सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेशसभामा प्रस्तुत



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारबराबरको बजेट सोमबार प्रदेशसभामार्फत सार्वजनिक गरेको छ ।

प्रदेशसभाको आजको दोस्रो बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारले चालु आवमा लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

चालु आवका लागि कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार र वित्तीय व्यवस्थापनतर्फ १ करोड बजेट विनियोजन गरिएको छ ।

चालु आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम ९ अर्ब ९९ करोड ९९ लाख, सङ्घीय रोयल्टी बाँडफाँटबापत प्राप्त हुने रकम ४ करोड ४ लाख ५५ हजार रहेको छ ।

नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७२ करोड २७ लाख, आर्थिक वर्ष २०८०/८१ को विनियोजनबाट बचत हुने अनुमानित रकम ६ अर्ब १५ करोड ८३ लाख ५८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने ३ अर्ब १३ करोड ३४ लाख, सङ्घीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको १ अर्ब ४२ करोड र विशेष अनुदानबापत ५५ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यसअघि आर्थिक मामिलामन्त्री थापाले ११ असार २०८१ मा प्रस्तुत गरेको प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत गरिएको ‘सुदूरपश्चिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेकय २०८१’ र ‘बजेटसँग सम्बन्धित विनियोजन विधेयक २०८१’ लाई फिर्ता लिनेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको थियो ।

अघिल्लो सरकारको पालामा पारित भइसकेको नीति कार्यक्रमलाई आधार मानेर सरकारले यो बजेट ल्याएको हो । गत असार १ गते तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता दीर्घबहादुर सोडारीको सरकारले ल्याएको बजेटमा समान्य हेरफेर एवं परिमार्जन गरेर अर्को बजेट प्रस्तुत गरिएको हो ।

तत्कालीन सरकारले पनि चालु आवका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो । सत्ता समीकरण फेरिएसँगै नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित नभई अलपत्र परेको थियो ।

बजेट पारित नहुँदा १ साउनदेखि सरकारको राजस्व सङ्कलन र खर्च गर्नेलगायतका कामहरू ठप्प थिए । नेपाली कांग्रेसका नेता कमलबहादुर शाहको नेतृत्वमा गठन भएको नयाँ सरकारले अध्यादेश ल्याएर राजस्व सङ्कलन कार्य सुचारु गरेको भए पनि बजेट शून्यताको अवस्था भने यथावत् थियो ।

यसअघि आजको पहिलो बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रदेशसभा सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

त्यसक्रममा सभामुखको अनुमतिमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावलले चालु आवका लागि १ असारमा बजेट प्रस्तुत गरिसकिएको र आज पुनःबजेट प्रस्तुत गर्ने काम संविधान र कानुनविपरीत भएकाले आफूलाई स्वीकार्य नहुने भन्दै विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले २० मिनेटका लागि बैठक स्थगित गरे ।

दोस्रो बैठक प्रारम्भ हुनासाथ पनि प्रतिपक्षी सदस्यले आआफ्नो आसनबाट उठेर विरोध जनाएपछि सभामुखले आफ्नो भनाइ राख्न प्रतिपक्षीलाई समय दिए ।

त्यसपछि धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामीले संविधान र ऐनले तोकिदिएको समयमा बजेट ल्याउनुपर्नेमा त्यसविपरीत बजेट ल्याइएको भन्दै विरोध गरे । त्यसपछि प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सदस्य सदस्यहरू सदनको कारबाही अगाडि नबढाउने मागसहित नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएका थिए ।

आजै बसेको तेस्रो बैठकमा आर्थिक मामिलामन्त्री थापाले प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) को प्रति, उक्त बजेटसँग सम्बन्धित विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ लाई सभासमक्ष टेबुल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई महिनामा काँकरभिट्टाबाट  आठ करोड ९९ लाखको मालवस्तु बङ्गलादेश निर्यात

  भद्रपुर (झापा) । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट 

एसियाली १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्थाको सम्मेलन नेपालमा

काठमाडौँ  । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुको भेला नेपालमा

नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने

  काठमाडौँ । पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना

विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौँ ।  विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने