बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिको टोली सातै प्रदेश जाने
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव संकलन गर्न संसदीय समितिका सदस्यहरुले सातै वटा प्रदेशको अध्ययन भ्रमण गर्ने भएका छन् । संसदको अर्थसमितिका सदस्यहरु आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने आयोजना र कार्यक्रबारे सरकारलाई सुझाव दिन सातै प्रदेशको भ्रमण गर्ने भएका हुन् ।
सोमबार बसेको समितिको बैठकले पूर्वअर्थमन्त्रहरु सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरी बजेटबारे अध्ययन गर्न पठाउने निर्णय गरेको हो । पाण्डे नेतृत्वको टोलीले प्रदेश १,२, वागमती र गण्डकी तथा कार्की नेतृत्वको टोली लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा जाने भएको छ ।
टोलीले सातै वटा प्रदेशमा प्रदेशस्तरका अर्थ समितिका प्रतिनिधि, अर्थ मन्त्रालयका प्रतिनिधि, संम्बन्धित क्षेत्रका जनप्रतिनिधि, निजी क्षेत्र, सहकारी क्षेत्रका प्रतिनीधि र विज्ञसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरेको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए ।