एसइई राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय स्तरमै माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई सञ्चालन गर्ने भएको छ । सरकारले एसईईलाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको हो । प्रदेश सरकारसँग आवश्यक समन्वय गरी मन्त्रीपरिषदले विगत झैं राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन गर्ने निर्णय गरेको छ ।
एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन । मन्त्रिपरिषद्ले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ ।
सरकारले अधिकार प्रदान गरेपछि बोर्डलाई अगाडि बढ्न बाटो खुलेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए।