चित्त, सुख दुःख र टेक्नोलोजी



डा. गोविन्दशरण उपाध्याय ।

जतिजति टेक्नोलोजीको विकास हुँदैछ तेतितेतिनै सुखदुःखको परिभाषा पनि बदलिंदै छ । मात्रात्मक रुपमा सुख बलियो हुँदैछ कि दुःख मैले बुझ्न सकिरहेको छैन । मनोविज्ञानले आध्यात्मिकतालाई सर्वमुखी स्वास्थ्यको श्रेणीमा राखेपछि सुखदुःखको परिभाषा अझैं जटिल बनेको छ किनभने आधुनिक विज्ञानले अदृश्य “आध्यात्मिक अवस्था“को स्वीकृति दिनुको सिधा अर्थ हुन्छ सुखप्राप्ति र दुःख निवारणलाई केवल भौतिक अवस्थाका रूपमा बुझ्नु हुँदैन ।

मान्छेले जतिसुकै प्रयत्न गरे पनि नित्य आत्मा, स्वर्गनर्क, पापपुण्य, ईश्वरजस्ता विषयवस्तुलाई भावनात्मक रूपमा बुझाउने साधन धर्मनै हुन् । आ–आफ्नो संस्कृति र त्यसको परिवेशको सिकाई तथा बुझाइका आधारमा ईश्वर, आत्मा, स्वर्गनर्कजस्ता प्रत्ययहरू अभिनिर्मित भएका हुन्छन् । ती प्रत्ययहरूलाई सवल गर्न अनेकौं कथा, मिथक, घटना, परिवेश निर्माण भएका हुन्छन् । हजारौं वर्षदेखि निर्मित भएका यस्ता परिवेशहरूले संस्कृतिको निर्माण हुन्छ र संस्कृतिबाट सभ्यता निर्मित हुन्छन् । हरेक मान्छेले आफ्नो परिवेशमा आफ्नो निजत्व प्राप्त गर्छ र उसको यस्तो निजत्व नै उसको परिचय हुन्छ ।

गौरव, स्वाभिमान, देशभक्ति, निजत्व, देश, भाषा, संस्कृति, सभ्यता तथा धार्मिकता, मौलिकताआदि परिवेशकै सृजना हुन् । सही अर्थमा भन्ने हो भने मान्छेको “चित्त“को निर्माण पनि परिवेशबाट नै भएको हुन्छ । मलाई लाग्छ, मानवीय “चित्त“भित्र दुःख तथा सुखको परिभाषा निर्माण गर्न पनि परिवेशले ठूलो भूमिका वहन गरेको हुन्छ तर एउटा तत्थ्यचाहिं अकाट्य हो कि मान्छेले जसो गर्दा, जे गर्दा गौरव र सुखको अनुभूति गर्न सक्छ, त्यही कर्म उसले ग्रहण गर्छ । मैले धेरै व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा प्राप्त भइरहेका दुःखलाई पनि “गौरव“को आवरणमा सुखकै रूपमा ग्रहण गरिरहेको भेटेको छु, देखेको छु । उदाहरणका लागि गौरव, स्वाभिमान, देशभक्ति, मातृत्व, परिचय, धार्मिकताको रक्षाजस्ता क्रियाकलापमा मान्छेले आफुले भोगिरहेको दुःखलाई “गौरव“का खातिर सुखकै साक्षात्कार गर्छ ।

विश्वभरिका प्राचीन होस् वा आधुनिक “कथा“हरू प्रायजसो दुःख मुक्तिका लागि प्रयत्नमा आधारित भएको पढ्न सकिन्छ । वैदिक कथाका पात्रहरूले इन्द्र, विष्णु, रूद्र, उषाआदि पात्रहरूबाट दुःख मुक्ति प्राप्त गर्ने प्रयत्न गरिरहेको पढ्न सकिन्छ भने सोमरस, अन्नआदिको उपयोग गरेर सुखानुभूति गरिरहेको जान्न सकिन्छ । वैदिक, उपनिषदीय, पौराणिक पात्रहरूले सधैं उपलब्ध साधनहरूबाट सन्तुष्टी प्राप्त गरेको र ती साधनहरूको सुरक्षा तथा प्राप्तिका लागि देवदेवीहरूसंग प्रार्थना गरेको भेटिन्छ । आफै कमाएर, दानमा प्राप्त गरेर तथा युद्धमा जितेर ढुक्कसँग भौतिक साधनहरूको प्रयोग गर्ने अवसर प्राप्त हुँदा त्यो “अवसरको अन्तराल“मा मान्छेले “चित्त“को विषयमा चिन्तन गरेको हो । अवरोधरहित भौतिक साधनहरूको उपलब्धिले मान्छेलाई भौतिक बस्तुहरू भन्दा “पर“ जान्न उद्योग गरेको बुझ्नुपर्छ ।

उपनिषदले मान्छेले पहिलो अवस्थामा शरीरको रक्षा र सुखलाई सुनिश्चित गर्न चाहन्छ । शरीरनै सुरक्षित रहने भने पश्चगमन र अग्रगमन दूवै अवस्थाको अन्त्य हुन्छ । “अन्नमय“ अवस्थाले भौतिक सुरक्षा र स्थायित्व सुनिश्चित गर्छ । भौतिकरूपमा समस्याग्रस्त व्यक्तिको “चित्त“ले सुखानुभूति वा दुखानुभूतिको वारेमा चिन्तन गर्न सक्दैन । शरीरको सुरक्षाका लागि सङ्घर्ष गर्ने व्यक्तिसंग शरीरको रक्षा गर्नु वाहेक अन्य कुनै लक्ष हुँदैन । एकपटक समस्याबाट मुक्ति प्राप्त गर्दै “सुरक्षा चाखेको“ व्यक्तिले मात्र दुःखसुखको कुरा बुझ्न सक्छ र दुःख निवारण र सुखप्राप्तिको अर्थ बुझ्न सक्छ ।

आजको विश्व चरमरूपमा असमान छ । यो असमानता टेक्नोलोजीको विकास र प्रयोगले निम्तिएको हो । टेक्नोलोजीले विश्वको मानवीय समाजलाई “हुने खाने र “खानका लागि सङ्घर्ष गर्ने“ दुईवटा मूल श्रेणीमा विभाजित गरिदिएको छ । जोसँग टेक्नोलोजी छ उसका लागि “रोटी, कपडा, मकान“को प्राप्ति र यसको सुरक्षा अर्थपूर्ण छैन । टेक्नोलोजीको सहज उपलब्धता भएको समाजका लागि “रोटी, कपडा, मकान“ वारे चिन्तन गर्नु पर्ने कुनै आवश्यकता हुँदैन । अर्कोतिर एस्तो समाज छ, जसले टेक्नोलोजीका विषयमा बुझेको छ तर उसले तेसबाट प्राप्त हुने अवसरहरूलाई उपयोगको कुरा त ठाडै जाओस् “रोटी, कपडा, मकान“ प्राप्त गर्ने कुनै सम्भावना नै देख्दैन । “रोटी“का लागि रुन्मुलिएको व्यक्तिका लागि सुख र दुःखको निर्विकल्प अवस्था “रोटी“ नै हो ।

प्राचीनकालमा सुखी ती व्यक्ति वा समुदायहरू मानिन्थे जसले “रोटी, कपडा तथा मकान“को सुनिश्चितता प्राप्त गर्न सफल हुन्थे । प्राचीन समयमा रोटी, कपडा र मकानको मुकाम प्राप्त गरेका व्यक्तिहरूले भौतिक सुखको अन्तिम सुखानुभूति गर्न “सेक्स“को उपयोग गर्थे भने सेक्ससुखबाट जोगिएको समयमा धर्मकर्म गर्थे वा भविष्यका लागि “रोटी, कपडा मकान“ सुरक्षित गर्न सङ्घर्ष गर्थे र राजा, महाराजा, चक्रवर्ती सम्राटजस्ता उपाधिहरू ग्रहण गरेर सुखका साधनहरूको “प्रदर्शन“ गर्थे । तेसैले “राजाझैं सुखी“ भन्ने उखाननै निर्माण भयो । ती राजाहरू सुखी थिए तर उनीहरूको दुःख कस्तो थियो ? भन्न सकिन्न ।

आजको समयमा रोटी, कपडा, मकान, शिक्षा, स्वास्थ्य तथा स्वतन्त्रता“को निर्वाध उपयोग गर्न सक्ने व्यक्तिलाई सफल र सुखी मानिन्छ । यी साधनहरूमा पहुँचको आधार “धन“को अधिक्यता हो । तर के धेरै धनि मान्छे सुखी हुन्छ ? यो प्रश्नको उत्तर सजिलो छैन । यदि धेरै पैसा हुने मान्छे सुखी हुँदो हो त उनीहरूले सुखप्राप्तिका लागि कुनै पनि काम गर्दैनथे । यसबाट एउटा तत्थ्यचाहिं सिद्ध हुन्छ कि दुःख नहुँदा पनि सुखप्राप्तिको उद्योग रोकिने रहेनछ । मान्छेहरू झन् “धेरै“ सुखानुभूति गर्न चाहन्छन् त्यसैले सुखप्राप्तिको उद्योग गरिनै रहन्छन् । जतिजति टेक्नोलोजीको विकास हुँदैछ त्यतिनै धेरै व्यक्तिहरूले प्राकृतिक माध्यमबाटमात्र होइन यन्त्रहरूको प्रयोग गरेर समेत अधिकतम सुखानुभूति गर्ने प्रयत्न गरिरहेका छन् ।

चित्तले दुःख र सुखको अनुभूति गर्छ तर टेक्नोलोजीको विकास र प्रयोगले गर्दा “चित्त“को आधारभूत स्वरूपमा पनि फरक परेको छ । प्राचीन चित्तहरूको संरचनामा प्राकृतिक आवश्यता पूर्ति हुँदा र त्यसमा अवरोध हुँदा सुख र दुःखको प्राप्ति हुन्थ्यो भने टेक्नोलोजीको उयोगिता बढेसँगै टेक्नोलोजीको प्रयोग गरेर प्राप्त हुने सुख (सन्तुष्टि)ले चित्तको वृत्तिमा फरक परेको छ । टेक्नोलोजीको प्रयोगबाट उपलब्ध हुने सुखका लागि चित्तले प्राकृतिक सुखका मात्रहरूलाई विर्संदै जानुपर्ने छ । कालान्तरमा, मान्छेको चित्तले “प्राकृतिक साधनको प्रयोग र उपयोगबाट उत्पन्न हुने सुखदुःख“का अनुभूतिहरूलाई इतिहासमा रुपान्तरित गर्नुपर्ने छ । परम्परागत चित्तको विनिर्मितिमा टेक्नोलोजीको निर्भरता बढ्ने सुनिश्चित छ । क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध वृत्तिहरूले बनेको चित्तमा मन मिसिएपछि बनेको चित्त अन्ततः यन्त्रकेन्द्रीत अनुभूतिको वाहक बन्ने सम्भावना छ ।
–स्वस्तिअस्तु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसदको बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न प्रमुख

कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

पार्टीभित्र गुटबन्दी नगर्न नेता कार्यकर्तालाई ओलीको चेतावनी

कृष्णनगर (कपिलवस्तु) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्तालाई इमान्दार भई