किन्तु परन्तुतिर नलागी बालेनले ‘सरी’ भनेर सच्याउनु जरूरी देखिन्छ



नारायण गाउँले ।

ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनले लगभग तीन वर्षे कार्यकालमा संसदमा दर्जनौं पटक ‘सरी’ भनेको सुनियो । गर्छु भनेर गर्न नसकेका काममा, ब्रिटिश कानुन र मूल्यमान्यताले उचित नठहऱ्याएका काममा र मिडियादेखि आमजनतासम्म आलोचना भएका सरकारी निर्णयमा उनले आत्मालोचना गर्दै माफी मागे ।

दर्जनौं पल्ट मागिएको माफी कुनै ठूलो स्क्याण्डल, आर्थिक अनियमितता, भ्रष्टाचार या गम्भीर राष्ट्रिय अहितकारी निर्णयका कारण थिएन । हाम्रा लागि सामान्य जस्तो लाग्ने र मुद्दासमेत नबन्ने विषयमा उनले माफी माग्नुपर्यो । कोभिड़ कालमा उनको सरकारले विश्वकै उदाहरणीय कामहरू गर्यो । भ्याक्सिनको रिसर्च र उत्पादनमा सबैभन्दा छिटो काम थाल्नेदेखि स्वीकृतिसम्म बेलायत अग्रणी रह्यो ।

लकडाउनका कारण जनजीवन, कार्यालय, उद्योग र बिजनेश प्रभावित भए तर दुई वर्षसम्म निजीदेखि स्वरोजगारमा रहेका सबै कामदारलाई सरकारले घरमैं बसी बसी तलब दियो । साना र मझौला व्यवसायीले कर छुटदेखि अनुदान र निर्ब्याजी ऋण पाए ।

तर लकडाउनको बेला उनले आफ्नै निवासको करेसाबारीमा ‘सोसल डिस्ट्यान्सिंग’को नियम उल्लङ्घन गर्दै कर्मचारीहरूसँग ‘पार्टी’ गरेका कारण उनको आलोचना भयो । पहिले कानुन उल्लङ्घन नगरेको जिकिर गरेका उनले पछि संसदमा र सार्वजनिक रूपमा बारम्बार माफी माग्नुपर्यो । एउटा चरित्रहीन मान्छेलाई नियुक्ति दिएको विषयले त उनलाई माफी मागेर मात्रै पुगेन, अन्ततः राजीनामा नै दिनुपर्यो ।
नेतृत्व या जनप्रतिनिधिले गल्ती नै नगर्ने भन्ने हुँदैन । सङ्गत, आफ्नो ब्याकग्राउण्ड, विचार, परिस्थिति र दबाबका कारण विभिन्न अनुपयुक्त निर्णयहरू हुन सक्छन् । तर, ती निर्णयहरू माथि व्यापक जनगुनासो आयो भने तिनले ‘ईगो’को बुई नचढी माफी माग्ने र अगाडि बढ्ने हो । यो एउटा सिकाइको अवसर पनि हो ।

मेयरका रूपमा बालेनले गरेको शालिक बनाउने निर्णय अलोकप्रिय देखियो । भएको गाड़ी नचढी दुई करोड़को नयाँ गाड़ी मगाउने थुप्रै जनप्रतिनिधि देखिएको छ । भोट ब्याङ्ककै लागि दुई करोड़ बढ़ीका भ्यूटावरका योजना बनाउने शासक छन् । सगरमाथा चढ्ने नाममा होस् या सर्प पाल्ने नाममा, राज्यकोषको व्यक्तिगत दोहन पनि हामीले समर्थन गरेकै छौं । एउटा ठेक्कामा सत्तरी करोड़को त कमिशन नै माग्ने शासक देखिएको छ । बालेनले पारदर्शी रूपमा १५ लाख एउटा शालिकलाई छुट्याउँदा ठूलै भार थपिएको भन्ने होइन । उनले बिग्रेर थन्किएको भनिएका ब्रुमरदेखि अन्य उपकरणलाई पारदर्शी रूपमा मर्मत गरेर पनि करोडौ बचाएका हुन सक्छन् । अनि अर्को मानवीय कमजोरी के हो भने हामी आफ्नो धर्म, देश,जाति, सम्प्रदाय या क्षेत्रलाई अन्यभन्दा विशेष र उच्च ठान्छौं । बालेनका लागि ऱ्यापको मूल्य र महत्त्व पक्कै हामीलाई भन्दा ठूलो हुन्छ । उनलाई यो शालिकको निर्णय स्वाभाविक हुन सक्छ ।

तर, व्यापक रूपमा आलोचना भएपछि र धेरैले मन नपराएको स्पष्ट देखिएपछि किन्तु परन्तुतिर नलागी बालेनले ‘सरी’ भनेर सच्याउनु जरूरी देखिन्छ । उनमा पक्कै राजनैतिक परिपक्वताको कमी देखिए जस्तो लाग्छ तर नियतमैं खोट देखाउने या सबै थोक बिग्रिए जस्तो गर्नु जरूरी छैन । काम गर्नेले बिराउँदा थुप्रै पल्ट माफी माग्नुपर्ने हुन सक्छ । यस्ता कमजोरी र गल्तीबाट पाठ सिकेर आगामी निर्णयहरू परिपक्व बन्दै जाऊन् भन्ने कामना गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुलुकको अवस्थाकाबारेमा पूर्वराजाले दिएको अभिव्यक्ति सदनले सुन्नुपर्छः गौतम

काठमाडौं । राष्ट्रियसभाका सदस्य वामदेव गौतमले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर निर्वाचनमा भाग

सरकारप्रति विश्वास र भरोसा नरहेकाले प्रधानमन्त्रीलाई राजीनामा दिन सांसद सापकोटाको सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।

व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने

पूर्वराजालाई कांग्रेस सांसदको चुनौतीः यदि सत्तामा फर्किने हो भने ८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्नुस

काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्वाचनमा भाग लिएर