१८ वर्ष लामो युद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच शान्ति सम्झौता



अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिवार हस्ताक्षर गरेको छ।

अमेरिका र तालिबानबीच भएको सम्झौता अन्तर्गत यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई अफगानिस्तानबाट फिर्ता गर्नेछन्।

कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य गरेर अफगानिस्तान शान्ति तर्फ उन्मुख हुने आशा गरिएको छ। काबुलमा भएको अमेरिका-अफगानबीचको संयुक्त निर्णयमार्फत उक्त घोषणा भएको हो।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र तालिबानका नेताहरू उक्त सम्झौता हस्ताक्षर कार्यक्रमका लागि कतार पुगेका थिए।

सम्झौतामा तालिबान यसअघि ‘अमेरिकाको कठपुतली’ भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको अफगान सरकारसँग वार्ता गर्ने उल्लेख छ।

सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा एक हप्ता लामो युद्धविराम भएको थियो जुन पालना भएको बताइएको छ।

शान्ति सम्झौतामा हस्ताक्षर हुनुअघि शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानहरूलाई दिगो शान्तिको सम्भावना अङ्गाल्न आह्वान गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रवार एक विज्ञप्तिमार्फत उक्त सम्झौताले ‘अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्ने’ सम्भावना बोकेको बताएका थिए।

“अन्तत: आफ्नो भविष्य अफगानिस्तानका जनताकै हातमा हुने हो,” ट्रम्पले भनेका छन्। “त्यसैले हामी अफगानिस्तानका जनतालाई शान्ति र देशको नयाँ भविष्यका लागि यो मौका नगुमाउन आह्वान गर्छौं।”

सन् २०१८ को डिसेम्बर महिनामा तालिबानले ‘शान्तिको मार्ग’ खोज्ने प्रयास स्वरूप अमेरिकी अधिकारीहरूलाई भेट्ने घोषणा गरेको थियो।

तर लडाकुहरूले भने काबुलस्थित सरकारसँग औपचारिक वार्ता गर्न निरन्तर अस्वीकार गर्दै आएका थिए। कतारमा भएको अमेरिका-तालिबानको नौ चरणको वार्तापछि दुवै पक्ष सम्झौताको नजिक पुगेको देखिएको थियो।

सन् २०१९ को सेप्टेम्बरमा वासिङ्टनका वरिष्ठ वार्ताकारले तालिबान लडाकुसँगको ‘सैद्धान्तिक’ सम्झौताको एउटा हिस्साको रुपमा आफ्ना ५,४०० फौजलाई २० साताभित्र अफगानिस्तानबाट फिर्ता गर्ने घोषणा गरेका थिए।

तर त्यसको केही दिनपछि नै राष्ट्रपति ट्रम्पले उक्त वार्ता जीवित नरहेको बताए। तालिबान समूहले आफूहरूले अमेरिकी सेना मारेको स्वीकार गरेपछि राष्ट्रपति ट्रम्पले त्यस्तो बताएका थिए।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्‍यो।

तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्‍यो। त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो।

यद्यपि, उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो।

अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य मिसन अन्त्य गर्‍यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो।

तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो। तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो।

सन् २०१८ मा बीबीसीले तालिबान अफगानिस्तानभर ७० प्रतिशत क्षेत्रमा सक्रिय रहेको पत्ता लगाएको थियो।

सन् २०११ मा भएको आक्रमणपछि अन्तर्राष्ट्रिय गठबन्धनका करिब ३,५०० सदस्यहरूको अफगानिस्तानमा मृत्यु भयो जसमध्ये करिब २,३०० अमेरिकी थिए।

मारिएका अफगान नागरिक, लडाकु र सरकारी फौजको सङ्ख्या भने यकिन गर्न कठिन छ। सन् २०१९ को फेब्रुअरीमा निस्किएको प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसङ्घले ३२,००० भन्दा बढी सर्वसाधारण मारिएको जनाएको थियो।

ब्राउन युनिभर्सिटीको वाट्सन इन्स्टिच्युटले ५८,००० सुरक्षा फौज र ४२,००० विद्रोही लडाकुहरूको ज्यान गएको जनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारीमा कार्यरत चिकित्सकले निजी स्वास्थ्य संस्थामा पूर्णकालीनरुपमा कार्य गर्नु कानुनविपरीतः स्वास्थ्य मन्त्रालय

  काठमाडौँ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा

प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने

  क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको

विश्व बैंकद्वारा पाकिस्तानलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउन आग्रह

    विश्व बैंकले पाकिस्तानी सरकारलाई कर प्रणालीमा सुधार गरी शुल्क र बिक्री

विदेशीको नजरमा नेपालमा एफडीको सम्भावना

पार्क थेयङ । नेपालमा आगामी वैशाख १६ र १७ (अप्रिल २८ र २९