आर्थिक सर्वेक्षणः नेपालीको प्रतिव्यक्ति आय ११९१ अमेरिकी डलर
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले चालु आर्थिक वर्षका लागि प्रक्षेपण गरिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै अर्थमन्त्री कोभिड–१९ कारण अर्थतन्त्रमा आएको सुस्तताले वृद्धिको लक्ष्य भेट्न मुस्किल भएको बताएका हुन् ।
केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ हुने बताएको थियो । उनले आर्थिक वृद्धिदरबाहेकका अर्थतन्त्रका अन्य परिसूचक भने सकारात्मक रहेको जानकारी दिए ।
यस्तै राष्ट्रिय आय एक हजार १९६ अमेरिकी डलर पुगेको समेत अर्थमन्त्री पौडेलले उल्लेख गरे। त्यसैगरी राष्ट्रिय खर्च योग्य आम्दानी एक हजार ४८६ डलर पुगेको छ । मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषण आप्रवाह ८.६ प्रतिशतले बढेको छ । आयात–निर्यातको अवस्था सन्तुलनमा रहेको छ ।
सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले निषेधाज्ञाअघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो भए पनि पछिल्लो दिनको कोरोनाको दोस्रो लहरका कारण समस्या पैदा भएको बताए । उनले भने, “चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षामा करीब पाँच प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौँ, तर कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगाउनुपर्दा अर्थतन्त्रमा सङ्कुचन आएको छ ।”
आर्थिक सर्वेक्षण २०७८मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलब ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११ सय ९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला बर्षहरुमा बस्तु तथा सेवाको औषत मुल्यस्तर बाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ ।