‘शरीरको अन्तिम अवस्था खरानी’
डा. गोविन्दशरण उपाध्याय ।
(१) शरीरसंग अत्यधिक मोह भएका मानिसहरू मृत्युसंग हदै डराउँछन् | आज सम्म मृत्युलाई कसैले रोक्न सकेको छैन | रोग रोकिएको छैन तर अवधि घटेको छ | वेदले “शरीरको अन्तिम अवस्था खरानी” नै हो भनेर मान्छेलाई सत्यसंग रुवरु गराएको छ | यसको अर्थ, शरीर रहंदासम्म एसको उचित हेरचाह गर्नुपर्छ तर शरीरका लागि मरिहत्ते गर्नु ठीक छैन भनिएको होइन र ?
(२) हरेक जीवसंग एउटा मात्र शरीर छ | एसको कुनै विकल्प छैन | भौतिकवादी दृष्टिकोणले बुझ्दा शरीर एकमात्र अस्तित्वको बलियो आधार हो | तर भौतिकवादीहरूले आफ्नो शरीरलाई अतिमहत्व दिन्छन् तर अर्काको शरीरलाई महत्वहीन ठान्छन् | मेरो विचारमा, आफ्नो शरीरको लागि अर्काको शरीर मास्नेहरू धार्मिक नै भए पनि मूलत: भौतिकवादी नै हुन् |
(३) वेदले मान्छेको पूर्णायु १०० वर्षको हुन्छ भनेर हजारौं वर्ष पहिले नै उद्घोष गरेको छ | आजको विज्ञान यो भन्दा कत्ति पनि फरक छैन | यहाँ १०० वर्षको आयु शरीर हो, आत्माको होइन | शरीर अजरअमर छैन | एक दिन हाम्रो शरीर रहने छैन | तर शरीरलाई १०० वर्षसम्म स्वास्थ्य राख्ने कर्तव्य गर्नु वैदिक आज्ञाको पालन गर्नु हो | तेसैले हरेक मान्छेले स्वास्थ्यका नियमहरूको पालना गर्नैपर्छ |
(४) महर्षि दधिचीले आफ्नो शरीरलाई देवकार्यका लागि समर्पण गरेका थिए | उनको यो त्याग समाजकल्याणका लागि थियो | इतिहासमा मृत्युलाई जित्ने धेरैले प्रयत्न गरे तर कसैले सकेनन् | सिद्धार्थ गौतमले शरीरलाई “कुनै पनि हालतमा जोगाउन नसकिने निर्क्यौल निकालेपछि” उनी बुद्ध बने | धेरै ज्ञानीहरूले शरीरको अन्त्यको सत्यलाई स्वीकार गरेपछिको अवस्था नै उनको “ज्ञान” बन्यो | उनीहरू ज्ञानी भनिए |