निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् ।
ज्यामरुककोट सानालेखस्थित लेकसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्ररोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गरेका थिए ।
सिद्धार्थ आँखा उपचार तथा चश्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चश्मा वितरण गरिएको क्लबका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।
उनले शिविरमा स्थानीय वृद्धवृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको बताए । शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुण्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।