हुम्ला अस्पतालमा औषधि अभाव



सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ ।

अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले बताए । “जिल्ला अस्पतालको औषधि स्टोर कक्ष तीन महिनादेखि रित्तै छ । प्रदेश सरकारले खरिद प्रक्रियामा ढिलाइ गर्दा औषधि अभाव भएको हो”, उनले भने ।

प्रमुख सिंहका अनुसार उपचार गर्न आउने अधिकांश बिरामी औषधि नपाएर रित्तै फर्किने गरेका छन् । सिमकोट र नाम्खा गाउँपालिकास्थित स्वास्थ्य चौकीबाट सापटी मागेर बिरामीको उपचार गर्नु परेको उनको भनाइ छ ।

प्रदेश सरकारलाई औषधि अभावबारे पटक–पटक जानकारी गराएको भए पनि हालसम्म सुनुवाइन नभएको प्रमुख सिंहले बताए । दुई–तीन पटक मन्त्रालयमा गएर यसबारे जानकारी गराउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ । पन्ध्र शय्याको जिल्ला अस्पतालमा यसबाट बिरामी मारमा परेका छन् ।

सापट मागेर बिरामीको उपचार

केही दिनअघि विष सेवन गरेका सिमकोट गाउँपालिका–१ का वीर भण्डारीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइयो । औषधि अभावका कारण सामान्य उपचार गरी नेपालगञ्ज पठाइएको अस्पतालले जनाएको छ ।

अस्पतालमा अभाव भएपछि बिरामीले निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता रहेको खार्पुनाथ गाउँपालिका–४ का प्रजित रोकायाले बताए । यस्तै श्रीमतीको उपचार गर्न जिल्ला अस्पताल आउनुभएका सर्केगाड गाउँपालिका–२ का मनसिंह कार्की पनि निजी क्लिनिकबाट महँगोमा औषधि किन्नु परेको बताउँछन् ।

रुघाखोकीका बिरामी बढ्दै

जिल्ला अस्पतालमा रुघाखोकी र श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मौसममा एक्कासी आएको परिवर्तनका कारण बिरामी दैनिक बढिरहेका अस्पतालका सिनियर अनमी सरीता बोहराले बताइन् ।

“दैनिक ८० देखि ९० सम्म बिरामी उपचारका लागि आउने गरेका छन् । जटिल प्रकृतिका बिमारीलाई भर्ना गरेर राख्नुपर्ने भए पनि शय्याको अभाव हुन थालेको छ”, उनले भनिन् । सङ्ख्या बढेपछि भुुइँमा राखेर बिरामीको उपचार गर्नुपरिरहेको बोहराले बताइन् ।

प्रदेश सरकारबाट उपलब्ध १० लाख बराबरको औषधि दुई महिनाभन्दा बढी समयलाई नपुग्ने अस्पतालका स्टोरकिपर मनिकृष्ण जैसीले बताए । बजेट अभावका कारण औषधि खरिद गर्न नसकिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधनको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा

स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम

एकसय तीन प्रकारका एन्टीबायोटिक औषधि प्रयोगमा रोक

काठमाडौँ  । सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न

पाल्पाका दुई स्वास्थ्य चौकीलाई एम्बुलेन्स

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाले नागरिकको सुविधाका लागि दुई वटा एम्बुलेन्स खरिद गरी