शिक्षकले विद्यार्थीलाई नमस्कार गर्दा …



तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयका शिक्षकले प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्दै स्वागत गर्न सुरुआत गरेका छन्।

विशेषतः हाम्रो समाज र संस्कारमा नमस्कार आफूभन्दा मान्यजनलाई गर्ने गरिन्छ। तर सो विद्यालयमा विद्यार्थीलाई गुरुले नमस्कार गरेर सम्मान वा स्नेह प्रकट गर्दै स्वागत गर्ने परम्परा थालेका हुन्।

विद्यार्थीलाई संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले यस्तो संस्कारको विकास गरिएको विद्यालय प्रशासनले जनाएको छ।

शिक्षक, अभिभावक, आफूभन्दा ठूला साना सबैले एक अर्कालाई सम्मान गर्नुपर्छ भन्ने भावना लोप हुन लागेकाले सिकाइका निम्ति प्रवेशद्वारमा बसेर विद्यार्थीलाई नमस्कार गर्न सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए।
‘यसबाट हामीभन्दा ठूला मान्छेले नै हामीलाई नमस्कार गर्नुहुन्छ। अब हामीले पनि आफूभन्दा ठूलालाई नमस्कार गर्नुपर्छ भन्ने ज्ञान विद्यार्थीले सिक्ने अपेक्षा हामीले गरेका छौँ,’ उनले भने।

यसबाट विद्यार्थीलाई नमस्कार गर्न बानी पार्ने र नमस्कार गर्नु एउटा शिष्टाचार हो भन्ने शिक्षा बुझाउन सजिलो भएको विद्यालय प्रशासनले जनाएको छ।

वार्षीक परीक्षामा विद्यार्थी पास भए पनि जीवनको परीक्षामा असफल भइरहेकाले संस्कारयुक्त शिक्षा प्रदान गर्न नमस्कार गर्ने वानीको विकास गराउन खोजिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि कोइरालाले बताए।

शिक्षकका अतिरिक्त व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरु पालो लगाएर हरेक दिन बिहान ९ः३० बजे नै विद्यालयको प्रवेशद्वारमा आएर नमस्कार गर्न खटिने गरेका छन्।

संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्छ भन्ने हेतुले शिक्षकले नै नमस्कार गरेर त्यसको सुरुआत गरेको सहायक प्रधानाध्यापक घनश्याम गौतमले बताए।

व्यवस्थापन समिति र शिक्षकको बैठकले निर्णय गरेरै नमस्कार अभियानको सुरुआत गरिएको पूर्वप्रधानाध्यापक तीर्थराज परियारले बताए।

सुरुमा सरहरुले नमस्कार गर्दा आफूलाई अप्ठ्यारो लागेको भए पनि हाल सहज लाग्न थालेको कक्षा ९ मा अध्ययन गर्ने प्रमिला ढुङ्गानाले बताइन्।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो नभएको गुनासोकाबीच विद्यार्थीलाई अनुशासनको परिधिभित्र बाँध्न अभियानले सघाउने विश्वास विद्यालय प्रशासनले गरेको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकसम्बन्धी प्रतिवेदन राष्ट्रियसभामा पेस

  काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी

  धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता

छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको