‘मुटु’ भन्ने अङ्ग अनौठो हुँदो रहेछ !



नारायण गाउँले ।

‘मुटु’ भन्ने अङ्ग अनौठो हुँदो रहेछ ! बच्चा ‘पाठेघर’मा जन्मिन्छ, हुर्किन्छ । तर जब बाहिर आउँछ, त्यो पाठेघरको टुक्रा हुँदैन मुटुको टुक्रा हुन्छ ।
धेरैजसो सम्बन्ध र माया आँखाबाटै सुरु हुन्छ । मुस्कानले होस् या बोलेर होस्, त्यसलाई हुर्काउन ‘मुख’को कत्रो योगदान हुन्छ । तर गुलाबमा पोको पारेर आँखा या मुख पठाउने गरिन्न । त्यहाँ पनि मुटु नै टुप्लुक्क आइपुग्छ ।

जिउँदै हुँदासमेत दिन मिल्ने किड्नी, रगत, बोनम्यारोजस्ता थोरै अङ्ग हुन्छन् । तिनलाई दिन अस्पताल या विशेषज्ञकहाँ पुग्नु पर्छ । तर मुटुचाहिँ स्कुल, कलेज, मन्दिर, पार्क, खेतबारी या घर जहाँबाट पनि दिन मिल्ने, चोर्न पनि मिल्ने, नछोई कनै दुखाउन पनि मिल्ने र धेरैलाई दिएर पनि अन्त्यमा फेरि साँच्चिकै दिन मिल्ने एकमात्र अङ्ग रहेछ । मुटुबिना बाँच्न गाह्रो हुने हुनाले मुटु दिएपछि लिनेले पनि बदलामा एउटा मुटु देओस् भन्नेचाहिँ लाग्ने रहेछ । बाँच्नकै लागि पिठ्यूँमा ढुङ्गाको भारी बोक्नु परे पनि गीत गाउने बेलाचाहिँ “मुटुमाथि ढुङ्गा राखी हाँस्नु पऱ्या’छ” भनिने रहेछ ।

यस्तो उटपट्याङ् विचार धेरैलाई आउँदो हो । अब अलि गम्भीर कुरो गरौँ । विश्वमा सबैभन्दा ठूलो मृत्युको कारण पनि ‘मुटु’ नै रहेछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार मुटुरोगकै कारण बर्सेनि एक करोड़ असी लाख मान्छेले ज्यान गुमाउँछन् र यो दर बढ्दो छ ।

नेपालजस्ता कम विकसित देशमा मृत्युको गम्भीर अनुसन्धान गर्ने, तथ्याङ्क राख्ने र त्यसको प्रशोधन गर्ने काम खासै नहुने भएकाले यसको स्पष्ट चित्र कोर्न गाह्रो छ । यसमध्ये पनि धेरै जसो मृत्यु ‘हार्ट अट्याक’का कारण हुने र काठमाडौं या अन्य शहरी क्षेत्रबाहिर यसको तत्काल उपचार असम्भव जस्तै भएकाले ‘अफ द रेकर्ड’ मृत्युदर अझ उच्च रहेको अनुमान गर्न सकिन्छ । मुटु रोग विश्वको सबैभन्दा ठूलो स्वास्थ्य चुनौती भए पनि नेपालमा मुटु रोग विशेषज्ञ र अस्पताल भने साह्रै थोरै छन् । हरेक चार जनमध्ये एकमा मुटुरोग रहेको तथ्यले देखाउँछ । सरकारले केही हदसम्म मुटुरोगको उपचारका लागि सहयोग र प्रयास पनि गरेको छ । तत्काल देशभर डाक्टर र स्वास्थ्यसेवा पुऱ्याउन नसकिएला तर मुटुरोगको जोखिम घटाउने उपाय भने सरकारले अपनाउन सक्छ ।

