‘सम्माननीय’ र ‘माननीय’हरुको पक्राउले होला त कानुनी शासनको आभास ?



काठमाडौं । विगतमा राजनीतिको उच्च ओहदामा रहेका व्यक्तिले कुनै कुकर्म गरेमा राजनीतिको आडमा उनीहरुले उन्मुक्ति पाउँदै आएका थिए । उनीहरुका कारणल कयौं पीडित न्यायका लागि भौतारिनु परेको अवस्था थियो ।

केही त न्यायको लागि न्यायालयको ढोका ढक्ढक्याउँदै गर्दा मारिएका घटना पनि छन् । तर पछिल्ला केही घटनाले भने सानालाई ऐन ठूलालाई चैन भन्ने नेपाली उक्तिलाई गलत साबित गर्न थालेको छ ।

कृष्णबहादुर महरा
संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले पनि हिरासतमा छन् । ताकि स्वास्थ्यमा समस्या आएको भन्दै उनी अस्पतालको सीसीयूमा रहेपनि उनी हिरासतमै छन् । उनलाई अदालतले थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । महरालाई दशैँको बेला प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेको थियो ।

मोहमद अफताब आलम
२०६४ चैत २७ गते रौतहटमा भएको हत्याकाण्डमा संलग्न रहेको आरोपमा नेपाली कांग्रेसका नेता एवं सांसद मोहमद अफताब आलमलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । आलम रौतहट क्षेत्र नम्वर २ बाट नेपाली कांग्रेसका सांसद हुन् । पक्राउ परेसँगै आलम संसदबाट निलम्बित भइसकेका छन् । पहिलो संविधानसभा चुनावको एक दिनअघि रौतहटको फरहदवामा भएको बम विष्फोटमा घाइते भएका १४ जनालाई उनको निर्देशनमा इँटा भट्टामा हालेर मारिएको आरोप उनीमाथि छ ।

प्रमोदकुमार साह
गतसाता जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)का सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गर्यो । साहलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषामा गैरसैनिक हवाइ उडान ऐेन अन्तर्गत मुद्दा दर्ता भएपछि साहलाई पक्राउ गरिएको हो । तर उनी शुक्रबार साधारण तारेखमा रिहा भएका छन् ।

रेशम चौधरी

फरार रहेकै बेला कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा राजपाबाट उम्मरेदवारी दिएर विजयी भएका चौधरी हाल डिल्लीबजार कागागारमा छन् । जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो ।

टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । घटनामा चौधरीलाई मुख्य अभियुक्तका रुपमा सरकारी वकिलको कार्यालय कैलालीले कर्तव्य ज्यान मुद्दा दायर गरेसँगै चौधरी फरार थिए । घटनालगत्तै फरार रहेका उनले २०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभा चुनावमा वारेसनामामार्फत उम्मेदवारी दिएर विजयी भएका थिए ।

सञ्जय साह
जनकपुरधाममा ५ जनाको ज्यान जाने गरी भएको बम काण्डमा पूर्व सांसद संजय साह (टकला) दोषी ठहर गर्दै जिल्ला अदालतले धनुषाले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले त्यही घटनामा संलग्न ७ जनालाई गएको चैत १४ गते जन्मकैदको फैसला सुनाएको हो ।

मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले जनकपुरको रामानन्दचोकमा धर्ना बसेको बेला २०६९ साल वैशाख १८ गते बम विस्फोट भएको थियो । जसमा रंगकर्मी रञ्जु झा, झंगरु मण्डल, विमलशरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दाससहित ५ जनाको ज्यान गएको थियो । यस्तै ३२ जना घाइते भएका थिए । सञ्जय साह पहिलो संविधान सभा र दोश्रो संविधानसभा चुनावमा धनुषाबाट निर्वाचित भएका थिए ।

पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट जितेका साह दोश्रो संविधानसभा चुनावमा तत्कालीन राजेन्द्र महतोको सद्भावना पार्टीबाट विजयी भएका थिए । पहिलो संविधानसभा चुनावमा जितेका बेला उनी राज्यमन्त्री समेत बनेका थिए । पछि बम काण्ड घटना भएपछि उनलाई मुख्य योजनाकारको आरोपमा पक्राउ गरी पूर्वपक्षका लागि थुनामा राखिएको थियो । उनीमाथि जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याको मुख्य योजनाकारको अभियोग पनि लागेको छ ।

नारदमुनि राना

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद नारदमुनि रानामाथि कूटनीतिक राहदानी दुरुपयोग गरेको र भ्रष्टाचार गरेको अभियोग सर्वाेच्च अदालतमा विचाराधीन छ । आफ्नो रातो पासपोर्ट निर्मल बानियाँलाई बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुनरावेदन गरेको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ ।

पहिलो संविधान सभामा सांसद रहेका रानाले पासपोर्ट बिक्री गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै काण्डमा उनीसहित ८ जना विरुद्ध दायर भएको मुद्दाको २०७२ साउन २६ गते फैसला भएको थियो । अन्य ७ जनालाई दोषी ठहर गरे पनि उनलाई भने सफाइ दिएको थियो । विशेषले यस्तै प्रकरणमा संविधानसभाका पूर्वसदस्य शिवपूजन राय यादव, विश्वनाथप्रसाद यादव र गायत्री साहलाई दोषी ठहर गरेको थियो । सर्वाेच्च अदालतले रानालाई दोषी ठहर गरेमा उनको सांसद पद गुम्ने छ ।

सभामुख जस्तो उच्च पदमा रहेका र पटक–पटक मन्त्री तथा सांसद बनेका व्यक्ति पक्राउ पर्नुले कानुन सबैलाई बराबरी हुन्छ भन्ने देखाएको छ । अपराध गर्ने जोकोहीले पनि उन्मुक्ति पाउन सक्दैन भन्ने सन्देश पछिल्लो घटनाक्रमले दिएको छ ।

विगतमा पहुँचकै भरमा उन्मुक्ति पाउँदै आएकाहरु धमाधम पक्राउ पर्न थाल्नुले हामीले ल्याएको व्यवस्थाले सबैलाई बराबर व्यवहार गर्दो रहेछ भन्ने विश्वास पैदा हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरको जहाज(फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ । बुधबार

रुसमा मानव तस्करी रोक्न सरकारी प्रयास असफल

नेपाली युवालाई अत्यन्तै घातक युद्ध लड्न रूसी सेनामा भर्ती गराउने पहिलो पंक्तिका मानव

सिकलसेल रोगप्रति सरकारले बेवास्ता गरिरहँदा यो रोगका बिरामीहरू बढ्दै

सिकलसेल रोगप्रति सरकारले निरन्तर बेवास्ता गरिरहँदा एकातिर यो रोगका बिरामीहरू बढ्दै छन्, अर्कोतिर

संसारकै ‘एक्लो भाले बिरुवा’को जोडी खोज्न एआईको प्रयोग

बीबीसी । संसारकै ‘सबैभन्दा एक्लो वनस्पति’ मानिएको भाले बिरुवाको पोथी खोज्न वैज्ञानिकहरूले आर्टिफिशल