‘शिवमायाको अडान अर्ग्यानिक नभएर ओलीको बार्गेनिङ थियो’
नारायण गाउँले ।
पार्टी एक भएपछि पनि त्यसको सिङ्गो स्वामित्व लिनेतिर लाग्नुभन्दा पूर्व माओवादी खेमाको प्रतिनिधिका रूपमा भूमिका खोज्दै गर्दा प्रचण्डलाई तत्काल जितेजस्तो लाग्ला, तर यसले उनको भविष्यलाई ठूलो धक्का लाग्न सक्छ ।
‘पूर्व’को बिउ उनैले संरक्षण गरेपछि अब पूर्व एमालेले उनलाई नेता मान्न किन पर्यो र ? के माओवादी खेमाको मात्रै समर्थनले उनी भोलि पार्टी अध्यक्ष या प्रधानमन्त्री बन्न सक्लान् ?
शिवमायाको अडान अर्ग्यानिक नभएर ओलीको बार्गेनिङ् थियो । शायद सुवास नेम्वाङ्को पक्षमा गरिएको अभिनय थियो । तर मूल जे सुकै होस्, आम कार्यकर्तामा शिवमायाप्रति सहानुभूति र स्वीकृति देखिएको थियो । नेतृत्वले त्यो पढ्न नसक्नु ठूलो भूल हुन सक्छ ।
प्रचण्डले शिवमायाको पक्ष लिएको भए एक तीर दुई निशाना हुन्थ्यो । ओलीको खेल पनि तुहिन्थ्यो र आम कार्यकर्ताको विश्वास जित्न सकिन्थ्यो । शिवमाया योग्य उम्मेद्वार पनि थिइन् । प्रचण्डप्रति महिला र जनजाति समूहको आदर बढ्ने थियो । बुहारीबाहेक अन्य महिला पनि सक्षम हुन्छन् भन्ने सन्देश जाने थियो । शिवमायाको योग्यता नपुगेको भनेको उनी पूर्वमाओवादी नहुनुमात्रै न थियो ।
अग्नि सापकोटालाई अन्याय भएको भन्ने पनि थिएन । उनी एकभन्दा बढ़ी पटक मन्त्री बनेका थिए । लाभका धेरै पदमा पुगेका थिए । उनीमाथि अदालतमा विचाराधीन मुद्दाको किनारा पनि लाग्न बाँकी थियो । भोलि पनि उनको उज्यालो बाँकी नै थियो ।
भन्न नसके पनि आम नेकपा कार्यकर्तालाई अग्निभन्दा शिवमाया प्रिय थिइन् । मुद्दाको किनारा नलाग्दै अग्नि सभामुख बनेको धेरैलाई मन परेको छैन । यो अन्तर्राष्ट्रिय मूल्य मान्यताविपरीत समेत भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय चासो यसमा पक्कै बढ्नेछ । देशको महत्त्वपूर्ण समय अग्निको बचाउ गर्दा गर्दै खर्च हुनेछ ।
ओलीले यो सबैको जिम्मा कुशलतापूर्वक प्रचण्डको काँधमा बोकाएका छन् । शायद अब एमसिसि पास हुनेछ । केही समयमा अदालतले उनको विपक्षमा फैसला सुनायो भने अचम्म नमाने हुन्छ । त्यसपछि शिवमाया या सुवास नेम्बाङ् सभामुख बने भने प्रचण्डको शाख के होला ?