गुनासो नआउने गरी काम गर्न राष्ट्रिय किताबखानाका कर्मचारीलाई शिक्षामन्त्रीको निर्देशन
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गरेकी छन् ।
अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तिभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिएकी थिइन् ।
अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उनले सेवाको प्रभावकारिताबारे चासो राखेकी थिइन् । अनुगमनपश्चात मन्त्री भट्टराईले राष्ट्रिय किताबखानाको कामकाबारेमा बेलावेलामा गुनासाहरू सुनिइरहने हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिइन् ।
शिक्षकहरूले पेश गरेको सिटरोलको समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ती विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइन् ।
अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।