कोरोनाभाइरसका कारण चीनमा २ सय १३ जनाको मृत्यु, विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा



विश्वस्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी स्वास्थ्य सङ्कट निम्त्याएको घोषणा गरेको छ।

दुई सय जनाभन्दा बढीको ज्यान लिइसकेको सो सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गर्नुपर्नाको मुख्य कारण चीनबाहिर त्यसको सम्भाव्य फैलावट रहेको बताइएको छ।

चिनियाँ अधिकारीहरूले उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २०० नाघेको बताउँदै गर्दा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोरोनाभाइरसका कारण विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको हो। अहिलेसम्म कम्तीमा २१३ जनाको मृत्युको भएको पुष्टि भइसकेको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त घोषणा गर्नुका पछाडि मुख्य कारण चीनबाहिर यसको अवस्थालाई लिएर भएको बताएका छन्।

हाल उक्त सङ्क्रमण चीनबाहिर पनि फैलिसकेको छ। चीनबाहेक अन्यत्र नेपालसहित १८ देशमा ९८ जनामा सङ्क्रमण भएको पाइएको छ। तर चीनबाहिर यसका कारण कसैको ज्यान गएको छैन।

विश्व स्वास्थ्य सङ्गठनले कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकहरूमा यो भाइरस फैलिन सक्ने त्रास रहेको बताए। बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स गालाहरका अनुसार अहिले ९९ प्रतिशत सङ्क्रमणका घटना चीनभित्र नै पाइएको र चीनले तिनलाई नियन्त्रण गर्नेमा डब्ल्यूएचओ विश्वस्त रहेको पाइएको छ।

तर कमजोर स्वास्थ्य प्रणाली भएका मुलुकमा फैलिएमा अवस्था बदलिन सक्छ। त्यसैले उनी भन्छन्, “पछिल्लो घोषणापछि डब्ल्यूएचओले निम्न तथा मध्यम आय भएका मुलुकहरूमा सङ्क्रमणको निरीक्षण र नियन्त्रणमा उसले सघाउन सक्नेछ।”

यो घोषणाको अर्थ अब सबै देशलाई सङ्क्रमण फैलिन रोक्न कडिकडाउ नियन्त्रणका उपाय अपनाउन आह्वान गरिएको जस्तै हो। डब्ल्यूएचओले चीनले अपनाएका उपायको प्रशंसा गर्दै उसले सङ्क्रमण नियन्त्रण गर्न असाधारण उपाय अपनाइरहेको बताएको छ।

जिनिभास्थित संवाददाता इमोजेन फोल्क्स भन्छिन्, “एक साताअगाडि १७ जनाको मृत्यु र ५०० जनामा रहेको सङ्क्रमण अहिले दशगुना धेरैको मृत्यु र ८,००० जनामा सङ्क्रमण पुगेको सन्दर्भमा डब्ल्यूएचओका सामु यो घोषणा गर्नुबाहेक अरू विकल्प थिएन।”

यसबीच सङ्क्रमणको केन्द्रमा रहेको वुहानबाट विदेशी नागरिक उद्धार गर्न विशेष चार्टर्ड गरिएका थप विमान शुक्रवार त्यहाँबाट उड्दैछन्। दुई सय ब्रिटिश नागरिक त्यहाँबाट प्रस्थान गर्नेछन्। उनीहरूलाई उत्तरी आयरल्यान्डको एक अस्पतालमा दुई साता अलग्याएर छुट्टै राखिनेछ।

दुई सयजना फ्रेन्च नागरिक बोकेको विमान भर्खरै त्यहाँबाट उडेको छ। फ्रान्समा उनीहरूलाई १४ दिनसम्म क्वारान्टीनमा राखिनेछ। करिब २०० अमेरिकीहरू हाल क्यालिफोर्नियाको सैनिक क्याम्पमा क्वारान्टीनमा बसेका छन्।

कैयौँ विमानसेवाले चीनतर्फका उडान सीमित पारेका छन् वा कटौती गरेका छन्। दुई सङ्क्रमणका घटना पाइएपछि इटलीले त्यस्ता सबै उडान स्थगित गरेको छ। अमेरिकामा मानिसबाट मानिसमा कोरोनाभाइरस सरेको पहिलो घटनाको पुष्टि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको