रैथाने समावेशीकरणको सिद्धान्तः पांचायन



डा. गोविन्दशरण उपाध्याय ।
वैदिक नित्यकर्म अन्तर्गत पांचायन देव–देवताको आराधना गरिन्छ । यी पाँच देवदेवताहरूमा विष्णु, शिव, गणेश, दुर्गा र सूर्य पर्छन् । यी पाँच देवदेवीले वैदिक सनातन धर्मका पाँचवटा प्रमुख सम्प्रदायहरूको प्रतिनिधित्व गर्छन् । वैष्णवहरूले विष्णु, शैवहरूले शिव, गाणपत्यहरूले गणेश र सौर्यहरूले सूर्यको आराधना गर्छन् । अहिले सम्पूर्ण वैदिक सम्प्रदायहरू उपरोक्त पाँच प्रमुख देवदेवीकै अवतार, उपअवतार, अंश अवतारको उपासनामा केन्द्रीय भएर विभिन्न उपसम्प्रदायमा विभाजित छन् ।

पांचायनको उपासना सम्पूर्ण वैदिक सम्प्रदायहरूका लागि अनिवार्य छ तर अहिलेको हिन्दू समाजले पांचायनको मूल आराधनाको दैनिकी लगभग विर्सिसकेको अवस्था छ । नेपालका गाउँगाउँमा भने आज पनि पांचायन पूजाको पद्धति जीवित छ । कर्मकाण्डी ब्राह्मण, दैनिक शालीग्रामको सेवा गर्ने अन्य समुदायहरूले आंशिकरुपमा यो परम्परा निरन्तर रूपमा जीवनको अनिवार्यकर्मका रूपमा मान्दै आउनुनै भएको छ ।

पाँचवटा देवीदेवताको संयुक्त आराधना पद्धतिमा उपासक/उपासिकाले आ–आफ्ना इष्टदेवतालाई केन्द्रमा राखेर अन्य देवी–देवतालाई सहायकका रूपमा आराधना गर्छन् । यो आराधना पद्धतिलाई यसरी बुझ्न सकिन्छ । पहिलोः शाक्त अर्थात् शक्तिका उपासकहरूले भगवती दुर्गा अर्थात् पार्वतीलाई केन्द्रमा राखेर अन्य देवता अर्थात् सूर्य, गणेश, विष्णु र शिवलाई सहयोगीका रूपमा आराधना गर्छन् । शाक्तहरूका लागि देवी दुर्गानै शिव, विष्णु, गणेश तथा सूर्यको उत्पत्तिकर्ता हुन्छन् । चारवटै देवीदेवताले भगवती दुर्गालाई सृष्टि, पालन तथा संहारका कार्यमा सहयोग गर्छन् । देवी शुक्त र देवी अर्थवमा यो तत्थ्य प्रष्टसँग उल्लेख भएको छ ।

दोश्रो, शैवहरूले शिवलाई प्रमुख देवताका रूपमा उपासना गर्छन् भने दुर्गा, विष्णु, गणेश तथा सूर्य भगवान् शिवका सहयोगीका रूपमा विश्व ब्रह्माण्डको सृष्टि, पालन तथा संहार गर्न सहयोग गर्छन् । यी चारै देवी–देवता भगवान् शिवको आदेशमा काम गर्छन् तर शक्तिका तहमा यी सबै समान नै हुन्छन् । भगवान् शिव नै विश्वब्रह्माण्डका उत्पत्ति, पालन र संहारका प्रमुख कारण हुनुहुन्छ भन्ने मान्यताका साथ विश्वका हरेक प्राणीले आफूलाई पशु र शिवलाई पतिका भावमा उपासना गरेर मोक्ष प्राप्त हुन्छ भन्ने शैवहरूको मान्यता हुन्छ ।

तेस्रो विष्णुलाई केन्द्रमा राखेर शिव, गणेश, सुर्य तथा दुर्गालाई सहायकका रूपमा उपासना गर्नेहरू वैष्णव हुन्छन् । विष्णु पांचायनको आराधना गर्नेहरूका लागि भगवान् विष्णुनै परमब्रह्म हुन् । उनीबाट नै यो संसारको उत्पति, पालन र संहार हुन्छ । शिव, गणेश, सुर्य तथा दुर्गा देवदेवीले भगवान् विष्णुको आदेशअनुसार संसारको भौतिक, मानसिक र आध्यात्मिक दायित्व परिपालन गर्छन् ।

चौथो, सूर्यलाई केन्द्रमा राखेर शिव, गणेश, विष्णु तथा दुर्गा यी चार देवदेवीलाई सूर्यका सहायकका रूपमा आराधना गर्ने पद्धितलाई “सूर्य–पंचायन” भनिन्छ । आजभोलि सौर्यहरूको छुट्टै सम्प्रदाय अस्तित्वमा छैन तर शाक्त, शैव तथा वैष्णव सम्प्रदायभित्रनै सूर्योपासना समावेश भएको छ । असलमा सौर्यहरूले परमब्रहमका रूपमा भगवान सूर्यलाई आराधना गर्दै शिव, गणेश, विष्णु तथा दुर्गालाई सूर्यका सहयोगी शक्तिका रूपमा आराधना गर्थे । आज सौर्य सम्प्रदायको छुट्टै अस्तित्व नभए पनि “छठ”मा गरिने सूर्य आराधनामा सनातनीहरूको ठूलो उपस्थिति देखेर सौर्य–सम्प्रदायको अनुमान गर्न मिल्छ ।

पाँचौं, गणेशलाई केन्द्रविन्दूमा राखेर शिव, विष्णु, सुर्य तथा दुर्गालाई सहायकका रूपमा आराधना गर्ने प्राचीन सम्प्रदायलाई गाणपत्य अर्थात् गणेशको उपासक भन्न सकिन्छ । आजको मितिमा गणेश उपासक सम्प्रदायहरूको भौतिक अस्तित्व भेटिन्न तर सनातनीहरूले हरेक कर्मको आरम्भ गर्नु भन्दा पहिला गणेशको आराधना गर्छन् । यसबाट गणेशको व्याप्ति थाहा हुन्छ । गणेश अथर्व शूक्तका अनुसार श्रीगणेशनै आदि ब्रहम हुन् । उनीबाट नै सम्पूर्ण सृष्टिको आरम्भ हुन्छ, पालन हुन्छ र उनकै आदेशअनुसार शिवले महाकाल बनेर विश्वब्रह्माण्डको विनाश गर्छन् । अन्य देवदेवीले गणेशको इच्छानुसार आफ्नो दायित्व पूर्ण गर्छन् ।

उपरोक्त पान्चायन पद्धतिले वैदिक सनातनीहरूको स्वाभाविक समावेशीपनको सिद्धान्तलाई व्याबहारिक रूपमा प्रस्तुत गर्छ । हामीले बुझ्नुपर्छ कि वैदिक सम्प्रदायमा दीक्षित हरेक व्यक्ति आफ्नो इष्टदेव÷देवीलाई सर्वश्रेष्ठ मानेर उपासना गर्छ र अन्य चारदेवदेवीहरूलाई आफ्ना इष्टदेवको सहायकका रूपमा प्रस्तुत गर्छ । यसो गर्दा देवीका उपासकले विष्णुका उपासकलाई, विष्णुका उपासकले शिवका उपासकलाई, शिवका उपासकले शक्तिका उपासकलाई, सूर्यका उपासकले शिवका उपासकलाई र गणेशका उपासकले विष्णुका उपासकलाई स्वाभाविक रूपमा आदर गर्छ, सम्मान गर्छ र सो सम्प्रदायको गुरुशिष्य परम्पराअनुसार नै सम्वन्धित सम्प्रदायका अनुयायीले आफ्नो दायित्व पालन गरिरहेको छ भनेर सम्मान गर्छ ।

वैदिककालदेखिनै आफ्नो आराध्य देवदेवीलाई सर्वश्रेष्ठ इष्टका रूपमा आराधना गरे पनि अर्कोका इष्टदेवलाई सक्दो सम्मान दिने परम्पराले सम्पूर्ण वैदिक संस्कृति र सभ्यताको मनोविज्ञान विकसित भएको बुझ्नुपर्छ । किनभने जैन, बौद्ध तथा शिखहरूहरू पनि वैदिक सभ्यताअन्तर्गत विकसित भएका सम्प्रदाय हुन् तर यी सम्प्रदायमा पनि आफ्नो भन्दा फरकमत राख्ने, उपासना गर्नेप्रति पूर्ण सम्मान व्यक्त गरिन्छ । एकेश्वरवादीको (यहुदी, इसाई र मुस्लिम)प्रभाव नपर्दासम्म बौद्ध तथा जैनहरूले पनि सनातनिहरूका सिद्धान्तहरूको विनम्रतापूर्वक खण्डन गरेर आफ्नो मतको पक्ष पोषण गर्थे । आज आफ्नो प्राकृतिक समावेशी चरित्र त्यागेर हिन्दू, जैन तथा बौद्धहरू एकेश्वरवादीहरूको चिन्तनका दिशामा अग्रसर हुँदैछन् ।

वैदिकहरूले प्राचीनकालदेखिनै स्वीकार गर्दै र पालन गर्दै आएको प्राकृतिक समावेसीवादको सिद्धान्तबाट विश्वले धेरै सामाजिक रुपान्तरण र सहअस्तित्वका प्रस्थानविन्दु तय गर्न सक्छ । उदाहरणका लागि अहिले केही मतिभ्रष्ट भएका राजनैतिक नेता र विदेशी चिन्तनले जरा गाडेका विज्ञहरूले “समावेशी समाज”को सृजना गर्न विदेशीहरूको मदत प्राप्त गरिरहेका छन् । किनभने पश्चिमा इतिहासमा सधैं एकेश्वारवादले रजाई गरेको हुँदा अर्काको अस्तित्व स्वीकार गर्ने कुनै पनि प्रकारको मनोविज्ञान भेटिन्न । त्यसैले होला, पश्चिमा पोषित समावेशीवादको कार्यान्वन गर्दा सधैं र जहासुकै समाज समावेशी गुणले भरिनु भन्दा अझैं एकल र टुक्रिएको मात्र भेटिन्छ । नेपाली समाजमा पश्चिमा प्रतिमानको समावेशीवाद (जुन उनीहरूको जिनमै छैन) आरोपित गर्न खोज्दा समाज जसरी टुक्रिएको छ, त्यसको इतिहासले ठूलै क्षतिपूर्ति तिनुपर्ने देखिन्छ ।

समावेशीवादको आरम्भ ऋग्वेदबाट नै भएको हो भन्ने कुरामा शंका गर्न पर्दैन किनभने “सँगै बसौं, सबै भोजन गरौँ, सबै सँगै मिलेर उन्नतिको लागि कार्य गरौँ” भन्ने आदर्श वाक्य होस् वा “सँगै हिंडौं, हरेक कुरामा सम्वाद गरौँ, एउटाले अर्काको मनको कुरा बुझेर काम गरौँ” आदर्श वाक्यले समावेसी सिद्धान्तको जग वसालेको हो । यही समावेशी सोचको जगमा आ–आफ्ना इष्टदेवलाई प्रमुखस्थानमा राखेर अन्य देवीदेवतालाई आदर गर्ने, पूजाआजा गर्ने र यसो गर्दा एकआपसमा कुनै प्रकारको मनोमालिन्य नराख्ने, बरू अन्य देवीदेवताका पूजाआजामा आफूलाई सहभागी बनाउने परम्पराको विकास भएको हो । सम्पूर्ण भारतवर्षमा, धर्म, राजनीति, शिक्षा, अर्थशास्त्र, सामाजिक तथा सांस्कृतिक जीवन पद्धति, दार्शनिक तथा मनोबैज्ञानिक दृष्टिकोणमा समेत वैदिक पांचायन पद्धतिको प्रभाव परेको अनुभव गर्न सकिन्छ । इसाई–मुस्लिमजस्ता एकलकाटे र कट्टरपन्थी धार्मिक सम्प्रदायहरूको भारतवर्षमा प्रवेश भन्दा हजारौंवर्षसम्म उपरोक्त पाँच वैदिक सम्प्रदायहरू र यिनैबाट विकसित भएका उपसम्प्रदायहरूको समावेशी मूलक सहअस्तित्व थियो भन्ने कुरामा शंका रहन्न ।

विदेशी धार्मिक सम्प्रदायहरूसंग यिनको तुलना गर्नै मिल्दैन । उदाहरणका लागि यहुदीहरूका तीनवटा सम्प्रदाय छन् तर तिनले एकआपसमा एकअर्काको धार्मिक अस्तित्वलाई स्वीकार्दैनन् । इतिहासमा यहुदीका सम्प्रदायहरू बीच खुनी सङ्घर्षभएका अनेकौं उदाहरण भेटिन्छन् भने यहुदीबाट नै विकसित भएका इसाई र मुस्लिम दूवैले यहुदीहरूलाई आफ्ना साझा शत्रु मान्छन् । इसाईका अनेकौं सम्प्रदायहरू बीच उस्तै शत्रुतापूर्ण सम्वन्ध छ । इस्लामका ७३ फिर्काहरू बीच आपसमा आज पनि सङ्घर्ष चलिनै रहेको छ । क्याथलिकले प्रोस्टेस्टेन्टको अस्तित्व स्वीकार गर्दैनन् भने प्रोस्टेस्टेन्टले क्याथोलिकहरूलाई पाखण्डी ठान्छन् । दुर्भाग्यवस, तिब्बतमा विकसित भएका बौद्ध–सम्प्रदायहरू बीच पनि निकै रक्तपातपूर्ण सङ्घर्ष भएका इतिहास छन् । सनातनीहरू बीच धर्मका (उपासना)का सवालमा केही छिटपुट सङ्घर्ष बाहेक सैद्धान्तिकरुपले सङ्घर्ष गर्ने कुनै विचार छैनन् ।

वर्तमान नेपालको इतिहास जान्नेहरूले भन्ने गरेका छन् कि वर्तमान नेपालमा अस्तित्वशील रहेका १३३ जातजातिहरू र तिनका भाषा जीवित रहनुमा उपरोक्त वैदिक समावेशी मनोबैज्ञानिक चिन्तन नै हो । शिवलाई प्रमुख इष्टदेव मान्नेहरूका लागि विष्णु, शक्ति, सूर्य र गणेश पनि पूजनीय नै हुन्छन् भने शाक्तहरूले पनि शिव, विष्णु, गणेश र सूर्यको उपासना गर्नैपर्छ । आफ्नो इष्टदेवलाई प्रमुख मानेर अन्य देवदेवीहरूको सम्मान गर्ने मनोवैज्ञानिक दार्शनिक चिन्तनमा अंकुरित, विस्तारित भएको वैदिक, जैन तथा बौद्ध परम्पराहरूको समावेशी चरित्र देखेर (बुझेको भए) निकै डाह गर्थे । दार्शनिक तहमा पंचायनको मनोविज्ञान प्रकाशित र विस्तार हुँदासाथ डलरसँग आएको सैद्धान्तिकरुपमा “समावेशी” तर व्यवहारमा “विभाजनकारी” दानापानी समाप्त हुने हुँदा उनीहरू सधैं आतंकित छन् र यी विचारहरूलाई विभिन्न वहाना बनाएर माथि उठ्नै नदिने प्रतिज्ञा गरेका छन् ।
क्रमशः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा