चितवनमा होटल मजदूरलाई संरचना निर्माणमा लगाइने



चितवन । बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।

प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो । नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ ।

यससँगै तलाउ माथिबाट राप्तीको ढिकमा जाने गरी काठको पुल राखिने छ । भिजिटर सेन्टरमा आकर्षक बगैँचा बनाइने छ । सोही ठाउँमा सार्वजनिक शौचालय, बस्ने ठाउँलगायतका निर्माणका काम हुने छन् ।

उनले भने, “बेरोजगार रहेका मजदूरलाई काम दिइने छ भने सौराहा किनार आकर्षक बन्ने छ ।” प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमबाट ९० लाख र पर्यटन बोर्डबाट ६० लाख बजेट निकासा भएको छ । यो रकममध्ये ७५ प्रतिशत मजदूरका लागि काम गरेबापत भुक्तानी गरिने छ । सो क्षेत्रमा रहेको सङ्ग्रहालयलाई पनि स्तरीय बनाइने छ ।

नगरप्रमुख वनका अनुसार एक व्यक्तिले दैनिक एक हजार ज्याला पाउने छन् । मजदूरले गर्ने काम बढी हुने गरी योजना बनाइएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराईका अनुसार सौराहाका होटल तथा रेष्टुराँमा पाँच हजार ५०० मजदूरले काम गर्दछन् । कोभिडसँगै न्यून मजदूरले काम पाएका छन् भने अधिकांश बिदामा रहेका छन् ।

यस संरचनामा काम गर्न सक्ने मजदूर मात्र एक हजारभन्दा बढी छन् । सङ्घले आह्वान गरेको सूचनामा हालसम्म ५०० ले काम गर्न इच्छा व्यक्त गर्दै नाम टिपाएका छन् । यसका लागि होटलले सिफारिस गर्नुपर्ने हुन्छ । उनले भने, “हाम्रो पहलका कारण धेरथोर सहयोग मजदूरलाई हुँदैछ ।” यससँगै राप्ती किनार पर्यटकका लागि अकर्षक बन्ने छ ।

भिजिटर सेन्टरसँगै बन्न लागेको तलाउमा उद्धार गरिएका गोहीलाई छाडिने छ । त्यहाँ माछा पनि राखिने भएको हुँदा यसले पर्यटकलाई थप अकर्षित बनाउने उनको भनाइ छ । सौराहाको होटल जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले यसबाट बिदामा बस्न बाध्य भएका मजदूरलाई केही राहत हुने बताए ।

निषेधाज्ञासँगै होटल सञ्चालन हुन नसक्दा सञ्चालक र मजदूर दुवै मारमा परेको उहाँको भनाइ छ । पर्यटकीय क्षेत्र थप रमणीय बनाउँदै मजदूरलाई काम दिने गरी योजना बन्नुले सबैलाई ऊर्जा थपेको उनले जानकारी दिए ।

नगरपालिकाले भिजिटर सेन्टर नजिकै राप्तीको डिलमा १२० मिटर लामो पैदलमार्ग बनाइरहेको छ । राप्ती नदी किनारमा बसेर सूर्यास्थ र चितवन राष्ट्रिय निकुञ्जको रमणीय दृश्य हेर्न सकिने गरी पथ निर्माण गरिएको हो ।

त्यहाँबाट राप्ती नदीमा खेली रहेका गोहीसमेत देख्न सकिन्छ । सो पथमा ठूला ठूला तीनवटा ढुङ्गासमेत राखिएको छ । ती ढुङ्गामा संरक्षणका क्रममा ज्यान गुमाएका तल्लो तहका कर्मचारी र पर्यटनकर्मीको आकृति कुदिने छ । भुइँमा ढुङ्गा बिच्छ्याइँदै छ । छेउमा काठको रेलिङ रहने छ भने सो रेलिङमा जुटको डोरी बाँधिने छ । झण्डै रु ३१ लाखको लागतमा यो संरचना बनिरहेको नगर प्रमुख वनले जानकारी दिए ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको पर्यटन प्रवद्र्धनका लागि स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग नगरपालिकाले गरिरहेको उनले बताए । कोभिड घटेसँगै सौराहाका व्यवसायी उत्साहित भएका छन् । जङ्गल क्राउनका प्रमुख कार्यकारी अधिकृत सन्तोष गिरीले भने, “रुम बुकिङ्का लागि जानकारी लिनेको संख्या बढेको छ । हामी आशावादी छौँ सौराहा अब पूर्ववत् अवस्थामा फर्कने छ ।” सौराहामा १२० पर्यटकीय होटल र १०० हाराहारी रेष्टुराँ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकी डलरको मूल्य बढ्दा अरुको कति ?

  काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न ईयूलाई आग्रह

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले युरोपेली युनियन (ईयू) को

विद्युत् उत्पादनको लक्ष्य प्राप्त गर्न ६२ खर्ब लगानी आवश्यक पर्ने

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादनको

६ महिनाको मध्यपुरथिमि नगरपालिकाको आम्दानी १४ करोड

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४ करोडभन्दा बढी