कानुन बनाएर समस्यालाई सम्बोधन गर्नुको साटो तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्नु दुर्भाग्य हो



नारायण गाउँले ।
के तपाईंले पनि पछिल्ला दिनहरूमा एनसेलको गुणस्तर खस्किएको महसुस गर्नुभएको छ ? मोबाइलमा फोरजी सिग्नल देखिने तर केही एमबीको भिडियो समेत डाउनलोड नहुने समस्या भोग्नुभएको छ ? दुःखद के छ भने यसमा सुधारको सम्भावना न्यून छ । यसमा झट्ट हेर्दा एनसेलकै कमजोरी देखिन्छ । तर मुख्य कमजोरी हाम्रो अस्पष्ट अनि अस्थायी नीति, पार्टी र नेताहरूको कमिशनखोरी र विकास हुँदै गरेको अव्यावसायिक मनोविज्ञानको हो भन्ने बुझ्नुभएको छ ?

प्रतिस्पर्धा नभएको या अति कम भएको ठाउँमा टेलिकममा गरिने लगानी विश्वभर ’प्रोफिटेबल’ या आकर्षक देखिने गरेको छ । नेपालमा पनि नेपाल टेलिकमको एकछत्र बजारनियन्त्रण रहेको अवस्थामा एनसेल भित्रिएको थियो । धेरै प्रतिस्पर्धा नभएकाले यो व्यवसाय नापÞmामूलक बन्यो र धेरैको धेरै थरी नजर यसमा पर्यो ।

एनसेल आएपछि कल र डेटामा उपभोक्ताले तिर्ने मूल्य उल्लेख्य रूपले घट्यो तर जम्मा दुई प्रतिस्पर्धी भएको, त्यसैमा पनि एउटा सरकारी भएको र अन्यलाई यो क्षेत्रमा पस्न नदिइएकाले नाफामा  ठूलो ‘कम्प्रोमाइज’ गर्न परेन । नेपालकै ठूलो व्यापारिक घराना मानिने चौधरी ग्रुपले निकै कोसिसका बाबजुद लाइसेन्स नपाएको तपाईंलाई थाहा नै होला । निःशुल्क लाइसेन्स दिएर लगानी बढाउने, उच्च प्रतिस्पर्धा कायम गर्ने र उपभोक्ता मूल्य आफै घट्ने वातावरण बनाउनुपर्नेमा उल्टो पैसा तिरेर पनि लाइसेन्स नदिने, यही क्षेत्रमा काम गरिरहेका युटिएल लगायतका विदेशी लगानीलाई अनेक कानुनी झन्झट तेर्स्याएर धपाउने काम भयो । नेपालमा लाइसेन्स नपाएपछि चौधरी ग्रुप विदेशी बजारमा गएको पढ्नुभएको होला ।

प्रतिस्पर्धा भएको ठाउँमा टेलिकम कम्पनीहरूको नाफा विश्वभर घट्दो छ । कति त डुबेका पनि छन् । कुनै बेला भारतको सबैभन्दा ठूलोमध्येको एक रिलायन्स मोबाइल डुबेको घटना याद नै होला । टिक्नका लागि गुणस्तर बढाउनुपर्ने, नयाँ नयाँ फिचर थप्नुपर्ने र मूल्य घटाउनुपर्ने अवस्था प्रतिस्पर्धाले ल्याउने हो । दुर्भाग्य, नेपालमा प्रतिस्पर्धालाई निषेध गर्ने काम राज्य आफैले गर्ने गरेको छ । आम जनताले पनि बिजनेश गर्न आउनेहरू लुट्न आउने हुन् भन्ने धारणा पालेका छन् र तिनले लाइसेन्स नपाएकोमा खुशी छन् । भलै त्यसको मार जनता आफैले बेहोर्दै आएका छन् ।

एनसेलबारे नै कुरा गरौँ । हामीसँग कानुनी स्पष्टता छैन । अबको पाँच–छ वर्षपछि एनसेलको भविष्य के हुन्छ भन्ने कसैलाई थाहा छैन । २०५३ को ऐन अनुसार सुरुमा लाइसेन्स पच्चीस वर्षका लागि दिइएको थियो । उक्त ऐनमा ५० प्रतिशतभन्दा बढ़ी विदेशी लगानी भए २५ वर्षपछि त्यो कम्पनी सरकारीकरण हुने कानुनी व्यवस्था रहेछ । नेपाली लगानीकर्ता भएचाहिँ नवीकरण हुन सक्ने रहेछ ।

‘खर्बौं’ मूल्यको भनिएको एनसेलमाथि सबैको नजर छ । कम्पनीसँग ऋण पनि छ, भौतिक पूर्वाधार पनि छ । उपभोक्ता पनि छन् । तर कम्पनीको वास्तविक मूल्य कति हो भन्ने दुविधा छ । अहिले नेपालबाट बाहिरिन चाहेको मलेशियन कम्पनीको स्वामित्वमा छ एनसेल । एनसेलले पब्लिक शेयर जारी गर्दै नेपाली लगानीको अंश ५० प्रतिशत पुर्याएर भविष्य सुनिश्चित गर्न खोजेको रहेछ । त्यसलाई पनि कानुनले रोकिदियो । विकल्प भनेको कम्पनी बेच्नु रह्यो । त्यसमा पनि हामीले रोक लगाएको अवस्था छ । कालान्तरमा नेपाली लगानीकर्ताहरू आकर्षित होउन् र कम्तिमा पचास प्रतिशत नेपाली लगानी होस् भनेर यो कानुन बनेको हो या विदेशी लगानी सरकारी कब्जामा जाओस् भनेर त्यस्तो कानुन बनेको हो, थाहा छैन ।

आलु चिप्स बनाउने फ्याक्ट्री खोलेजस्तो होइन टेलिकम क्षेत्र । यसमा निरन्तर ’क्यापिटल इन्जेक्ट’ गर्नुपर्ने हुन्छ । प्रविधि र पूर्वाधार दुबै यति गतिशील र परिवर्तनशील हुन्छन् कि एउटामा लगानी गरिनसक्दै त्यो पुरानो र मूल्यहीन बन्ने डर हुन्छ । एकपल्ट पूँजी लगानी गरे पुग्ने व्यवसाय होइन यो ।

अबको पाँच वर्षमा के हुन्छ भन्ने थाहा नभएपछि कसैले पनि थप पूँजी लगाउँदैन । म या तपाईं भए पनि लगाउनुहुन्न । पाँच वर्षमा लगाएको पूँजी उठ्छ भन्ने ग्यारेन्टी पनि छैन । विश्व फाइभ जीको प्रविधिमा छ । हामीकहाँ अझै टु जी चल्छ । शहरमा फोर जी त छ तर गुणस्तर छैन । अबको पाँच वर्षमा टु जीका बीटीएस टावर र प्रविधि सम्पत्ति होइन, हटाउने ‘दायित्व’ अर्थात् ‘लायबिलिटी’ बन्न सक्छन् । फाइभ जी निकै खर्चिलो छ । भविष्य सुनिश्चित नभएसम्म यस्तो खर्चिलो क्षेत्रमा कसले पैसा लगाउँछ र ? अब यसरी बाटो सहज गरिदिन्छौं, ढुक्क भएर व्यवसायलाई अघि बढाउनुहोस् भन्न पनि हामी सक्दैनौं ।

नेपालमा प्रतिस्पर्धा छैन । हुन दिएका छैनौं । सरकारी टेलिकमको प्रविधि नवीकरण एकदम सुस्त छ । खरीदमा अनेक भ्रष्टाचार र झमेला छन् । फाइभ जी चलाउन अर्को कम्पनी छैन । त्यसैले एनसेल पुरानै प्रविधिले पनि पाँच वर्ष धानिएला । तर यो पाँच वर्ष हामी गुणस्तरहीन सेवा लिन बाध्य हुनेछौं । एनसेलले नवीकरण नगरेपछि नेपाल टेलिकमले पनि प्रविधिमा युद्धस्तरमा खर्च गर्ने कुरो भएन । जरूरी नै भएन । अबको पाँच वर्षमा एनसेल खर्बौंको होइन, अरबौं रुपियाँ ऋण भएको र अर्थहीन प्रविधि भएको मृत कम्पनी बन्न पनि सक्छ । भएको एउटा प्रतिस्पर्धी पनि हटेपछि देशमा टेलिकमको विकास, गुणस्तर र सुलभतामा कस्तो असर पर्छ भन्ने हामीलाई खास मतलबको कुरो भएन ।

छिटो छानबिन, अध्ययन, निष्कर्ष र समयमा एउटा निकास दिन सके, अलि टाढाको सोच्न सके, वैदेशिक लगानीहरू आकर्षित हुने सन्देशतिर ध्यान दिन सके र स्पष्ट कानुन बनाउन सके त्यसको फाइदा देश र जनतालाई नै हुँदो हो । तर हामी कानुन बनाउनु र समस्यालाई सम्बोधन गर्नभन्दा तारे होटलमा लगानी सम्मेलन गरेर भाषण गर्न सजिलो मान्छौं । वर्षभरमा जम्मा एउटा कानुन बनाउने सांसद पनि सुशासन र प्रगतिको भाषण गर्छ । हामी यस्तै छौं !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको

मन्त्रीको व्यक्तिगत इच्छामा वा निकटताका आधारमा कसैलाई प्रोत्साहन गर्न र कसैलाई कमजोर बनाउन करका दरमा हेरफेर हुँदैन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत् आवश्यकता र औचित्यका

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

  काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेशका सांसद अभिराम शर्मा निलम्बित