‘तर अहिले तपाईंको अस्ट्रेलिया भ्रमण र जुलूस धेरैलाई मन परेको छैन’



प्रिय योगेशजी,
जुलूस, ऱ्याली, कोणसभा, मार्चपास या दूतावासहरूमा भोजभतेर गरेर पर्यटक भित्राउन सकिन्छ भन्ने सोच बदल्नु पर्यो !
विदेश भने पनि एक दुई जना स्थानीय सांसद या मेयर बोलाएर सयपचास नेपालीको बीचमा ‘भव्य’ उद्घाटन, भाषण या जुलूस गरेर भ्रमण वर्ष सफल हुँदैन । नेपालमा झैँ ती मेयरले सरकारी पैसामा विदेश भ्रमण गर्न पाउँदैनन् ।

भ्रमण वर्ष सफल बनाउनु सरकारको मात्र होइन, हामी सबैको कर्तव्य हो । हामीले बीस लाख पर्यटकको लक्ष्य राखेका छौं । १२ लाख पर्यटक त त्यसै पनि आएकै छन् । हाम्रो लक्ष्य आठ लाख थप्नु हो र यो भयङ्कर महत्त्वाकाङ्क्षी या असम्भव लक्ष्य पनि होइन ।

आठ लाख लक्ष्य हो, कति पूरा हुन्छ भन्ने यसै भन्न सकिन्न । आम्दानी भन्दा भ्रमणवर्षका नाममा हाम्रो विदेश भ्रमण, पर्चापम्पलेट र भोजभतेरको खर्च बढ़ी भयो भने त्यो फलदायी हुँदैन ।

अब सिरियस्ली सोचौं र काम गरौँ ।

-अबको एक वर्ष पर्यटन मन्त्री विदेशका दूतावासमा होइन, नेपालकै विभिन्न पर्यटकीय क्षेत्रमा भेटियून् । लामालामा पदयात्रादेखि स्थानीय जात्रासम्म उनी लो प्रोफाइलमा पुगून् । स्थानीय र पर्यटकहरू सँग अनुभव र रायसुझाब सङ्कलन गरून् ।

-आठ लाख पर्यटक कुन बाटो आउँछन् ? हाम्रो सपना ‘धनी देशका हवाइ पर्यटक’ हो जस्तो छ । अहिलेकै उडान पनि समय नपाएर आकाशमैं होल्ड हुन्छन् । तिनको सिट क्षमताअनुसार अहिले नै पनि ती प्रायः भरिएर आउँछन् । अब हाम्रो लक्ष्य भेट्न आवश्यक पर्ने हवाइ सिटदेखि एअरपोर्ट ट्राफिक म्यानेजमेन्टसम्मका पूर्वाधारमा पनि त काम गर्न पर्यो । जहाँबाट खालि सिट बढ़ी आउँछन् त्यहाँ प्रचार केन्द्रित गर्न सकिन्छ ।

-बिजनेसको कुनै पनि विद्यार्थीले बताइदिन सक्छ, वस्तु या सेवाको सबैभन्दा ठूलो विज्ञापन उपभोक्ता नै हुन् । नेपाल आउने पर्यटक नै हाम्रो पर्यटनको सबैभन्दा ठूलो विज्ञापन हुन् । बास्तविक पर्यटन-दूत तिनै हुन् । तिनले बोकेर जाने म्यासेजले धेरै ठूलो अर्थ राख्छ । तिनको नेपाल-अनुभव कसरी सुन्दरतम बनाउन सकिन्छ भनेर सोचौं । तिनका कुरा सुनौं ।

-एअरपोर्टको शौचालयदेखि बाटाको धुलो र होटेल या चियापसलमा हुने ठगीसम्म पर्यटकले धेरै कमेन्ट गरेका छन् । सोसल मिडियादेखि ट्रिप एडभाइजरजस्ता पर्यटन साइटमा नेपालसम्बन्धी तितामीठा अनुभव शेयर भएका छन् । तिनलाई लाखौं सम्भावित पर्यटकले पढ्छन् र धारणा बनाउँछन् । एउटा डेस्कलाई तिनमा एपोलोजीसहित उचित रेस्पोंस गर्ने र सम्बन्धित निकायलाई सूचित गर्ने जिम्मा दिन सकिन्छ ।

-भिजिट नेपालको नाममा सबै खाले विदेश भ्रमण तुरुन्तै रोकौं । धेरै देशमा दूतावास र एनआरएन लगायतका संस्था छँदै छन् । बरू ती कर्मचारी खालि र फुर्सदिला छन् भने नेपालकै ठाउँठाउँमा हेल्पडेस्क राख्न सकिन्छ । भ्रमण खर्चले विदेशी पत्रिका या टेलिभिजनमा राम्रा विज्ञापन बजाउन सकिन्छ ।

-नेपाल भ्रमण वर्षले पर्यटकलाई के फाइदा हुने हो ? केके सेवामा तिनले छुट पाउने हो ? किन यही वर्ष भ्रमण गर्नुपर्ने हो ? यसबारे सोचेर कार्यक्रम बनाउनु जरूरी छ । इन्सेन्टिभ कर्मचारीले मात्रै होइन, पर्यटकले पनि त पाउनुपर्यो । केही पनि अफर या इन्सेन्टिभ नभए पर्यटक आकर्षित नहुन सक्छ ।

-नेपालको हवाइ भाड़ा ज्यादै महँगो छ । आन्तरिक हवाइ यात्रा भरपर्दो छैन । कनेक्टिङ् फ्लाइट छ भने त आन्तरिक उड़ानको टिकट नै काट्न डराउनुपर्ने अवस्था छ । कतिको फ्लाइट मिस भएर फेरि टिकट लिनुपरेको तीतो अनुभव पढ्न पाइन्छ । यसमा सुधार गर्न नीतिगत या व्यावहारिक होस्, रातदिन काम गर्न पर्यो ।

-भ्रष्टाचारले पनि पर्यटनमा नराम्रो असर गर्छ । फेक उद्धारका नाममा पर्यटकसँग लाखौं रुपियाँ असुलिने गरेको घटना विदेशी मिडियामा आए । तिनमा ‘यति’ ग्रुपका हेलिकप्टर कम्पनी मुख्य थिए । सरकारी निकायले कारबाही सिफारिस पनि गर्यो । तर कारबाही त टाढाको कुरा, उल्टै ती पुरस्कृत भए । यस्तो घटनाले देशकै छवि बिग्रिने हुनाले सतर्क र इमान्दार हुनुपर्यो ।

योगेशजी, देशको आशा र सम्भावना हुनुहुन्छ तपाईं । धेरै विकल्प पार्टी या देशभित्र उपलब्ध छैनन् । केही सार्थक र दीर्घाकालीन काम गरौँ । सोचे जति पर्यटक नआउँदैमा भ्रमण वर्ष असफल हुँदैन तर आएकामध्ये केही सयले मात्रै पनि नराम्रो अनुभव शेयर गरे भने धेरै वर्षका लागि हामी असफल हुन्छौं ।

अन्त्यमा के भन्न चाहन्छु भने, अहिले तपाईं अस्ट्रेलियामा हुनुहुन्छ । त्यहाँका प्रधानमन्त्रीले यो भयानक आगलागीप्रति पर्याप्त संवेदनशीलता देखाउन नसकेको आरोपमा त्यहाँका एक सरकारी कर्मचारीले उनीसँग हात मिलाउन अस्वीकार गरे । प्रधानमन्त्रीले दिएको हात फिर्ता गर्नुपर्यो । पक्कै नमज्जा लाग्यो होला तर उनले ‘सरी’ भने ।

उद्देश्य असल नै होला, तर अहिले तपाईंको अस्ट्रेलिया भ्रमण र जुलूस धेरैलाई मन परेको छैन । हाम्रो महाभूकम्पका बेला कुनै देशको मन्त्री उसको पर्यटन प्रबर्धन गर्न नेपाल आएको भए हामीलाई कस्तो लाग्दो हो ? तर तपाईंले ती टिप्पणीलाई विवेकपूर्ण रूपमा लिएर गल्तीबोध गर्नुभन्दा ‘गम्भीर रूपमा नियत खराब भएकाहरू’ भन्ने आरोप लगाउनुभएको छ । विनम्रता पनि नेतृत्वमा अत्यावश्यक गुण हो भन्ने स्मरण गराउँदै आगामी दिनका लागि शुभकामना दिन चाहन्छु ।

नारायण गाउँले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिमा तीन सदस्य नियुक्त गरेको छ