कञ्चनपुर पनि औलोको जोखिममा



महेन्द्रनगर । भारतसँग जोडिएको खुला सीमाका कारण कञ्चनपुर औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको सङ्क्रमण भएर आउने बिरामीको सङ्ख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय सङ्क्रमणभन्दा आयातीत औलो सङ्क्रमित बिरामी बढिरहेको बताए । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइभन्दा पनि भारतमा सङ्क्रमित भएर आउनेको सङ्ख्या बढी छ”, उनले भने, “पछिल्लो केही वर्षयता कञ्चनपुरमा औलोको सङ्क्रमण कम भए पनि जोखिम कायमै छ ।” उनले सन् २०२५ सम्ममा औलो शून्यमा झार्ने रणनीतिअनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा १६ जना औलो सङ्क्रमित थिए भने ३१ जना भारतबाट सङ्क्रमण भएर आएका थिए । आर्थिक वर्ष २०७८/७९ मा सङ्क्रमित घटेर छ मा पुगे पनि आयातीत सङ्क्रमितको सङ्ख्या ३० थियो । चालु आवको हालसम्ममा सङ्क्रमित पाँचजना छन् भने भारतबाट सङ्क्रमित भएर आएका १७ औलो सङ्क्रमित छन् ।

भारतसँगको खुला सिमानाका कारण आयातीत औलो सङ्क्रमण बढिरहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झूल वितरण गर्ने अभियान सञ्चालन गरेको जिल्ला औलो निरीक्षक सिद्धराज भट्टले जानकारी दिए । जिल्लामा औलोको उच्च जोखिम रहेको क्षेत्र भीमदत्त नगरपालिका–१ र कृष्णपुर नगरपालिका–५ लगायतका क्षेत्रमा विषादी छर्किएको उनले बताए ।

“मध्यम जोखिम भएका क्षेत्रमा झूल वितरण गरेका छौँ”, भट्टले भने, “सरकारको योजनाअनुसार २०२५ सम्ममा जिल्लालाई मलेरिया शून्यमा झार्ने लक्ष्यअनुसार काम भइरहेको छ ।” उनले जिल्लामा भारत तथा अन्य ठाउँबाट आउनेमा बढीजसो औलोको सङ्क्रकमण देखिने गरेको बताए ।

महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले औलोबाट बच्नका लागि झूलको प्रयोग गर्ने र शरीर ढाक्ने कपडा लगाउनुपर्नेमा जोड दिए ।
“औलोबाट बच्न सरसफाइमा विशेष ध्यान दिनुपर्छ र घर वरपरका खाल्डाखुल्डी पुर्ने औलो उन्मूलनका उपाय हुन्”, उनले भने, “महाकाली अस्पतालमा आउने औलो सङ्क्रमितलाई निःशुल्क उपचार गराइराखेका छौँ ।” कञ्चनपुरमा हाल प्लाज्मोडियम विवक्स र प्लाज्मोडियम फाल्सिपेरम जातका बिरामी देखापरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बिरामीलाई औषधि छैन, उपकरण बिग्रियो भन्नेलाई अब कारबाही हुन्छः स्वास्थ्यमन्त्री पौडेल

  भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कुनै पनि सरकारी अस्पतालका फार्मेसीले

नेपाल औषधि लिमिटेडलाई अन्तर्राष्ट्रिय मान्यताको जिएमपी प्रमाणपत्र

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल औषधि उत्पादन अभ्यास

सुत्केरी र गर्भवतीका लागि ‘आफैँ पाल्दै, आफैँ खाँदै’ कार्यक्रम

भोजपुर । भोजपुर जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको