‘इतिहास परिवर्तन गर्न कोही पनि स्वतन्त्र छैनन्’
डा.गोविन्दशरण उपाध्याय|
राजा पृथ्वीनारायण शाह तिम्रो जय होस् ? इतिहास सम्मानयोग्य हुन्छ | राजा पृथ्वीनारायण शाह (वि.सं.१७७९-१८३१) देश-विदेशका समस्त नेपाली र नेपाली भाषीहरूका राजा हुन् | पृथ्वीनारायण शाहले नेपाललाई “असली हिन्दुस्ताना” भनेर बोलेको सत्य धेरैलाई पच्दैन | २६० वर्ष पहिलेको नेपाल अहिलेजस्तो थिएन र अहिलेको वखतलाई २६० वर्ष पहिले धकेल्न पनि सकिन्न |
पृथ्वीनारायण शाहले तेस वखत नेपाल जोडेका थिए, तोडेका होइनन् | राजा पृथ्वीनारायण शाहलाई नमान्ने नमान्न स्वतन्त्र छन् तर इतिहास परिवर्तन गर्न कोही पनि स्वतन्त्र छैनन् | यदि श्रीमान् प्रचण्ड, बाबुरामआदि पृथ्वीनारायण शाहका वखतमा हुन्थे र तेस वखत पनि नेपाललाई बहुजातीय र सांस्कृतिक राष्ट्र बनाउन उद्द्यत हुन्थे भने आजको नेपाल कमसेकम १२४ राष्ट्रमा विभाजित हुन्थ्यो |
बाइसे-चौवीसेहरूले मात खान्थे | तेस वखत व्यक्तिले राष्ट्रहरू खडा गर्थे | विगतको १५० वर्षको इतिहासमा नेपाल राष्ट्रले आफ्नो भूमि गुमाएको छ, राणाकालमा केही गुमेको भूमि जोडिएको थियो तर तेसपछि प्रजातन्त्र, राजतन्त्र, प्रजातन्त्र र अहिलेको प्रजातान्त्रिक गणतन्त्रले एकरत्ति भूमि जोडेको छैन | सबैले राजा पृथ्वीनारायण शाहले जोडेको नेपालको उपभोग, उपयोग र लुछाचुँडी गरिरहेका छन् |
आम नेपाली होस् वा राष्ट्रको नेतृत्वतहमा रहेको व्यक्ति, कसैले पनि नेपालमा आज देखिएको छूटपुट विकास नेतृत्वतहको योजनाले भएको हो कि विश्वभरि चलेको विकासका बाछिटा नेपालमा लागेका हुन् ? भन्न सक्द्दैनन् | कसैलाई चित्त बुझोस्-नबुझोस् : कुनै पनि राजाहरूले विदेशबाट सिद्धान्तहरू उधारो ल्याएर राष्ट्र निर्माणको सपना देखाएका थिएनन् | उनीहरूले जेजति गरे त्यो विशुद्ध नेपाली भएर गरे |
महेन्द्रले पनि “पंचायत”को स्वदेशी सिद्धान्त नै अगाडी सारेका थिए, बुद्धि नपुगेर वा उनको अभिमानले त्यो असफल बन्न पुग्यो | आज हामी सबैलाई थाहा छ – नेपाल राष्ट्र विदेशी सिद्धान्तले हिंडीरहेको छ | स्वदेशको गौरव भन्ने कुरा नै राष्ट्रसंचालकहरूका लागि कसिङ्गर भएको छ | राष्ट्रप्रति माया छैन भन्न मिल्दैन तर माया गर्ने शैली मिलेको छैन | केही मान्छेहरू राजा पृथ्वीनारायण शाहप्रति अति घृणा गर्छन् |
घृणा गर्नु उहाँहरूको निजी अधिकार हो | मलाई बुझ्न गारो भएको छ कि इनीहरू पृथ्वीनारायण शाहलाई घृणा गरेर चर्चामा रहन चाहन्छन् कि साच्चिकै घृणा गर्छन् | तेसो त आजभोली यी स्वनामधन्य घृणावादीहरू आफ्नै बैचारिक गुरूहरू (प्रचण्डआदि)प्रति पनि उत्तिकै घृणा गर्न थालेका छन् | मेरो सुझाव छ – वरू घृणावादको नयाँ सिद्धान्त रचना गरेर अगाडी बढे हुन्छ |
यो पनि साहित्य, राजनीतिको एउटा पाटो हुन सक्छ र बढिया तवरले चर्चामा राख्छ | धन्यवाद छ – ई घृणावादीलाई जसले राजा पृथ्वीनारायण शाहलाई अझैं जान्न, खोज्न र आदर गर्न सर्वसाधारण नेपालीलाई अभिप्रेरित गरेको छ | जतिजति नेपालको हिन्दू, बोन, जैन, बौद्धसंस्कृतिहरूप्रति घृणावादी स्वरहरू सुनिन्छन् तेतिनै धेरै नेपाली रैथाने धर्म, संस्कृति तथा सभ्यताप्रति माया जागेर आउँछ | तेतिनै धेरै नेपालका रैथाने शक्तिहरू एकठाउंमा उभिने र स्वधर्म तथा संस्कृतिको रक्षा गर्दै “विदेशी लम्पसारवाद”संग प्रतिकार गर्ने शक्ति आर्जित गर्नेछन् | विदेशी बुद्धिले जतिधेरै नेपालप्रति घृणा व्यक्त गर्ने छ तेतिनै धेरै स्वदेश प्रेमीहरूका लागि उर्जा प्राप्त हुनेछ |
पृथ्वीनारायण शाहले देश निकाला गरेका समुहका आत्मिक सन्तानहरूले गर्न सक्ने गरिरहन्छन् तर दुर्भाग्यवस आजको राजनैतिक नेतृत्वपनि यो घृणावादको चपेटामा परेको छ | कुनै दिन एस्तो आउने छ – हरेक राजनैतिक दलले राजा पृथ्वीनारायण शाहको सम्मान गर्ने छन्, नत्र त्यो दल नै वहिष्कारमा पर्ने छ | दोस्रो कुरा, राजा पृथ्वीनारायण शाहलाई सम्झिदा उहाँका गुरू गोरखनाथलाई विर्सनु मिल्दैन |
“बूढा जोगी”ले आशिर्वाद नदिएको भए नेपाल राष्ट्रको निर्माणतिर राजा अग्रसर हुने थिएनन् | नेता भन्दा बढी नेतृत्व तयार गर्ने व्यक्तिको हुन्छ | महागुरू गोरखनाथ प्रति नमन | राजा पृथ्वीनारायण शाहलाई संझिन्दै गर्दा “राज्यराष्ट्र : अवधारणा र सिद्दान्त” भन्ने किताव खोजेर अवश्य पढ्नुहोला | यो किताव जरोकिलोको कार्यालय जमलमा पाइन्छ |