मिस्ट्रीखोलाको ४२ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्ट्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् बिहिबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

माउन्टेन इनर्जी नेपालले निर्माण गरेको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोलाले दाना सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा विद्युत् पठाएको हो । आयोजनाका आवासीय इञ्जिनियर दिवाकर खड्काले तीन वटै युनिटबाट उत्पादीत विद्युत् केन्द्रिय प्रणालीमा जोडिएको जानकारी दिए ।

“मिस्ट्रीखोलाबाट उत्पादीत विद्युत् सिम्क्रोनाइज गरेर केन्द्रिय प्रणालीमा जोडियो”,उनले भने, “परीक्षणका लागि आयोजनाका सबै युनिट सञ्चालन गरेका छौँ ।” परीक्षण उत्पादन र सवस्टेशनमा जोड्न नेपाल विद्युत् प्राधिकरणको प्राबिधिक टोली नारच्याङ आएको छ ।

नारच्याङको बेशीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रशारण लाइनको केही दिनअघि गरिएको परीक्षणसफल भएको थियो ।

परीक्षण उत्पादनको चरण दुई हप्ताको हुनेछ । पन्ध्र दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन शुरु गरिने आयोजना प्रमुख दिपककुमार शाहले बताए ।

यसअघि २०७७ चैत १५ देखि विद्युत् उत्पादन शुरु गर्ने तालिका बनाए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना सङ्क्रमित भएपछि करिब डेढ महिना पछाडी धकेलिएको हो ।

विसं २०७३ जेठ ३१ गतेदेखि निर्माण शुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ ।

बेशीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युतगृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाई, ८.५ मिटर चौडाई र १३ मिटर गहिराई भएको २ वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।

पाँच अर्ब ६४ करोडलागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रुपैयाँ रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो ।

प्रवद्र्धक बाहेक नेपाल ईन्भेष्टमेन्ट बैङ्कले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नविल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड ऋण लगानी रहेको छ ।

आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दाहरूलाई दश लाख कित्ता सेयर बाँडफाड गरिएको छ । साधारण सेयर पनि बाडफाँड भइसकेको छ ।

विद्युत विकास विभागले २०६४ मा जनेरेशन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रशारण लाइन र दाना सब स्टेशन बनाउन ढिलाई गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु भएको थियो ।

मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधिन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा–२ मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ ।

अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दुरीको २२० केभी क्षमताको विद्युत् प्रशारण लाइन गत माघमा निर्माण सकिएको थियो । माउन्टेन इनर्जीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत् उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेप्सेमा उच्च अंकको गिरावट

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको

उत्पादन वृद्धि र रोजगारी सृजना गर्ने बजेट ल्याउन अर्थमन्त्रीलाई माओवादीका विभाग प्रमुखहरुको सुझाव

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी

साउनदेखि चैतसम्ममा नेपालगंज नाकाबाट ७० करोडको जडिबुटी निकासी

नेपालगंज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा ७० करोडभन्दा

बागलुङको रायडाँडाका किसान रायोको साग बेचेर लखपति बन्दै

बागलुङ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार