रोजगार बचतपत्र किन्न आएनन् लगानीकर्ता



काठमाडौँ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको नागरिक बचतपत्र शतप्रतिशत बिक्री हुन लाग्दा पनि वैदेशिक रोजगार बचतपत्रमा भने अझै लगानीकर्ताको चासो न्यून देखिएको छ।

गत मंसिर १२ गते जारी भएको  दुई अर्ब बराबरको ‘नागरिक बचतपत्र–२०८६ (क) कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार बुधबारसम्म एक अर्ब ९० करोड हाराहारीमा खरिदका लागि आवेदन परिसकेको छ। यही पुस १४ गतेसम्म बिक्री खुला रहेको नागरिक बचतपत्र सो समय अगावै पूर्ण बिक्री भएर बन्द हुने अवस्था देखिएको उनको भनाइ छ। ‘यसअघि न्यून बिक्री हुने नागरिक बचतपत्रमा अहिले लगानीकर्ताको निकै चासो देखियो,’ उनले भने।

नागरिक बचतपत्रको उच्च माग देखिए पनि त्यसभन्दा बढी ब्याज पाइने वैदेशिक रोजगार बचतपत्र भने निकै कममात्र बिक्री भएको छ। ‘वैदेशिक रोजगार बचतपत्रमा करिब  ८५ लाखको मात्रै आवेदन परेको छ। नागरिकमा वित्तीय साक्षरता र पहुँच कमजोर भएर बचतपत्र बारे जानकारी नहुँदा न्यून बिक्रीको अवस्था नआएको हुनसक्छ,’ सूचना अधिकारी पोखरेल भन्छन्।

कार्यालयले गत मंसिर १२ गतेबाट रू. दुई अर्ब बराबरको नागरिक बचतपत्र–२०८६ (क) र रू. ५० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र–२०८६ (क) निष्कासन गरेको थियो। यी दुवै पाँच वर्ष अवधिका बचतपत्र हुन्। नागरिक बचतपत्रभन्दा वैदेशिक रोजगार बचतपत्रको ब्याज बढी छ। नागरिक बचतपत्रमा साढे सात र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज तोकिएको छ।

पहिलो आवेदन दिनेले पहिले खरिद गर्न पाउने बचतपत्रको ब्याज प्रत्येक छ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुने कार्यालयले जनाएको छ। घटिमा रू. १० हजार र बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई रू. १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बचतपत्र खरिद गर्न सकिन्छ। यी दुवै बचतपत्रको बिक्री यही पुस १४ गतेसम्म खुला छ।

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा निकै आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन। लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। जबकी लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’को चर्चा भने अत्यन्त कम छ।

बैंकको मुद्दती निक्षेपभन्दा बढी ब्याज दिने बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो। तर, यसको प्रचार–प्रसारको अभाव, प्रक्रियागत जटिलता, र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन।

बचतपत्र पूर्णरूपमा सुरक्षित लगानी हो। किनकि, यसमा सरकारले मूलधनको ‘ग्यारेन्टी’ गरेको हुन्छ। साथै, बचतपत्रको ब्याज रकम हरेक छ महिनामा खरिदकर्ताको बैंक खातामा सिधै जम्मा हुन्छ। यसलाई धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिन्छ। दोस्रो बजारमा सहजै कारोबार हुने तथा बचतपत्र धारकले जुनसुकै बेला बेच्न चाहेको बखत बैंक तथा वित्तीय संस्थाले किन्नुपर्ने बाध्यात्मक व्यवस्था छ। बचतपत्रलाई तत्काल तरलतामा रूपान्तरण गर्न सकिन्छ। अर्थात् आफुले खरिद गरेको बचतपत्र चाहेको समयमा तत्कालै बेच्न सकिन्छ।

नेपालमा वित्तीय साक्षरताको कमी नै बचतपत्रप्रति कम आकर्षण हुनुको मुख्य कारण हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सञ्चालन गर्ने डोम्स (डिओएमएस) प्रणाली र इन्भेस्टर पोर्टलमार्फत सहजै कारोबार गर्न सकिने भए पनि धेरैजसो नागरिकलाई यी माध्यमको प्रयोगबारे प्रस्ट जानकारी छैन। आम नागरिकले आफ्नो बचतलाई सुरक्षितरूपमा परिचालन गर्न सकिने साधनका रूपमा बचतपत्रलाई बुझ्न सकेका छैनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढुक्क भएर लगानी गर्न उद्योगी व्यवसायीलाई उर्जामन्त्री खड्काको आग्रह

लुम्बिनी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा अब राजनीतिक स्थिरता कायम

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न दक्षिण कोरियामा रहेका नेपालीलाई उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई

विद्युत प्राधिकरण सञ्चालकमा पराजुली र केसी नियुक्त

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा बलबहादुर पराजुली र लक्ष्मण केसी नियुक्त

शेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले घटेको छ । बुधबार