राष्ट्रकै जिम्मेवारी पाएपछि मानसिकता गरिब र तन्नम् प्रकारको रहनु हुँदैन
जेपी गुप्ता ।
‘राजनीतिलाई धेरैले बिभिन्न भाष्यहरू दिएको छ ।..सम्भावनाहरूको खेल।..जहाँ प्रेम र हिंसामा पार्थक्य हुँदैन..’ आदि इत्यादी !
मैले पढेको थिए । सन् १९५६ मा बेलायत र मिस्रका बीच स्वेज क्यानल विवाद भयो। बेलायतमा प्रम थिए–एन्थोनी इडन, चर्चिलका सर्वाधिक प्रिय पात्र । बेलायतले ईखको लागि स्वेज नहर कब्जा गर्न मिस्रका उपर आक्रमण गर्यो। सारा संसार बेलायतको खिलाफमा ध्रुविकृत भयो। बेलायत धाराशायी भयो। सरकार अलोकप्रिय भयो, एन्थोनी इडनले राजिनामा दिई म्याकमिलन प्रधानमन्त्री भए ।
हेरोल्ड म्याकमिलन, जो इडनको मन्त्रीमण्डलमा चान्सलर थिए । मिश्रका अपर आक्रमणका पक्षपाति थिए, इडनलाई हौस्याएका थिए । उनैले बेलायतको आर्थिक अवनति तथा अन्तर्राष्ट्रिय बेइज्जतिका लागि इडनलाई दोषी ठहर्याउन पुगे ।
प्रधानमन्त्रीको रूपमा बडो शानका साथ हेरोल्ड महारानी एलिजावेथकोमा औपचारिक भेटका लागि गएका थिए । त्यस बेलाकी ऐलिजावेथ, २५ बर्षमा साम्राज्ञी भएकी र भर्खर उमेरको तेस्रो दशकमा रहेकी–कम अनुभव की थिई । हेरोल्डको अनुभव र प्रभाव ठूलो थियो ।
महारानीलाई थाहा थियो, हेरोल्डले पदका लागि इडनलाई धोका दिएका थिए । “यो प्रधानमन्त्रीको पद तिम्रो लागि बिषको कचौरा हो । कसरी सम्हाल्न सक्छौं त?” महारानीले नयाँ प्रधानमन्त्रीको स्वागत गर्दै भनेकी थिइन् । अपेक्षित रूपमा हेरोल्डले सबै दोष इडनको टाउकोमा थुपारे । मिश्रका उपर आक्रमण गर्नु उनको गल्ती थियो उनले भने, त्यस युद्धलाई उनले “इडन वार” भनेर सबै दोष थुपारी रहे ।
महारानीले भनिन्,“प्रम तिमी स्वयं आक्रमणको पक्षमा थियौं। त्यही सरकारमा चान्सलर थियौं । बडो प्रवल रूपमा तिमीले युद्धको वकालत गरेका थियौं । अहिले त्यसबाट पल्टेका छौं । के तिमीलाई लाग्दैन की संसदीय व्यवस्थामा कुनै सामूहिक जिम्मेवारी हुदैन?” मौन हुन पुगेका हेरोल्डलाई रानीले भनिन्, “प्रम हरेकलाई, हरेक परिस्थितिमा आफ्नो भागको जिम्मेवारी स्वीकार्नु पर्दछ। चाहे जति सुकै गडबडीको अवस्था किन न उत्पन्न भएको होस्।”
बेलायतमा संवैधानिक राजतन्त्रको स्वरूप निर्धारणमा यस्ता धेरै घटनाहरूको उल्लेख बिभिन्न राजनेताहरूले आ–आफ्ना आत्मकथ्यहरूमा, संस्मरणहरूमा लेखेका छन्। यस्ता सामान्य देखिने हजारौ सम्वादहरूले भरिएको छ, त्यहाँको संवैधानिक व्यवस्था । तर, ती सबै संस्थागत संस्मरणका बिषय तथा सम्पति हुन् । हरेकले यी कुराहरूको हेक्का राखेको पाइन्छ ।
नेपालका दुबै राष्ट्रपतिहरू गरिब परिवेशबाट आएका हुन्। राजपाठ र परम्पराको अनुभव नहुनु स्वभाविक नै हो। तर, अहिले त्यो बेला पनि हैन, जहाँ पदको गरिमा बुझ्नका लागि राजाको दरवारमै जन्मिनु परोस् । न त आज इतिहासको अध्ययन पुरानो युगको वेदको अध्ययन सरह नै छ, जहाँ वेदका ऋचाहरूको श्रवण मात्र गर्दा कानमा पग्लेका सिसा हालिन्थ्यो । सार्वजनिक जीवनमा मानिसको उद्भव र उत्थानको परिवेश गरिब तथा सुविधाहीन प्रकारको हुन सक्छ। तर, राष्ट्रकै जिम्मेवारी पाएपछि मानसिकता गरिब र तन्नम् प्रकारको रहनु हुँदैन ।
आज, दुर्भाग्यवश नेपालका राष्ट्रपतिको भूमिका बडो विवादमा परेको छ । यस्तै विवाद यसअघि पनि २/३ प्रसंगमा उठ्यो । तर, महामहिम महोदयाबाट सुधार भएन । अहिले, यतिखेर प्रधानमन्त्री ओलीजीले प्रचण्डका उपर जघन्य भ्रष्टाचार तथा मानवता बिरूद्धका अपराधका आरोपहरू दिनहुँ लगाई राख्नु भएको छ । प्रचण्ड र माधव कुमार नेपालहरूले पनि प्रधानमन्त्रीका उपर यस्तै कृत्य गरिरहनु भएको छ । के सहकार्यको अवस्था अपराधहरूबाट उन्मुक्तिको अवस्था हुन्छ र ?