माग सम्बोधन नभए ग्यास बिक्री बन्द गर्ने उद्योगीको चेतावनी
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको हो।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले नेपालमा विस्फोटक ऐन कानून र नियमन निकाय नहुँदा भारतको ऐन नियमअनुसार भारतबाटै ईजाजत लिई उद्योग सञ्चालन गर्नुपरेको र नेपाली ढुवानी साधन नहुँदा बार्षिक खर्बौं रुपैयाँ विदेशिएको बताए ।
उनले एकतर्फी ढंगबाट लगानीको सरक्षणको सट्टा निरुत्साहित गर्ने सरकारको रणनीति रही रहेमा उद्योग संचालनलाई निरन्तरता दिन नसक्ने बताए । संघले माघ ३० गते बुधबारदेखि देशभरका ५९ वटै एलपी ग्यास उद्योगहरूले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (पीडीओ) खरिद नगर्ने नगराउने उनले बताए ।
उनले फागुण १ गतेदेखि ५ गतेसम्म सबै ग्याँस उद्योगहरूले बिरोधका कार्यक्रमहरूबारे स्थानीय सबै संघ संस्था सञ्चार माध्यमहरूमार्फत र केन्द्रमा नेपाल एलपी ग्यास उद्योग संघले प्रचारप्रसार गर्ने बताए ।
उनले फाल्गुण १२ गते सोमवारदेखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्यास बुलेटहरू कुनैपनि भन्सार नाकाबाट नछुटाउने चेतावनी दिए । अध्यक्ष घिमिरेले माग सम्बोधन नभए फागुन १८ गतेदेखि ग्यास उद्योग अनिश्चितकालिन बन्द गर्ने घोषणा गरेका छन् ।