सरकारमा जान एमालेलाई हतारो किन ?
सुबोधराज प्याकुरेल ।
एमालेले स्पष्ट वहुमत ल्याउने दावा गर्यो । अध्यक्षले चुनावको परिणामपछि आफ्नो यो दावाको रेकर्ड फेरि बजाउन पत्रकारलाई सुझाव पनि दिनुभयो र तथापि परिणामले एमालेलाई दोस्रो ठूलो दल बनाएको छ ।
जबजले भन्छ, बहुमतको सरकार–अल्पमतको प्रतिपक्ष । प्रतिपक्ष अर्थात् वैकल्पिक एजेण्डाको, जनपक्षीय एजेण्डाको नायक । तथा दोस्रो ठूलो दलका नाताले अरु सबै विपक्षीदलसँग संयोजन गर्नसक्ने प्रमुख प्रतिपक्षको भूमिका अब एमालेले निर्वाह गर्नसक्नुपर्ने छ । अबको ५ वर्षको अर्जुनदृष्टि त्यही हुनुपर्छ । संसद भित्र र बाहिरका सबै देशभक्त प्रगतिशील र जनवादी व्यक्ति र शक्तिसँगको सहकार्य अबको कार्यशैली हुनुपर्छ । पुष्पकमलले के निर्णय गर्छन्,कांग्रेस र अरु टालाटुलीले के भन्छन् ? जेसुकै भनुन् ।
ओलीले पार्टीको आन्तरिक प्रजातान्त्रिकरण र निरञ्जन नेतृत्व प्रणालीको लागि गर्नुभएको संघर्षको जगमा नेतृत्व पाउनु भएको हो । जननेता मदन भण्डारी भन्नुहुन्थ्यो, हामी सत्तामा हुँदा जनताको असल गोरु बनेर जोतिने छौँ । विपक्षमा हुँदा जनताको तर्फबाट वैकल्पिक कार्ययोजना सहित सत्ताको खबरदारी गर्नेछौँ ।
हतारको अर्थ छैन । किन हतारो ? एक पटकका माननीय सधैं माननीय । एयरपोर्टमा भिआईपी लाउञ्ज खुलै छ । एक पटकको मन्त्री सधै मन्त्री । आवतजावत मानमनितो घट्ने होइन । नेता बनाउने कार्यकर्ताको घेरा फराकिलो पार्नुस्, वैकल्पिक योजनाको विज्ञ बन्नुस्,जनताको दिनचर्याको साझेदार बन्नुस् ।
न हिजोको न आजको न भोलिको, न कांग्रेसले न माओवादीले न कुनै अरुले एमालेलाई नेतृत्व खुला मनले दिने हुन् । कोखामा दाँत लिएर पसेका प्रचण्डबाट नचेतेर अरु प्रचण्डहरुको खोजीमा मन डुलाउनु बेकार छ । नेतृत्व जनताको मनले दिनुपर्छ। जोडजाडले होइन । यदाकदा टालाटुलीको कुरा सार्वजनिक हुन्छ र मलाई दिक्दार लाग्छ ।