भस्मान्तं शरीरम् !!
डा. गोविन्दशरण उपाध्याय ।
अहिलेसम्म “अमर” शब्द पढिएको छ, सुनिएको छ तर भेटिएको छैन | सिद्धार्थलाई तेसै वैराग्य आएको रहेन छ | शरीरलाई जतिसुकै माया गरे पनि रोगी, बृद्ध र अन्तत: नष्ट हुनु वाहेक अर्को विकल्प रहेन छ | प्राण नभएको शरीरले प्राण भएको शरीरझैं काम चल्ने र राख्न मिल्ने भए धेरैले सुरक्षित गरेर राख्थे होला ! सिद्धार्थ फेसनका लागि बुद्ध बनेका रहेनछन् !
यहुदी, इसाई तथा मुस्लिम सम्प्रदायले एस्तो प्रयत्न गरेको देखिन्छ | चिहानमा गाडेपछि प्रलयसम्म शरीर सुरक्षित रहन्छ भन्ने उनीहरूको विश्वासको कुनै अर्थ छैन | हड्डी वाहेक अरू शरीर गल्न तीन महिना पनि लाग्दैन | पपुवा न्यु गिनिका केही मान्छेले मरेको शरीर सजाएर राख्छन् तर के गर्नु ! सजाउनेहरू पनि एक दिन सजिने मै पुग्छन् | फोटो खिच्न हुँदैन, मूर्ति बनाउनु हुँदैन भन्ने यहुदी, इसाई, मुस्लिमहरूले चिहानमा शरीर सुरक्षित राखेको देख्दा अचम्म लाग्छ | एकातिर मूर्तिको ठाडो आलोचना गर्ने अर्कोतिर चिहान पूज्ने ?
वरू हिन्दू, बौद्ध, जैन र पारसी नै ठीक ! किनभने हामीले त आफ्नो शरीर चितामा खरानी बनाई पानीमा बगाएर घर फर्कन्छौं | हरेक वर्ष गरिने श्राद्ध पनि गयामा गएर श्राद्ध गरिसकेपछि समाप्त हुन्छ | केटाकेटी, जवान, प्रौढ तथा बूढाबूढी सबै मर्छन् तर २१ वर्षे ठिटो एकासी मर्छ भने परिवारलाई ठूलो मानसिक पीडा हुँदोरहेछ |
ज्ञान, विज्ञान, धर्मशास्त्र, भौतिकवाद, आध्यात्मवाद, दर्शन, मनोविज्ञानजस्ता विषयहरू पीडाका अगाडी अनर्थ नै हुनेरहेछन् | रामायणमा तुलसी दासले लेखेको अर्थ वुझ्नुपर्छ “जाकि पैर फटी न विवाइ, सो का जाने पीर पराई” जसका पैतला पटपटी फुटेका छैनन्, तिनले फुटेको दुखाई बुझ्न सक्दैनन् | बरू, समय बित्दैजाँदा प्रकृतिलेले नै कमलो गरी घाउँ भरिदिने प्रतीक्षा गर्नुपर्छ र प्रकृतिभन्दा जान्ने धार्मिक, मनोचिकित्सक अर्को हुँदैन | अरूलाई उपदेश दिन सजिलो हुन्छ तर आफुलाई पर्दा सबै थोक विर्सिन्छ |
मैले धैर्य गर्नुस् पनि भन्न सकिन | तेसो भन्न मनले नै दिएन, बुद्धिले मानेन, साच्चिकै भन्नुपर्दा आफ्नु केही ठाउँमा ज्ञानको धाक नदेखाएकै राम्रो !स्वस्तिअस्तु, कल्याणम्अस्तु, भष्ममान्तम् शरीरम्