विश्वको सबैभन्दा महँगो मूल्य तिरेर सबैभन्दा कम गुणस्तरको खाद्य सामग्री उपभोग गर्न हामी बाध्य छौं । उदाहरणका लागि खाने तेललाई लिऊँ । बेलायत या अमेरिकाभन्दा हामी बढ़ी मूल्य तिर्छौं तर बदलामा मिसावटयुक्त र अखाद्य तेल हाम्रो भान्छामा पुगिरहेछ । सूर्यमुखी भनेर ‘पाम आयल’ बेचिरहेछौं । त्यो तेलमा हामीले तिर्ने करले अनुगमन कार्यालयका कर्मचारी तलब त खान्छन् तर काम भने व्यापारीकै पक्षमा गर्छन् । त्यही तेल रेस्टुरेन्ट पुग्छ, महिनौं दिनसम्म त्यसैमा खानाहरू फ्राई हुन्छन् । त्यही तेल पाउरोटीदेखि बिस्कुट र चाउचाउसम्मका प्रशोधित खाद्य सामग्रीमा पुग्छ । त्यस्तो ‘स्याचुरेटेड’ र ‘ट्रान्स’ फ्याटले हाम्रो शरीरमा खराब कोलेस्टोरेल बढाउँछन् जसले गर्दा मुटु रोगको जोखिम बढिरहेछ । दोष हाम्रो गरिबीलाई दिने गरिन्छ तर हामीले तिर्ने पैसाभन्दा कम तिरेर अन्य देशका मान्छेले गुणस्तरीय तेल किनिरहेछन् । सरकारले कडाइका साथ तेलको आयात, गुणस्तर र मूल्यलाई मात्रै पनि नियमन र अनुगमन गर्ने हो भने लाखौं जनताको स्वास्थ्यमा तत्काल उल्लेख्य सुधार हुनसक्छ । विद्यालय तहमैं स्वस्थ र पोषणयुक्त खानाका साथसाथै शारीरिक व्यायामबारे चेतना दिने व्यवस्था गर्न सकिन्छ ।

मुटुपछि दोस्रो ठूलो मृत्युको कारण हाम्रो मस्तिष्क रहेछ । मस्तिष्कको कुनै भागमा रगत नपुगेर हुने ‘स्ट्रोक’का कारण बर्सेनि धेरै मान्छे मर्दा रहेछन् ।

तेस्रो ठूलो कारणचाहिँ हाम्रो फोक्सो रहेछ । निमोनियादेखि सिओपीडीजस्ता स्वासप्रश्वाससम्मका रोगहरूले विश्वमा धेरै मान्छेले अकालमा ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार गरिब देशको मात्रै तथ्य हेर्ने हो भने मुटुभन्दा पनि यो उच्च जोखिम भएको क्षेत्र हो । उच्च वायुप्रदूषणको कारण नेपालमा यो समस्या विकराल नै छ । हामी विश्वको सबैभन्दा महँगो मूल्य तिरेर सबैभन्दा कम गुणस्तरका प्रदूषित गाड़ी किन्न बाध्य छौं । त्यसले हाम्रो असुरक्षा त बढेकै छ, त्यसमाथि उच्च प्रदूषणले अन्यको जीवन पनि जोखिममा परेको छ । मुटु बचाउन मर्निङ् वाक गर्दा फोक्सो सिद्धिने डर हामीकहाँ छ । हामीले प्रयोग गर्ने डिजल र पेट्रोलको गुणस्तरसँग पनि हामीलाई खास चासो छैन तर हाम्रो वायुप्रदूषण र जनस्वास्थ्यमा यसले अपूरणीय क्षति पुऱ्याइरहेछ । वातावरणमैत्री विकासबारे हामीले सोचेक छैनौं । हामीलाई रूखको महत्त्व अझै थाहा छैन । सड़कमा उड्ने धुलो र धुवाँलाई कम गर्न ठूलो बजेट पनि नचाहिनुपर्ने हो ।

स्वास्थ्यमन्त्रीका रूपमा उपेन्द्र यादवको दुई वर्षे कार्यकाल प्रायःजसो विदेश भ्रमण र भाषणमैं बित्यो । हामीलाई स्वास्थ्य क्षेत्रको गम्भीरता शायद थाहा छैन । जसलाई मन्त्री बनाइदिए पनि हुन्छ । बेलायतजस्तो देशमा भने राष्ट्रिय स्वास्थ्य सेवा नै चुनाबको मुख्य मुद्दा बन्ने गर्छ । कुनै दिन हाम्रो राजनीति पनि जमिनमा आउला कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा यसरी बिक्री गरिन्छ मिति सच्याएर म्याद गुज्रिएका खाद्य सामग्री

काठमाडौँ । काठमाडौं उपत्यकामा म्याद गुज्रिएका खाद्य सामग्रीको मिति सच्याएर बजारमा विक्री गर्ने

‘घाटामा गइरहेको निगमलाई थप मर्का पर्ने गरी सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा अरुलाई किन ?’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको

नवनियुक्त मुख्यसचिवले गर्नुपर्ने काम

शारदाप्रसाद त्रिताल । नयाँ मुख्य सचिवलाई बधाइ र सफल कार्यकालको शुभकामना १ .मुख्य

थप १,९११ जनामा कोरोना संक्रमण, ९६१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको