले यस्तो चित्र अन्त नजाओस् भनेर सोसल मिडिया या पत्रपत्रिकालाई एडिट गर्दैनन् । चाहे भने पनि गर्न सक्दैनन् । चीनमा कोरोना भाइरसका व्यापक केस आउन थालेपछि सजग गराउने पहिलो डाक्टरलाई प्रशासनले कुप्रचारको आरोप लगाएर प्रहरीकहाँ पुऱ्याएको खबर चीनबाटै आएको थियो ।

पछि त्यही भाइरसकै कारण उक्त डाक्टरको मृत्यु भयो । यदि एक महिना पहिले नै डाक्टरको कुरा सुनिएको, उनको च्याट डिलिट नगरिएको र यसलाई लुकाउने प्रयास नभएको भए धेरैको ज्यान बच्न सक्थ्यो भन्ने टिप्पणी मिडियामा आए । यो चीन या चिनियाँ जनताको विरोध नभएर शासकप्रतिको टिप्पणी थियो । यदि यो घटना फ्रान्स या बेल्जियममा हुन्थ्यो भने मिडियाले सरकार नै ढालिदिने थिए । शासकलाई स्तुतिमात्रै गर्नुपर्छ, आलोचना गर्नुहुन्न भन्ने चेत पाल्नु पनि राम्रो होइन ।

अहिले युरोपका खाली पसलका केही तस्बीर हेरेर खुशी नबनौं । यो अवस्था जताततै आउन सक्छ । भोलि नेपालमैं पनि यो हाहाकार देखिन सक्छ । विश्वमा पोलियो, दादुरा, एचआइभी, स्वाइन फ्लूजस्ता थुप्रै समस्याहरू छन् जसलाई सिङ्गो विश्व मिलेर लड्दै छन् । सके हामीले पनि कोरोनाभाइरसको रोकथाम र उपचार पत्ता लगाएर विश्वलाई उपकार गर्न सक्छौं ।

अनि ‘पूर्वीय संस्कृतिलाई अपमान गर्ने र मजाक उड़ाउने’हरूले आज नमस्कार गरेको भन्ने पनि स्वस्थ तर्क होइन । पश्चिमीमात्रै होइन, कुनै पनि सभ्य सरकार र नागरिकले धर्मको मजाक उड़ाउँदैनन् । जनस्तरमा त हिन्दुले क्रिश्चियन र मुश्लिमको या क्रिश्चियनले मुश्लिम र हिन्दुको अनि मुश्लिमले अन्य धर्मको मजाक उडाउनु अलग विषय हो ।

हिन्दु धर्म र संस्कृतिको प्रभाव अहिले युरोप र अमेरिकामा यत्रतत्र देखिन्छ । संयुक्त राष्ट्र सङ्घकै कार्यक्रममा हिन्दु र बौद्ध धर्मगुरुहरू पुगेर योग र दर्शनबारे शिविर नै चलाएका छन् । बेलायती प्राधानमन्त्री लक्ष्मीपूजाको दिन मन्दिर जान्छन् । टीका लगाउँछन् । केही तुच्छ धार्मिक अतिवादीबाहेक कसैले कसैको अपमान गर्दैन, आफ्नो धर्मको बखान बेग्लै हो ।

आज अन्यले पनि नमस्कार अपनाए भने हामीले हाम्रो संस्कृति कति व्यावहारिक रहेछ भनेर गर्व गर्ने हो । हिजो अपमान गर्नेले आज नमस्कार गरे भनेर उल्टो तिनको मजाक उडाउने होइन । राम्रो कुराको अनुकरण विश्वभर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई(अन्तरवार्ता)

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राईले राजनीतिक

चीनले नेपालमा सञ्चालन हुने सहायता परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने

दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत