‘यीनले पाकेका आँप मुखमा दल्छन् र दिनभरी ढुङ्गा चाट्छन्’
डा. युवराज संग्रौला।
“ध्रबतारा अटल छन् । चन्द्रमा उज्याला, तर यीनको निन्द्रा लामो हुन्छ । जब ब्यूँझिन्छन्, ध्रुबतारालाई सोध्छन्, “के छ बाटिकाको खबर?“ उनलाई यो बाटिका बिछट्टै मनपर्छ। यो बाटिकामा बाँदरहरु बस्छन् । ध्रुबतारालाइ यीनीहरुको इतिहास थाह छ ।“यी बाँदर मानिस मासिएर बनेका हुन्, त्यसैले यी देखि प्रकृति पनि हैरान छ । बाँकी सबैतिर बाँदरबाट मानिसको उन्नयन भएको हो, यहाँ चैं मानिसबाट बाँदर।“
१. यस बाटिकाका बाँदर धतुरो खान्छन् । धतुरो खान यीनलाई सेतामुखे ढेडुहरुले सिकाएका हुन् ।
२. यहाँका बाँदर रुखका बोक्रा पनि चपाउँछन्, पात पनि खान्छन्, टाँकी, उन्यूँ, खिर्रो, पैयूँ, फट्यांग्रा किरा, जरा आदि सबै खान्छन् । हरियो बाटिका यीनले मरुभूमि बनाइसके ।
३. नगर्ने जति सबै गर्ने र गर्ने चैं केही नगर्ने यीनले कसम खाका छन् ।
४. यीनले पाकेका आँप मुखमा दल्छन् र दिनभरी ढुङ्गा चाट्छन् ।
५. यीनका नाइकेलाई कसले कतिबेला रुखबाट घचेटेर सिध्याउने थाहै हुन्न । सेतामुखे र ओठल्याप्रे, यी नाइकेका गुरु बनेका छन् । यीनलाई खुसी पारेर नाइकेहरु फडिर र जामुन खाएर बस्छन् ।“
६. यीनका मसिना सन्तान जति जतिबेला पनि सुतिरहन्छन् । अलि ठूला भएपछि सेतामुखेले कहाँ लान्छ पत्तै छैन।
यो मेरो अर्को फिक्सनको केही ब्यहोरा हा । कति मानिसका बारेमा मात्र साहित्य लेख्ने, बांदरका बारेमा पनि सोच्न मन लागेर ।