भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट र कर्मचारीको तजबिजी अधिकार कटौती गर्न अर्थ समितिलाई निजी क्षेत्रको सुझाव



काठमाडौं।  निजी क्षेत्रले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउन सुझाव दिएको छ।

संसदको अर्थ समितिमा आइतबार  ‘भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथिको छलफलका क्रममा निजी क्षेत्रका सरोकारवालाले भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार कटौती गर्नुपर्नेलगायतका सुझाव दिएका छन्।

समितिले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससँग उक्त विधेयकमाथि छलफल गरेको हो।

त्यस अवसरमा निजी क्षेत्रका प्रतिनिधिले वस्तुहरुको क्वारेन्टिन तथा गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार पारिनुपर्ने, धरौटी रकम घटाउनु आवश्यक रहेकामा जोड दिए।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सूचना प्रविधि र विद्युत् व्यापारको विषयलाई विधेयकले समेट्न नसेकको बताए।

‘प्रस्तावित विधेयकमा सफ्टवेयर निर्यातको विषयमा केही व्यवस्था गरिएको छैन। त्यस्तै विद्युतको व्यापार भन्सारको दायरामा आउने वा नआउने भन्ने विषय स्पष्ट पारिएको छैन’, अध्यक्ष अग्रवालले भने त्यस्तै, भन्सार जाँचपास प्रक्रियामा कुनै विवाद आएमा त्यसको निरुपणका लागि प्रशासकीय पुनरावलोकनका लागि अलग्गै न्यायिक निकायको स्थापना गरिनुपर्नेमा परिसंघले जोड दिएको छ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपक श्रेष्ठले भन्सार र कर कार्यालयलाई राजस्व उठाउने लक्ष्य दिँदा त्यसको असर व्यवसायीले भोग्नुपरेको बताए। त्यस्तै, भन्सार जाँचपासका क्रममा प्रयोग हुने सन्दर्भ मूल्य पुस्तिका खारेज गरिनुपर्ने र ‘हार्मनाइज्ड कोड’ अनुसार वस्तुको वर्गीकरणलाई व्यवस्थित गरिनुपर्ने उनले सुझाव दिए।

नेपाल उद्योग वाणिज्य महासंघले भन्सार जाँचपासका क्रममा भन्सार कार्यालयले गरेको नमुना परीक्षण उपर चित्त नबुझेमा अन्य निकायबाट पनि चेकजाँच गर्न पाउने व्यवस्था गर्न सुझाव दिएको छ।

भन्सार जाँचपासका क्रममा कुनै वस्तुमाथि भन्सार अधिकृतलाई शंका लागेर त्यस्तो वस्तुको जाँच गर्दा ५० प्रतिशत धरौटी राख्नुपर्ने विद्यमान व्यवस्थालाई संशोधन गरेर २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था आवश्यक रहेको महासंघको भनाइ थियो।

न्यून वा अधिक बिजकीकरण गर्दा हाल शतप्रतिशत जरिवाना लाग्ने व्यवस्थालाई संशोधन गरेर ५० प्रतिशतमा झार्न पनि महासंघले सुझाव दिएको छ।

भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको ‘क्योटो’ महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेकाले सरकारले उक्त विधेयक ल्याएको हो। नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो।

यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधानहरु सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ।

त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरु भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’

काठमाडौँ। स‌वैधानिक आयोगका पदाधिकारीहरूले आरक्षणमा ‘हुने खानेलाई भन्दा हुँदा खाने’ लाई समेट्नुपर्ने बताएका

पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले पछिल्लो पाँच वर्षमा रु

सरकारलाई सहयोग गर्न मैले किन पत्र लेखें ?

सुमना श्रेष्ठ । साथीहरू कुनै भ्रममा नपर्नुहोला । आफ्नाले जे गरे पनि ठिक

उर्जामन्त्रीले गठन गरेको समितिमाथि प्रश्न उठाउँदै कुलमानले दिए नौ बुँदे स्पष्टीकरणको यस्तो जवाफ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