काष्ठपाटी कुँद्ने शिक्षक !
बझाङ । अहिलेको पुस्तालाई कुनै बेलामा खरीले समेत लेखिन्थ्योभन्दा अनौठो लाग्छ । तर त्यही पुस्ता हो जसले खरीले लेखेर नै उच्च शिक्षाको खुट्किलो पार गर्थे । त्यसैमध्येका एक हुन् लक्ष्मी आधारभूत विद्यालय छविसपाथिभेरामा कार्यरत पुष्पराज जोशी ।
मुलुकमा परिवर्तनसँगै शिक्षा क्षेत्रले फड्को मारेको छ । खरिपाटी, काष्ठपाटी, कालोपाटी अहिलेको पुस्तालाई धेरै पुराना भइसकेका छन् । डिजिटलको युगमा काष्ठपाटी सम्झिने कुरामात्रै भयो । त्यससँगै खरीपाटी पनि पुरानै । तर यो समयमा पनि विद्यालयमा नियमित काठ कुँदेरै अध्यापन गराइरहेका छन् पदमराज ।
मुलुकभरका अधिकांश विद्यालय पनि प्रविधिमैत्री हुँदैछन् । धेरैजसो विद्यालयमा प्रोजेक्टरको माध्यमबाट पढाइ हुन्छ । केही विद्यालयमा यसरी पढाइ हुन थालेको दशकभन्दा बढी भइसक्यो । तर पदमराज भने काठ कुँदेर सीप सिकाउँदै विद्यार्थीलाई ‘सिपालु’ बनाइरहेका छन् । उनको कलाशैलीले नै कतिपय विद्यार्थी निकै सिपालु भइसकेका छन् ।
बाल्यकालदेखि नै काठमा चित्र कोर्नेदेखि लेख्ने अभ्यास गरेका जोशीले अहिलेसम्म हजारभन्दा बढी काठ खोप्दै अक्षर लेखिसकेका छन् । बाजुराको ढम्कनेस्थित सरस्वती माविमा काम गर्दा उनलाई ‘सिपालु शिक्षक’ भन्दै विभिन्न संस्थाले देशभरि नै घुमाए । उनले आफ्नो सीप जुन–जुन ठाउँ जानुभयो, त्यो ठाउँमा सिकाउँदै पनि आए ।
२०५१ देखि सुरू गरिएको काष्ठपत्र
जोशीले शिक्षक पेशा सम्हालेको केही समयमै बाजुरामा काष्ठपाटी कुँद्न सुरू गरे । विसं २०५१ मा विद्यार्थीलाई पढाउन सुरू गरेको काष्ठपाटी विस्तारै बाजुरामा लोकप्रिय हुँदै गयो । जोशीले २०४८ मा १२ कक्षा पास गरी ढम्कनेबाट सरूवा भए । दहकोटमा प्रधानाध्यापक भएर गइसकेपछि उनलाई काष्ठ कुँद्न सहज भयो ।
उनले काठ कुँद्दा वरिपरि हेर्नेको घुइँचो नै लाग्थ्यो । कतिपय ठाउँमा अरू अभिभावकले पनि त्यो अभ्यास गरे । जोशीले भने निःशुल्क काठ पाएपछि तीन दशकसम्म काष्ठपाटी कुँदिरहे ।
सामान्य परिवारमा जन्मिएका पुष्पराज न्यायाधीश केशवराज जोशीको सहयोगीका रूपमा बाजुरा पुगेका थिए । बाजुरामा एसएलसी पास गरेको हुँदा न्यायाधीशसहित जिल्लाका जिम्मेवार व्यक्तिले उनलाई जागिर लगाए । मेहेनती पुष्पराजलाई बाजुराको माटोले धेरै ठाउँमा अघि बढ्ने मौका दियो ।
बाजुरामा प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीसहितको टोली अनुगमनमा आएपछि पुष्पराजले कुँदेका काष्ठपाटीहरू सार्वजनिक भएका हुन् । विद्यालयको भित्तामा लहरै टाँसेका पाटीले सबैको ध्यान खिच्दै गए ।
कला देखेर युनिसेफका दमन रूपाखेती र राधिका तुम्बाहाम्फेले धेरै ठाउँमा घुम्ने अवसर जुराए । शिक्षक पुष्पराजले मुलुकका ३०–४० जिल्लामै घुमेर आफ्नो सीप साट्ने अवसर पाए ।
उनलाई झापामा भ्रमणमा गएको बेला रूपाखेतीले नै सरसामग्री जुटाएर छिटो तस्वीर कोर्न सिकाएका थिए । त्यसपछि जोशीको काष्ठपाटी कुँदाइको गति बढ्दै गयो । जोशी रूपाखेतीलाई गुरू मान्छन् ।
बाजुरामा बस्दा जोशीलाई काठ खोप्न कहिल्यै समस्या भएन । तर पेन्टिङ गर्नलाई बाहिरबाट ल्याउनुपर्ने हुँदा अलि समस्या हुन्थ्यो । अहिले पनि पुष्पराज काष्ठमै लेखेर विद्यार्थीलाई पढाउने, कुँद्न सिकाउने गर्छन् । उनको त्यो उद्देश्य भनेको विद्यार्थीलाई पनि ‘सिपालु’ बनाउनु हो ।
“मलाई कुनै निकायबाट केही चाहिएको छैन । तर विद्यार्थीलाई स्वतन्त्ररूपमा हरेक विषयमा आफूले सिकेको सीप सिकाउन पाए त्यसैमा खुसी हुन्थेँ”, उनी भन्छन् ।
विसं २०७४ मा पुष्पराज बझाङ सरूवा भए । बझाङमा आफ्नो घरछेउकै विद्यालय काष्ठपाटीमैत्री बनाउने सोचमा थिए । तर स्थानीय सरकारले नै चासो नदिएपछि उनी निरास भए । अहिले लक्ष्मी आधारभूत विद्यालयमा हेर्दा उहाँले कुँदेका दर्जनौँ काष्ठपाटी रङरोगन गर्नै नपाएर थन्किएका छन् ।
“आफ्नै ठाउँका बालबालिकालाई पढाउन सुरूमा धेरै पाटीमा खोपियो”, उनी भन्छन्, “अहिले रङकै अभावले कुहिन लागेका छन् ।” जीवनको उत्तराद्र्धमा प्रवेश गरेका जोशी नमूना विद्यालय बनाउन चाहन्छन् । तर कुनै निकायबाट पनि सहयोग पाएका छैनन् ।
लक्ष्मी आधारभूत विद्यालयमा एक सय पाँच विद्यार्थीका लागि पाँच शिक्षक छन् । दुई स्थायी दरबन्दी, दुई राहत र एक इसिजी । पुष्पराजको दैनिक समय विद्यार्थी तथा शिक्षकलाई आफ्नो कला सिकाउने हो । कुँदेका काष्ठपार्टीमार्फत विद्यार्थीलाई पढाउने गर्छन् ।
बाजुरामा उनको कलाले स्वर्ण पदकसम्म पाएको थियो । बझाङमा खासै गतिलो प्रतिक्रिया नपाएको उनी बताउँछन् । उनको घरमा उनीजस्तै सिपालु सन्तति पनि छन् । उनको जेठो छोरा पारसले २०६० सालमा चित्रकलाबाटै सात लाख पुरस्कार जितेका थिए । परिवारका अन्य सदस्यले पनि काष्ठपाटीप्रति निकै चासो दिने गरेका जोशी बताउँछन् ।