किन हुन्न कर्णालीकाबारेमा बालुटारदेखि खुमलटार या सानेपादेखि बुढानीलकण्ठसम्म बहस ?
नारायण गाउँले ।
हामीकहाँ राहत वितरणका नाममा दाल र चामल बाँड्ने परम्परा नै छ । मलाई चाहिँ ती तस्बीर देखेर मनमा धेरै प्रश्न आउँछन्,
-जोसँग साँझबिहान छाक टार्न सक्ने अवस्था पनि छैन र घरमा एक बोरा चामलसम्म छैन उसले एक त सदरमुकाम या वडा कार्यालयमा वितरण भइरहेको चामलबारे सूचना नै कसरी पाउला ? सूचना पायो या उसैको दैलोमा चामल पुग्यो रे ।
-खाने चामलसम्म घरमा नभएको गरिब पक्कै बिरामी पनि होला । अत्यावश्यक औषधि उसले कसरी र कहाँबाट किन्ला ? बिजुलीको बिलदेखि पकाउने इन्धन त चाहियो नै ।घरमा केटाकेटी पनि होलान्, अलिकति दूध र फलफूल पनि चाहिने होला । उसले लुगाफाटा कसरी जोडेको होला ? खेतीपाती गर्ने जग्गा नभएको भए तरकारी किन्न पनि पैसै चाहियो । जग्गा रहेछ भने पनि त्यति निर्धन र निमुखाले महँगो हुँदै गएको खनजोत, मलखाद र बिउबिजन कसरी जोड्ला ? उसले त्यो एक बोरा राहतको चामल सकिएपछि के गर्ला ? के खाला ? छोराछोरीलाई कस्तो सपना बाँड्ला ? तिनले पढ्ने महँगा किताबकापी कसरी जोडेको होला ? बच्चैदेखि पौष्टिक खाना र उचित पाठ्यसामग्री नपाएका ती बच्चाले भोलि कसरी समानताको नाममा लण्डन पढ्ने देउबा या अमेरिका पढ्ने जनार्दन शर्माका सन्तानसँग प्रतिष्पर्धा गर्लान् ?
बिजुलीको बिल त बिजुली बाल्नेको कथा भयो । हुम्ला, जुम्ला, मुगु, कालिकोटजस्ता विकट जिल्लामा हजारौँ गरिबका झोपड़ी छन् जहाँसम्म बिजुली र बिजुली बेचेर नेपाल धनी हुने खबर दुबै पुग्न बाँकी छ । अझ त्यसमाथि दलित समुदायका बस्ती छन्, जसको विरक्त लाग्दो अवस्था लेख्न होइन, सोच्दा पनि छातीमा ऐँठन हुन्छ । त्यहाँसम्म राहत बोकेर को जान्छ ? मन्त्री र सांसद त हेलिकप्टर चढेर जान्छन् तर सिटामल एकहप्ता खच्चड़ चढेर जाँदाजाँदै सदरमुकामतिरै हराउँछ । स्कुल छन् तर गणित र विज्ञान पढाउने शिक्षक छैनन् । स्वास्थ्यचौकी छन्, तर स्वास्थ्यकर्मी छैनन् । फ्रीमा बाँडिने औषधिको पैसा त निकासा भएको छ तर औषधि भने छैन ।
तिनको घरमा बिहे, व्रतबन्ध या चाडबाड़ कति रङ्गीन र कति बोझिलो होला भन्ने प्रश्न अलि टाढ़ाको कुरो भयो । पाठेघर खस्ने समस्याको उपचारसम्म पनि छैन । एउटा थोत्रो टालोले आङ् बाँधेर घाँसदाउरा गर्दा गर्दै कति आमाहरू बारीको कान्लामा सधैँका लागि निदाएका छन् । न सुरक्षित प्रसूतिको सुविधा छ न पौष्टिक खाद्यान्न । कति ज्यान त बर्सेनि झाड़ापखालाले लिन्छ । तर त्यो ज्यान गन्ने राज्यलाई तिनले देखेबुझेका छैनन् ।
हामीसँग सोमालिया या इथियोपियाको गरिबीको डेटा त छ तर आफ्नै कर्णालीमा विश्वकै डरलाग्दो बालमृत्युदर देखि कहालीलाग्दो औसत आयुबारे तथ्याङ्क छैन । काठमाडौंबाट चिल्लो सड़कमा गुडेर मुङ्लिङ् जाँदै गर्दा नदीमा तुहिनहरू देखिन्छन् र हामी तुहिन हटाउने योजना बनाउँछौं । तर ती विकट क्षेत्रमा यस्ता धेरै ठाउँ छन् जहाँ तुहिनसम्म भइदिएको भए पनि रोगीले समयमा सिटामल पाउन सक्थ्यो ।
सुनिन्छ, पहिले पहिले राजाहरू घोड़ा चढेर विकट जिल्लाहरूमा पुग्थे । गाउँमा मुखियाहरूलाई भेट्थे । मान्छेका समस्या सुन्थे । सुनेर समाधान त तिनले गरेनन् । तर आजका प्रधानमन्त्री या राष्ट्रपति कर्णालीभन्दा बढ़ी युरोप र अमेरिका पुग्छन् । हेलीकप्टरबाट खेतीबालीको निरीक्षण गर्छन् ।
अहिले तिनै सर्वहाराको मुक्तिको नारा बेचेर आएको सरकार छ । नाङ्गो आँखाले ती समस्या देखेका प्रचण्ड शक्तिमा छन् । त्यही ठाउँबाट तिनै निमुखाको मत पाएर धेरैपल्ट प्रधानमन्त्री भएका देउबा अहिले पनि मुख्य प्रतिपक्षी दलको नेताका रूपमा संवैधानिक परिषदमा छन् । तर राज्यका कुनै पनि सपना र योजना तिनलाई छोएर या केन्द्रमा राखेर बन्दैनन् । प्रशान्त महासागरमा नेपाली झण्डा बोकेर हिँड्ने पानी जहाज होस् या घरघरमा ग्यासको पाइप, तिनलाई हेरेर बनाइएको योजना होइन । अनलाइन पठनपाठनको योजनामा त ती पक्कै सोचबाहिरै होलान् । सरकारको सफलता देखाउन पर्दा पाँच वर्ष लगाएर चीनले बनाइदिएको रिंगरोडको एउटा खण्डको चिल्लो चित्र देखाइन्छ । विपक्षीले असफलता देखाउन पनि दरबारमार्गमा परेको खाल्डाखुल्डी या बढ़ीमा नागढुङ्गासम्मको जामलाई प्रयोग गर्छन् । मुगुसम्म को पुगोस् ?
भन्न नहुने हो तर सुदूर पश्चिम यति हेपिएको छ कि महाकाली पारि आएर पनि भारतमा मजदुरी गरेर पेट पाल्ने सयौं मान्छे घर आउन पाएनन् । आमा मर्दा दागबत्ती दिन देश छिर्न पाएनन् । जीवन जोखिममा राख्दै पौडेर महाकाली पार गर्नेलाई अपराधीझैँ नाङ्गै शहर परिक्रमा गराइयो । तर उदयपुर होस् या झापा, नाकाबन्दी भए पनि मान्छे आएकै छन् । मान्छे उठाउन भनेर महेश बस्नेतहरू काठमाडौं-तराई ओहोर-दोहोर गर्न पाएकै छन् ।
तर, बालुटारदेखि खुमलटार या सानेपादेखि बुढानीलकण्ठसम्म कहिल्यै यस्तो विषयमा बैठक बस्दैन । कसलाई लड़ाउने, कसलाई गुटमा ल्याउने, कसलाई फुटाउने, कसरी फेरि आफै अध्यक्ष बन्ने, कसरी विपक्षीलाई सिध्याउने या कसलाई कुन लाभको पद दिने भन्नेमैं आजसम्मका बैठक केन्द्रित छन् । के कहिल्यै
हामी बहस भने समाजवाददेखि पूँजीवादसम्म र नवउदारवाददेखि बनाना रिपब्लिकसम्मको गरिरहेकै छौं ।