प्रधानसेनापति थापाद्वारा नवनिर्मित प्रसूति केन्द्र गाउँपालिकालाई हस्तान्तरण
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सैनिक श्रीमती सङ्घका अध्यक्ष दीपा थापाले मकवानपुरको कैलाश गाउँपालिका–८ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन गाउँपालिकाकालाई हस्तान्तरण गरेका छन् ।
सैनिक श्रीमती सङ्घद्वारा निर्माण गरिएको उक्त भवन बुधबार आयोजित समारोहमा गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रसूति केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका आमा तथा नवजात शिशुको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउने बताउँदै प्रधानसेनापति थापाले संविधानप्रदत्त महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यसम्बन्धी हकको सम्मान र संरक्षणका लागि सरकारले लिएका पहलमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा स्थानीय विपन्न घरपरिवारलाई राहतस्वरुप ५०० थान मण्डिसमेत वितरण गरिएको थियो ।