शब्दको गलत प्रयोग ‘भ्रुणहत्या’
डा. अरुणा उप्रेती
तीन वर्षअघि नेपालगञ्ज मेडिकल कलेजमै कार्यरत एक कर्मचारीले भनिन्, ‘मेरो जेठो छोरी भएपछि दोस्रो गर्भ रहँदा छोरी हो भने फालेर आउन भनियो, घर परिवारका मानिसले दबाब दिएपछि म पनि भिडिओ एक्सरे गराउन अस्पतालमा पुगें।
चार महिनाको गर्भ रहिसकेकोले मलाई गर्भपतन गराउन पिर त लागेको थियो। तर के गर्नु परिवारलाई छोरा नभई नहुने। म कमाउने र पढेलेखको भएपनि विवश थिएँ गर्भपतन गराउन, यदि भ्रुण छोरी भएको भए। धन्य मेरो छोरा नै रहेछ। खुसी मानेर घर फर्कें।’
‘तर कानुन अनुसार त भिडिओ एक्सरे गरेपछि छोरा कि छोरी भनेर भन्न पाइन्न नि’ मैले भन्दा ती कर्मचारीले भनिन्, ‘खोइ कानुनमा के छ थाहा छैन। भिडिओ एक्सरे गर्ने सबै ठाउँमा त डाक्टरले भनि हाल्छन् नि। कसले गएर हेर्छ र? कसले कानुन पढ्छ।’
उनको कुरा सुनेर मलाई नमज्जा चाहिँ लाग्यो। हामीले गर्भपतनको कानुन ल्याउने लडाइँ लड्ने प्रमुख कारण थियो, नेपाली महिलाहरूको मातृ मृत्यृ दर घटोस्,असुरक्षित गर्भपतनले उनीहरू जीवन भए बिरामी भएर बस्न नपरोस् तर अहिले त यसरी विज्ञान प्रविधिको दुरुपयोग गरेर समाजमा छोरी भ्रुणलाई, गर्भपतन गरिँदै छ।
यसले गर्दा पछि त समाजमा महिलाहरूको संख्या कम भएर सामाजिक विचलन पनि आउन सक्छ। जसरी भारतका केही ठाउँमा यस्तो अवस्था पञ्जाब, हरियाणमा देखिएको छ
यो एउटा सामाजिक समस्या हो यसमा केही शंका नै छैन। तर यसरी गर्भपतन गराउने गर्भपतनलाई ‘स्त्री हत्या’ ‘बालहत्या’ र ‘भ्रुण हत्या’ भनेर जसरी सञ्चार माध्यममा आइरहन्छ त्यसले गर्दा गर्भपतनको अधिकार महिलालाई दिनु नै गलत थियो कि भन्ने मानसिकता बढ्दै गइरहेको छ।
गर्भपतनलाई ‘हत्या’ सँग जोडिनु चाहिँ अति नै गलत हो।
यसले त नेपाली महिलाहरूले पाएको अधिकारको नै अवमूल्यन गरिरहेको अवस्था सृजना भएको छ।
‘गर्भपतनको अधिकार पाएकोले नै छोरीलाई मार्ने चलन’ बढ्न गएको हो भन्ने जस्ता नकारात्मक सन्देश जान्छन्।
कर्णाली अञ्चलका र तराई, महिलाहरू गर्भजाँच गराउन नेपालगञ्ज आउँछन् र छोरी भए त्यहीँ गर्भपतन गरेर जान्छन्।
‘यहाँ एउटा अस्पताल छ, महिलाहरूलाई भिडिओ एक्सरे गरेपछि बच्चाको स्वास्थ्य कस्तो छ भनेर देखाउँछ भनेर गर्भ जाँच गराउँछन्। छोरी छ भने राख्ने कि फाल्ने भनि सोधिन्छ। यदि ‘फाल्ने’ अर्थात् गर्भपतन गर्नुपर्ने भए त्यहीँ नै गरिन्छ।” some one said
अहिले पनि तपाईं त्यस अस्पतालमा हेर्न जानु भयो भने १५/२० जना महिला पालो कुरिरहेका होलान्’, नेपालगञ्जमा एक स्त्रीरोग विशेषज्ञले भनेकी थिइन्,‘सरकारले गर्भपतनको कानुन बनाएपछि त गाउँघरका महिलाहरूलाई झन् सजिलो भएको छ गर्भपतन गराउन नेपालगञ्ज त कर्णाली र सुदूर पश्चिमको लागि त केन्द्र नै भएको छ।’ विकासमा अन्य पक्ष जस्तो शिक्षा, सडक सामाजिक चेतना आदिमा कर्णाली जति पछि परे पनि महिलाहरूलाई अपहेलना र शोषण गर्ने काममा चाहिँ निकै नै माथि छ। त्यसैले गर्दा टेलिफोन र बाटो नपुगेको ठाउँबाट समेत भ्रुणको लिंग पत्ता लगाई गर्भपतन गराउन आउँछन्
भ्रुणहत्या भने शब्द प्रयोग गर्दा महिलाहरूले कानुनी गर्भपतन गरेको पनि ‘हत्या’ हो भन्ने जस्तो भान हुन्छ त्यसैले आम सञ्चार माध्यमले भ्रुणहत्या र गर्भपतनलाई एउटै शब्द जस्तै गरेर प्रयोगमा ल्याउनु हुँदैन।
यसरी लिंग पहिचान गरी गर्भपतन गराउने कार्यको विरूद्ध सामाजिक चेतना जगाउनु पर्छ, गर्भपतनको अधिकार नै हटाउने मानसिकता त्याग्नुपर्छ।