इरान, उत्तरकोरिया र भेनेजुएलाजस्ता धेरै कम सैन्य क्षमताका देशले अमेरिकालाई किन सिध्याइदिने धम्की दिन्छन् ?



नारायण गाउँले ।

रसिया र चीन सामरिक शक्तिमा अमेरिका जत्रै नभए पनि परेको बेला कडा जबाफ फर्काउन या आच्छु आच्छु पार्न सक्ने हैसियत राख्छन् । तिनको अमेरिकासँगको सम्बन्ध राम्रो पनि छैन । चीनसँग त घोषित व्यापार युद्धकै अवस्था छ । रसियामाथि पनि क्रिमियाकाण्डदेखि आर्थिक नाकाबन्दी नै लागेको छ । तर, कहिल्यै तिनले अमेरिकालाई ‘सिध्याइदिने’ धम्की दिएको सुनिन्न ।
तिनको भाषा ‘द्वन्द्व नबढाउन र शान्ति कायम राख्न’ आग्रह गर्ने खालको हुन्छ । चुनौती या धम्कीपूर्ण भाषा प्रयोग गर्दा पनि तिनले ‘यसको नतिजा नराम्रो हुने’ जस्तो अमूर्त वाक्य प्रयोग गर्छन् । तिनले अमेरिकाविरुद्ध सानातिना आक्रमण गरेर गिज्याउने गरेको पनि खास देखिन्न । न तिनले सार्वसाधारण अमेरिकी नागरिकलाई दुःख दिएको खबर सुन्न पाइन्छ ।

तर, इरान, उत्तरकोरिया र भेनेजुएलाजस्ता धेरै कम सैन्य क्षमताका देशले भने हरेक पल्ट अमेरिकालाई धुलो चटाइदिने र सिध्याइदिने धम्की दिने किन होला ? यसो एकदुई नागरिक अपहरण गरेर मिडियाबाजी गर्दै दुश्मनलाई थुनिएको प्रचार गर्ने किन होला ? आफ्नो देशमा त्यसले लोकप्रियता त बढ्ला तर ग्लोबल कन्टेस्टमा त्यसले देशलाई धेरै घाटा पुऱ्याउने रहेछ ।

त्यस्तो धम्कीले गर्दा नागरिक स्तरमैं त्यो दुश्मनी संस्थागत हुँदो रहेछ । शासकले त्यो देश र नागरिक हाम्रा वास्तविक दुश्मन हुन् भन्ने छाप आमजनतामा पार्न सक्दा रहेछन् र नजानिँदो गरी शासकहरूको युद्ध उन्मादलाई देशको सिङ्गो जनताले अनुमोदन गर्दो रहेछ । अन्तर्राष्ट्रिय समाजले पनि त्यस्ता आक्रमणलाई बिस्तारै पचाउने रहेछ ।

उदाहरणका रूपमा यही पछिल्लो घटना लिऊँ । युद्ध घोषणा नगरी एउटा सार्वभौम देशको सैन्य कमाण्डरको हत्या गर्नु आफैमा भर्त्सनीय हुनुपर्ने हो । सिङ्गो विश्वले एक स्वरमा यस्तो खुला आक्रमणको निन्दा गर्दै विज्ञप्ति निकाल्नुपर्ने हो । यो आज इरानसँग भयो होला, भोलि अरूसँग पनि त हुन सक्छ । तर दुर्भाग्य, सबै चुप छन् । बोल्नेहरू पनि अत्यन्त कूटनैतिक पालिस लगाएर बोलिरहेका छन् । अमेरिकाभित्रै पनि नागरिक स्तरमा यो आक्रमणको खुलेर विरोध भएको छैन ।

यसका धेरै कारण होलान् तर मुख्य कारण इरान र उसको बर्सौँदेखि अमेरिकालाई ‘धुलो चटाउन सक्ने’ धम्की नै हो । सप्पै जिम्मा इरानको हो भन्ने होइन, तर इरानका कारण अमेरिकी जनता असुरक्षित छन् भन्ने भ्रम फैल्याउन मद्दत गर्ने सबैभन्दा ठूलो तत्त्व इरान आफै हो । यही ‘शत्रुता’ र ‘राष्ट्रिय सुरक्षामा खतरा’को भ्रममा टेकेर ट्रम्पले यो आक्रमण गरेको देखिन्छ । र, उसैको थप धम्की अनि आफ्नो देशको बल्दो झण्डाको तस्बीर देखाउँदै देशको खतराविरुद्ध लडेको ‘अन्ध राष्ट्रवाद’ छरेर उनले चुनाब जित्न सक्ने सम्भावना बढेको छ । अमेरिकी स्वार्थ र निसानाहरू माथि ससाना हमला र अमेरिकी नागरिकहरूको अपहरण र हत्याजस्ता सानातिना कुराले पनि यसमा मलजल गरेको होला । अब इरानी शासक झन ठूलो समस्यामा परेजस्तो लाग्छ । अमेरिकालाई ठाडै चुनौती दिँदै आएका सेनापति नै मारिएपछि चुप लाग्ने हो भने आफ्नै नागरिकको नजरमा गिर्ने र बदला लिउँ भने झन ठूलो खतरा निम्तिन सक्ने अवस्था देखिन्छ ।

अन्तर्राष्ट्रिय समाजले पनि इरानलाई अमेरिकाको स्वाभाविक शत्रु मानिसकेकाले होला, कडा प्रतिक्रिया जनाएन । शत्रु मानिसकेपछि त्यसमाथि हुने आक्रमण लेजिटिमेट छ र त्यो आफूसम्म आइपुग्दैन भन्ने विश्वास हुँदो रहेछ । नत्र एउटा सार्वभौम देशमाथि हुने आक्रमण त भोलि जसमाथि पनि हुनसक्छ नि । यही घटना केन्या या कतारसँग भएको भए अमेरिकाभित्रै लाखौं मान्छेहरू युद्धको विरोधमा सड़कमा ओर्लिने थिए । अहिले पनि धेरैलाई ट्रम्पको यो कदम मन परेको छैन तर राष्ट्रघाती भइने डरले ती चुप छन् । किनकि तिनको दिमागमा इरान शत्रु हो र उसबाट अमेरिकी जनधनलाई असुरक्षा छ भन्ने छाप पारिएको छ । हुन पनि हो, एउटा लामो दूरीको क्षेप्यास्त्र परीक्षण गर्दा इरानका मिडियाले अमेरिकी क्याम्प या शहरको नामैं लिएर त्यहाँसम्म मार हान्न सक्ने क्षमताको भन्ने प्रचार गर्छन् । भोलि यही अवस्था उत्तरकोरियासँग पनि आउन सक्छ । तर पनि सचेत मान्छे यो आक्रमणको विरुद्धमा बोलिरहेका छन् ।

नाकाबन्दी भनिए पनि रसिया र अमेरिकी व्यापार नेपालको राष्ट्रिय बजेटभन्दा दुई गुना ठूलो छ । चीनको त सबैभन्दा ठूलो व्यापारिक साझेदार नै अमेरिका हो । प्रायः सबै ठूला अमेरिकी कम्पनीले चीनमा उत्पादन गर्छन् भने हरेक वर्ष तीन लाखभन्दा बढ़ी चाइनिज विद्यार्थीहरू अमेरिकी विश्वविद्यालयमा थपिन्छन् । दुईबीचको पर्यटन पनि झन्डै साठी लाख पर्यटकभन्दा ठूलो छ । तिनले दुश्मनीलाई राजनैतिक स्तरमा सीमित राखेका छन् र त्यसको असर सामान्य जनजीवन र राष्ट्रिय ढुकुटीमा पर्न दिएका छैनन् । यसको अर्थ रसिया या चीन कमजोर छन् भन्ने होइन । ती अलि बढ़ी बुद्धिमान् छन् भन्ने हो । तपाईंलाई के लाग्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर । कोसी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत दिनुपर्ने लगायतका बुँदा समेटिएको नेकपा एमाले

मुख्यमन्त्री नियुक्ति विवादको टुंगो नलागेसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसँग चार लाख धरौटी माग

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न

चैतसम्म वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख