‘मन्त्रीका गतिविधि हेर्दा र भाषण सुन्दा उहाँले कामको नशा समात्न सकेजस्तो लाग्दैन’
नारायण गाउँले ।
एअरपोर्टको ट्वाइलेट सफा राख्ने काम पर्यटनमन्त्री योगेश भट्टराईको होइन । स्वास्थ्यमन्त्रीले वीर हस्पिटल र पर्यटनमन्त्रीले एअरपोर्टको ट्वाइलेट अनुगमन गरेर ‘सफा’ राख्न निर्देशन दिने गरेको हामीले पढ्छौं र मन्त्रीलाई धन्यवाद दिन्छौं ।
निर्देशन दिएर काम हुन्छ भन्ने हामीमा अचम्मको सामन्ती सोच छ । काम त विधिले, प्रक्रियाले र कानुनले हुनुपर्ने हो । जहाँ स्पष्ट कानुनको अभाव छ र तत्काल कानुन बन्न असम्भव छ, त्यहाँ निर्देशन दिन सकिन्छ । मातहतका कर्मचारीलाई यसरी गाँठो फुकाउनुस्, कानुनी जटिलता र औपचारिकता म पूरा गर्छु भन्न सकिन्छ ।
एअरपोर्टमा दर्जनौं हाकिम छन् । कतिको पद छ, कति पदबिनै सरकारले भर्ती गरेको छ । सुपरभाइजरहरू छन् । क्लिनरहरू छन् । रोटा छ । नियम छ । तिनले दैनिक हाजिर गर्छन्, तलबमात्र होइन, बोनस पनि बुझ्छन् । प्रोकुरमेन्ट फाइल पल्टाएर हेर्ने हो भने यति धेरै सफाइ सामग्री किनिएको हुन्छ कि त्यसले देशभरका ट्वाइलेट सफा गर्न पुग्छ । तर त्यत्ति एक दुई ट्वाइलेट पनि नियमित सफा हुँदैनन् । खासमा ट्वाइलेट मात्र होइन, सिङ्गो एअरपोर्ट सफा र फंक्शनल राख्नु विमानस्थल प्रमुखको दायित्व हो । तिनले तलब बुझ्ने त्यसकै लागि हो ।
ट्वाइलेट सफा राख्न मन्त्रीले निर्देशन दिनु भनेको हाम्रो सिस्टम टोटल फेल छ भन्ने हो । यो भयावह अवस्था हो । कतिपल्ट निर्देशन दिने ? कुन कुन एअरपोर्टमा निर्देशन दिने ? निर्देशन दिएपछि सफा भइहाल्ने तर निर्देशन नआउन्जेल फोहोर हुने ?
मन्त्रीले त सिस्टम सफा गर्ने हो । उसो त सिस्टममा फोहोर गर्ने मन्त्रीहरू नै हुन् । कार्यकारी प्रमुख नै एउटा पदमा दुई वटा मान्छे छन् । झापाका मदन खरेललाई हुँदै नभएको पोस्ट खड़ा गरेर जागिर दिइएको छ । अब उनीदेखि दोस्रो तेस्रो तहको हाकिमसम्मले सोझै ओलीजीलाई रिपोर्ट गर्ने हैसियत राख्ने भएपछि एउटा मन्त्रीले उनलाई कसरी निर्देशन दिने ? सजिलो भनेको एकदुई पत्रकार लिएर ट्वाइलेट जाने अनि सफाइ कर्मचारीलाई निर्देशन दिने । राजनीतिले फोहोर नबनाइदिने र पद्धतिले चल्न दिने हो भने एअरपोर्टमात्रै होइन, सबै कार्यालय सफा हुन्छन् ।
एअरपोर्ट ट्वाइलेटबारे विदेशी पर्यटकको टिप्पणीले मन्त्रीका रूपमा योगेशलाई मद्दत नै गर्थ्यो । उनले कार्यकारी निर्देशकलाई जिम्मेदार बन्न बाध्य पार्न सक्थे । स्पष्टीकरण सोध्न सक्थे । तर उनले त आफैलाई टिप्पणी गरेजस्तो मानेर फोहोरको बचाउ पो गरे । ‘नेपालका ट्वाइलेट फोहोर छन् त के भो ? तिनका ट्वाइलेट पनि त कुनै बेला फोहोर थिए ।’ मन्त्रीको मुखबाट यस्तो सार्वजनिक उत्तर ठूलो बिडम्बना हो । एउटा युवामन्त्रीको त्यो सोच र अभिव्यक्ति दुःखलाग्दो छ ।
पर्यटनमन्त्रीको पहिलो काम देशको हवाइ क्षेत्रलाई युरोपको कालोसूचीबाट निकाल्नु हो । त्यसका लागि आवश्यक शर्त र इन्डिकेटरहरूको अध्ययन गर्नु र पूरा गर्ने प्रयास गर्नु हो । सरोकारवालासँग सघन संवाद गर्नु हो । यत्ति हुन सक्ने हो भने सम्भावनाका धेरै ढोका आफै खुल्छन् । उहाँ रातदिन यसैमा खटिनु र यसमा भएका प्रगतिबारे हरेक हप्ता अपडेट दिन बिजी हुनुपर्ने हो ।
मन्त्रीका रूपमा गर्नुपर्ने तात्विक काम धेरै छन् । देशको आन्तरिक र बाह्य हवाइ कनेक्टिभिटी बढाउनु पर्ने छ । नयाँ र सस्टेनेबल पर्यटन गन्तव्य विकास गर्न बाँकी छ । पर्यटकहरूले उठाएका समस्या र फिडब्याकलाई कार्यान्वयन गर्ने मेकानिज्म छैन । भ्रष्टाचारका आरोप र फाइलहरू छन्, जसको किनारा लागेको छैन । आन्तरिक पर्यटनमा गर्नुपर्ने सयौं कुरा बाँकी छन् । बाहिरका नआए पनि बाहिर गइरहेका हजारौं नेपालीलाई देशभित्रै घुमाउन सके पनि ठूलो बचत हुन्छ ।
तर मन्त्रीका गतिविधि हेर्दा र भाषण सुन्दा उहाँले कामको नशा समात्न सकेजस्तो लाग्दैन । झण्डा बोकेर विदेशका केही शहरमा भीजिट नेपालको ऱ्याली गर्ने र नेपाली समुदाय जम्मा गरेर भव्य भाषण गर्ने जस्तो सजिलो कर्मकाण्डभन्दा देशमैं खटेर कम्तिमा एक दुई भए पनि सार्थक र दीर्घकालीन महत्त्वको केही काम गर्न सके उहाँ र देश दुबैलाई राम्रो हुँदो हो ।