घाममा बस भन्दा जागिर छोड्नु पर्‍यो



डा.अरुणा उप्रेती ।

अफगानिस्तानमा मातृशिशु तथा जनस्वास्थ्य विशेषज्ञका रूपमा काम गर्दा मैले अफगानी महिलाहरूको स्वास्थ्यस्थितिका बारेमा बुझ्ने मौका पाएँ । त्यहाँ तालिमका क्रममा एकदिन डाक्टर र नर्सहरूसँग महिलाहरूको हड्डी पातलो हुँदै जाने समस्या, भिटामिन डीको कमीले गर्दा हाड र ढाड दुख्ने समस्या एवं त्यसले प्रजनन् स्वास्थ्यमा पार्ने समस्याहरूका बारेमा छलफल गरें । त्यही क्रममा मैले भनें–‘सूर्यको किरण सीधा हाम्रो छालामा पर्न पाएन भने हामीलाई भिटामिन डीको कमी हुन्छ र त्यसले गर्दा हड्डीमा समस्या उत्पन्न हुनसक्छ । मानव शरीरलाई चाहिने ८० प्रतिशत भिटामिन डी सूर्यको किरणबाट प्राप्त हुन्छ ।

पुरुषको तुलनामा महिलामा हड्डी पातलो हुने समस्या बढी पाइन्छ । त्यसैले यस्तो समस्या नहोस् भनेर प्रत्येक दिन घाममा बस्नुपर्छ । यसरी घाममा बस्दा छालामा सूर्यको किरण परेको हुनुपर्छ ।’ मेरो यो भनाइलाई अफगानी डाक्टर तथा नर्सले उनीहरूको संस्कृतिविरुद्ध भने । किनभने अफगानी संस्कृतिमा महिलाहरूले शरीरको कुनै पनि भाग देखाउनु हुँदैन र उनीहरूले घरबाहिर जाँदा बुर्का लगाएर हिँड्नुपर्छ । ‘आफ्नो शरीरको छाला घाममा देखाउनु हाम्रो समाजलाई मान्य हुँदैन ।’ अफगानी नर्सहरूले भनेका थिए । ‘घाममा छाला देखाएर बसिएन भने त शिशुमा पनि भिटामिन डीको कमी हुन सक्छ । त्यसैले त हामीकहाा सुत्केरी एवं शिशुलाई घाममा राखेर तेल लगाइदिने चलन छ ।’ मैले भनेकी थिएँ, तर मेरो यो साधारण कुरा अफगानी स्वास्थ्य कार्यकर्ताहरूलाई पचेन र उनीहरूले मेरो हाकिम (उनी पनि अफगानी डाक्टर थिए) समक्ष गुनासो गरे–‘उनीहरूले भने डा. अरुणाले तालिम दिँदा अफगानी संस्कृतिकै विरुद्ध बोल्नुभयो ।’

त्यसको केही दिनपछि डा. हसनले मलाई बोलाएर भने–‘डा. अरुणा तालिम दिँदा तपाईंले भनेका कुरा अफगानी संस्कृति विरुद्ध छन् । यहाँका महिलाहरू बुर्का नलगाई बाहिर जान सक्दैनन् । उनीहरू अङ्ग देखाएर घाममा बस्न सक्दैनन् । आइन्दा तालिम दिँदा त्यस्तो सल्लाह नदिनु होला ।’ आफै डाक्टर भएकाले घाम, भिटामिन डी र महिला स्वास्थ्यका बारेमा साथीहरूलाई सल्लाह दिनुपर्ने हाकिमले मलाई त्यसरी बनोल्नू भनेर चेतावनी दिएपछि मेरो मन खिन्न भयो । यद्यपि त्यहाँ मैले केही भनिन । ६ महिनापछि मेरो करार सिद्धियो ।

हाकिमले अर्काे एक वर्षको अवधि थप्छौं, करारनामामा हस्ताक्षर गर्न आऊ भनेर बोलाए । महिला स्वास्थ्यका बारेमा बोल्दा कहिलेकाहीँ गलत अफगानी संस्कृतिको विरोधमा बोलिहालियो भने समस्या पर्छ भन्ने कुरा बुझेर मैले करार अवधि बढाइन । 18 वर्षअघि अफगानीस्तानबाट फर्कदा मेरो मनमा कसरी अफगानी महिलाहरूले आफ्नो हाडलाई बलियो पार्ने होलान् । भिटामिन डीको अभावमा उनीहरूको स्वास्थ्य कस्तो होला ? बालिकादेखि वृद्ध महिलासम्म घाममा बस्न पाएनन् भने उनीहरूको स्वास्थ्य कस्तो हुन्छ होला ? भन्ने जिज्ञासा उठिरहे नेपाल आएपछि मैले उक्त घटना धेरै साथीलाई सुनाएँ ।

नेपाली महिलाहरूका लागि घामबाट भिटामिन डी प्राप्त गर्न कुनै समस्या हुँदैन भन्ने मलाई लागेको थियो तर अहिले आएर मेरो विचार गलत साबित हुन थालेको छ । अहिले महिलाहरूको रगत जाँच गर्दा थाहा पाउन थालिएको छ–वर्षभरि घाम लागिरहने नेपालमा अहिले धेरै महिलामा भिटामिन डीको कमी देखिन थालेको छ । डाक्टरहरू अहिले यस विषयमा बोल्न थालेका छन् । नेपालमा यो विषयमा खासै अध्ययन–अनुसन्धान त भएको छैन तर भारतमा यसका बारेमा भएका अनुसन्धानहरूबाट त्यहाँ पनि भिटामिन डीको कमीले गर्भवती किशोरी एवं महिलाहरूलाई सताएको देखिएको छ ।

पर्याप्त मात्रामा घाममा नबस्ने, वातानुकूलित कोठामा मात्र बस्ने, घाममा हिँड्दा छाला कालो हुन्छ भनेर लामा पहिरन लगाएर हिँड्ने भएकाले झन्डै ६९ प्रतिशत भारतीयमा भिटामिन डीको कमी देखिएको कुरा टाइम्स अफ इन्डियाको जुलाई २०, २०१५ मा प्रकाशित एउटा समाचारमा उल्लेख छ । मैले चिनेकी निशा नामकी एक महिलामा थकाइ लाग्ने, हातखुट्टा दुखिरहने, बिहान उठ्दा पनि आराम गरेको अनुभूति नहुने समस्या थियो । उनी समस्या लामो समयसम्म तानिएपछि डाक्टरकहाँ गइन् । धेरै डाक्टरकहाँ गैसकेपछि बल्ल एकदिन कुनै स्त्रीरोग विशेषज्ञले उनलाई भिटामिन डीको जाँच गराउन भनिन् ।

जााच गर्दा उनको रगतमा भिटामिन डीको कमी देखियो । डाक्टरले उनलाई भनिन्–‘तपाईंले हरेक दिन कम्तीमा १५–२० मिनेट घाममा बस्नुपर्छ । घाममा बस्दा छालामा सीधै घाम पर्नुपर्छ । लुगाबाट छिरेर वा सिसाबाट छिरेर तापिएको घाम काम लाग्दैन ।’ प्राय: स्वास्थ्यकर्मीले भिटामिन डी सजिलै सूर्यको किरणबाट पाइन्छ भन्दैनन् तर ती स्त्रीरोग विशेषज्ञले भनिन् । त्यसपछि ती महिलाको स्वास्थ्यमा सुधार आयो । अहिले उनी स्वस्थ छिन् । घाममा बस्नुपर्छ भन्ने थाहा पाए पनि धेरैजसो महिला तथा किशोरीहरू घामले छाला डढ्छ भनेर घाममा बस्न चाहँदैनन् । यसले गर्दा उनीहरूको शरीरलाई कति नोक्सान भैरहेको छ धेरैजसोले थाहा पाउँदैनन् । भिटामिन डीको कमी भयो भन्ने कुरा थाहा पाउँदासम्म समस्या चर्किसकेको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा

एमसीसीले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखेः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना(एमसीसी) राम्रो रहेको कुरा

‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन’सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय(मन्त्रिपरिषदको निर्णयसहित)

काठमाडौं । सरकारले ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१’ लाई संसदमा पेश