द्वैताद्वैत, निम्बार्क र वेदान्त दशश्लोकी



डा. गोविन्दशरण उपाध्याय ।
नियमानन्द शान्ति र साधनाप्रिय ब्राह्मण थिए । उनले पढेको गुरुकुलमा गुरूले ‘वेदहरूले बोलेको कुनै पनि कुरा विरोधाभाषी तथा असत्य हुँदैन’ भन्ने कुराको उनको मनमा गहिरो प्रभाव परेको थियो । आफ्नो शिक्षा समाप्त भएपछि उनलाई गृहस्थी जीवन मन परेन । आमा बुवासंग अनुमति प्राप्त गरेर उनी गोवर्धनमा आए र त्यहीं सानो कुटिया बनाएर आफ्ना आराध्यदेव राधाकृष्णको उपासना गर्न थाले ।

उनी अत्यन्त विनम्र साधक मात्र होइन अतिथिको सेवा गर्नमा पनि अब्बल थिए । एक दिन ब्रह्माले सन्यासीको वेस बनाएर साँझपख नियमानन्दको कुटीयामा पुगे । सूर्यास्तपछि भोजन नगर्ने नियमानन्दले भोको सन्यासीलाई खुवाउनका लागि साँझ परिसकेपछि पनि आफ्नो साधनाका बलले नीमको रूखमा सूर्य स्थापित गरेर (असलमा त्यो सुदर्शन चक्र थियो) सन्यासीलाई भोजन गराए ।

भोजन गर्दासाथ सूर्यास्त भएको देखेर सन्यासी विस्मित भए । ध्यान गरेर हेर्दा सुदर्शन चक्र भएको थाहा पाएर नियमानन्दलाई आशिर्वाद दिंदै ‘निम्बार्क’को नाम दिए । असलमा, यी सन्यासी ब्रह्मा नै थिए ।

आचार्य निम्बार्कको समयमा ठूलाठूला शास्त्रार्थ हुन्थे । वेद तथा उपनिषद्हरूका आधारमा परमसत्यको फरकफरक व्याख्या हुन्थ्यो । कसैले अद्वैतलाई परमसत्य भएको घोषणा गर्थे भने कसैले द्वैत नै परमसत्य भएको आग्रह गर्थे । तर आचार्य निम्बार्कलाई वेदका अद्वैत र द्वैतवादी वाक्यमा विरोधाभाष हुनै नसक्ने विश्वास थियो ।

आचार्य निम्बार्कले भने ‘वेदका सम्पूर्ण बचनहरू यथार्थ हुन् । वेदवाक्यहरू तुल्यवल भएका कारण समान छन् । वेदका कुनै वचनलाई श्रेष्ठ र अर्कोलाई गौण ठान्नु वेदविरुद्ध हुन्छ । त्यसैले यी बचनहरूमा कुनै पनि विरोधाभाष छैन । यो सृष्टि, जीव तथा ब्रह्मको सम्वन्ध समन्वयात्मक छ । भोक्ता, भोग्य तथा प्रेरकका रूपमा रहेको ब्रह्मनै परमसत्य हो । यसको अर्थ हो, ब्रह्म जति निराकार छ, अचिन्त्य छ, त्यतिनै साकार तथा वस्तुगत पनि छ । वेदहरूले ब्रह्मको सीमा अद्वैत वा द्वैत भनेर तोकेका छैनन् अपितु द्वैत तथा अद्वैत वीच समन्वयको तत्थ्य प्रकट गरेका छन् ।’

आचार्य निम्बार्कले कुनै पनि दार्शनिक सिद्धान्तको आलोचना नगरीकन वेदबचनको समन्वयात्मक सिद्धान्त प्रस्तुत गरे । उनले उपदेश दिए ‘साधकहरूले विनम्रता पूर्वक उपास्य, उपासक, कृपाको फल, भागवत प्राप्ति र भक्तिको विरोधी तत्व – यी पाँचबटा तत्थ्यहरूलाई बुझेर विनम्रता पूर्वक वैदिक जीवन यापन गर्नुपर्छ भन्ने उहाँको अभिमत थियो ।

आचार्य निम्बार्कले आफ्नो मत स्थापना गर्न, प्रचारप्रसार गर्न शास्त्रार्थ गर्न, ठूलाठूला सिद्धान्तका पुस्तक लेख्न, अन्य दार्शनिक सिद्धान्तहरूको खण्डन गर्नु भन्दा विनम्रतापूर्वक आफ्ना आराध्य देव राधाकृष्णको उपासनालाई महत्व दिए । उनका अनुसार वेदवाक्यहरूले नै समन्वयवादी सिद्धान्त प्रस्तुत गरेको हुँदा, यिनको स्वतः प्रमाणिकता स्थापित हुन्छ । यस विषयमा आफ्नो दृष्टिकोण निर्माण गर्नु वेदको सत्यतामा सन्देह गर्नुसरह हो –आचार्य निम्बार्कको सहज दृष्टिकोण रहेको छ ।

आचार्य निम्बार्ककाअनुसार विश्व ब्रह्मात्मक तत्व हो अर्थात् विश्वको आत्मा ब्रह्म हो । यसरी विश्व तथा ब्रहमका विचमा उभयात्मक सम्बन्ध छ । उदाहरणका लागि घैंटो माटोले निर्माण भएको हुन्छ त्यसैले माटो माटो भन्दा फरक हुँदैन । जीव तथा प्रकृति ब्रह्मात्मक भएको कारणले अभिन्न छ, ।

साथै, भोक्ता, भोग्य र नियन्ताका रुपमा विश्व त्रिरूप छ । यो सत्यलाई वेद र श्रुतिहरूले स्वीकार गरेकै छन् । यहाँ नाम, रूपम, गुणआदिले भिन्नता सिद्ध हुन्छ । यसैगरी द्वैतअद्वैतका रुपमा सम्पूर्ण जडचेतानात्मक जगत र ब्रहमका विच स्वाभाविक भिन्न र अभिन्न सम्बन्ध सिद्ध हुन्छ, यही नै स्वाभाविक भेदाभेद, द्वैताद्वैत हो । वाक्यपदीय नामक व्याकरण ग्रन्थका रचयिता भर्तृहरि पनि भेदभेदवादी नै थिए तर उनको भेद बाक्य र पदका विचको स्फोटका रूपमा प्रकट हुन्छ ।

द्वैताद्वैत के हो – एक पटक सरल उदाहरणबाट बुझौंः
सुनको औंठी
(क) सुनको औंठी सम्पूर्ण रूपमा सुननै हो ।
(ख) त्यो सुनको आकार औठी हो र सुन नै हो ।
(ग) सुन र औंठी अभिन्न छन् । सुन पनि सत्य हो र औंठी पनि सत्य हो । सुन र औंठीका विचमा स्वाभाविक भिन्न–अभिन्न सम्बन्ध छ ।

वेदान्त दशश्लोकी–१
ज्ञानस्वरूपञ्च हरेरधीनं शरीर संयोगवियोगयोग्यम्।
अणुं हि जीवं प्रतिदेहभिन्नं ज्ञातृत्ववन्तं यदनन्तमाहुः । !
अर्थः जीवहरू अनन्त छन् र असंख्य छन् । जीव सधैं भगवानका अधीनमा छन् । जीवको अनेकौं प्रकारका शरीरहरूसंग सम्योग र वियोग भैरहन्छ । जीवहरू अत्यन्त सूक्ष्म छन् । हरेक जीव भिन्नभिन्न छन् र ज्ञानरूप छन् । (१)

द्वैताद्वैतका प्रचारक आचार्य निम्बार्कले रचना गरेको वेदान्त दशश्लोकी मध्ये उपर्युक्त अर्थ पहिलो श्लोकको हो । व्यक्तिगत रूपमा जीव–जगत् सम्बन्धि उहाँको यो चिन्तन मलाई अत्याधिक व्यबहारिक लाग्छ । हाम्रो जीवको अनन्तता, ससीमता तथा पार्थक्य अनुभूत विषय हुन् । यसैगरी हरेक जीव प्रकृतिका अधिनमा छन् भन्ने तत्थ्य पनि लुकेको छैन । साथै, हरेक जीव सीमित छन् र त्यो सीमाभित्र रहेर पूर्णस्वतन्त्रताको उपयोग गर्न सक्छन् – यो पनि व्याबहारिक सत्य हो ।

हालै विज्ञानको खोजले १ करोड डिग्रीको गर्मीमा १ हजार करोड डिग्रीको गर्मीमा जन्मन, हुर्कन सक्ने तेजोमय शरीर (जीव)को सम्भावनालाई स्वीकार गरेको छ । जसरी आकाश गङ्गाहरू अनन्त छन्, ब्रह्माण्डहरू अनन्त छन् तेसरी नै जीवहरू अनन्त छन् भन्ने तत्थ्यलाई निराकरण गर्न सकिन्न । विज्ञानले जानेको मानिएको ५% ज्ञानभित्र पृथ्वीको रहस्य खुलेको छैन । अनन्तको अर्थ र दुई ट्रीलियन प्रकाश वर्ष टाढाको सूर्य भन्नु सैद्धान्तिक रूपमा एकै हुन्छ । प्रत्यक्ष प्रमाणका आधारमा दुई ट्रीलियन वर्ष परको सूर्य र तपाईंहामीभित्र स्वासप्रश्वासका रूपमा विद्यमान जीव प्रमाणित हुनै सक्दैनन् ।

जीवलाई स्वतन्त्र तर ईश्वरको अधीनमा मान्नु र अनन्त तर अध्यात्मिक ज्ञानका मध्यमबाट मात्र उसको असली स्वरूप साक्षात्कार हुन्छ भन्ने मान्यता राख्नु द्वैताद्वैतवादी दार्शनिक चिन्तनको विषेशता रहेको देखिन्छ । जीव सर्वज्ञ होइन तर ईश्वरको अंश भएको नाताले ईश्वरीय गुणहरू यसमा पनि उपस्थित हुनु स्वभाविक हो । यहाँ आचार्य निम्बार्कले जीवलाई ज्ञानरुप भनेर जडअंशबाट उन्मुक्ति दिएका छन् तर कर्मअनुसारको शरीर प्राप्त हुने तत्थ्यलाई स्वीकार गरेका छन् ।

वेदान्त दशश्लोकी– २
अनादिमायापरियुक्तरूपं त्वेनं विदुर्वै भगवत्प्रसादात् ।
मुक्तञ्च बद्धं किल बद्धमुक्तं प्रभेदबाहुल्यमथापि बोध्यम् २
अर्थः अज्ञात वा अनादिकालदेखि नै जीव मायाको फन्दामा परेको छ । यही बन्धनका कारण जीवले ईश्वरलाई चिन्न सकेको छैन । यस्ता जीवहरू पूर्णतया मुक्त, पूर्णतया बन्धनमा परेका र बन्धन तथा मुक्त दुवै अवस्थामा रहेका हुन्छन् भनेर बुझ्नुपर्छ ।

आचार्य निम्बार्कको दार्शनिक दृष्टिकोण निकै व्याबहारिक र परिपक्व देखिन्छ । आचार्य शङ्करले जीव र ब्रह्मलाई एकै तत्व मानेका छन् । आचार्य रामानुजले जीवलाई ईश्वरको अंश त मान्छेका छन् तर ईश्वरसंग तिनको विशिष्ट अभिन्नता रहेको भन्दै अप्रत्यक्ष रूपमा शङ्करको अद्वैतवादको समर्थनमा उभिएका छन् । तर आचार्य निम्बार्कले ऋषि, मुनि, आचार्यहरूलाई नित्य मुक्तको श्रेणीमा राखेका छन् भने संसारिक जीवहरूलाई बद्ध–जीवका रूपमा स्वीकार गरेका छन् । बद्धमुक्त ती जीवहरू हुन् जुन जीवनमुक्त छन् । उदाहरणका लागि महर्षि दधिची, शुकदेव, व्यासदेव तथा सम्प्रदाय संस्थापक आचार्यहरू र गद्दीसीन आचार्यहरू जीवनमुक्त हुन् । यो श्रेणीमा बौद्ध तथा जैनका दलाईलामा प्रभृत्ति तथागतहरू र तीर्थंकरहरू हुन् सक्छन् ।

आचार्य निम्बार्कले व्यबहार र परमार्थका आधारमा जीवका तीनबटा अवस्थाको उल्लेख गरे पनि बद्ध जीवले पनि साधना गरेर बद्धमुक्त वा मुक्तावस्ता प्राप्त गर्ने सक्ने बाटो खुला राखेका छन् । यसो भनिरहंदा आचार्य निम्बार्कले कुनै पनि पूर्वचार्यहरूको आलोचना गरेका छैनन् । साथै, यसै श्लोकमा जीवको मोक्षका मालिलामा जीवको मोक्ष प्राप्तिको चाहना र भगवान् को कृपा दुवैको संयोजन हुनुपर्ने पनि उल्लेख गरेका छन् ।

जीव अनादिकालदेखि मायाको बन्धनमा छ भन्ने विश्वासमा आचार्य निम्बार्क अन्य आचार्यहरूका दार्शनिक चिन्तनसंग सहमत छन् तर बन्धनलाई पूर्णतया अस्वीकार गरेर जीवलाई ब्रह्मनै भएको भन्ने भनाईप्रति असहमत छन् । यदि सम्पूर्ण केवल ब्रह्म नै हुन्थ्यो भने संसारमा विविधता हुनु, माया हुनु भनेकै ब्रह्म पूर्ण शुद्ध छैन भन्ने सिद्ध हुन्छ । तर ब्रह्ममा कुनै पनि अशुद्धता नहुने हुँदा लीलावस जीवसँग सृष्टिको संयोजन गरेको हुन्छ । यसरी, ब्रह्म, जीव र जगत सबै थोक सत्य हुन् । असलमा, विरोधको अभाव नै निम्बार्क दर्शनको अद्वितीय विशेषता हो ।

वेदान्त–दशश्लोकी – ३
अप्राकृतं प्राकृतरूपकञ्च कालस्वरूपं तदचेतनं मतम् ।
मायाप्रधानादिपदप्रवाच्यं शुक्लादिभेदाश्च समेऽपि तत्र । ३
अर्थ अप्राकृत, प्राकृत (प्रकृति) र प्रकृतिका कार्यहरू तथा काल यी सबै अचेतन मानिन्छन् । माया, प्रधान, अव्यक्तआदि प्रकृति कै नाम हुन् । सेतो, रातो र कालो वर्ण भएका सत्व, रज र तम यी तीनैबटा गुणहरू पनि प्रकृतिकै हुन् ।

यो श्लोकमा आचार्य निम्बार्कले पराप्रकृति, प्रकृति र कालको त्रैध तत्वको परिचर्चा गरेका छन् । अप्राकृत सत्ता भगवान् स्वयं र उहाँको धामआदि हुन् । प्रकृति र उसका कार्यहरू अर्थात् संसार हो भने तेस्रो सत्ता कालको छ । विश्वको निर्माण त्रिगुणरूपा प्रकृतिको विस्तार हो । सत्व, रज र तम प्रकृतिका आन्तरिक गुण हुन् । आचार्य निम्बार्ककाअनुसार प्रकृति परमतत्वकै अभिन्न अङ्ग भएकोले सांख्य दर्शनकोझैं ईश्वर निरपेक्षतत्व होइन । पराप्रकृति (ईश्वर) प्रकृति र कालको समवेत सहकार्य नै सृष्टि हो । प्रकृति र काल ईश्वर–सापेक्ष तत्त्व हुन् । यिनको स्वतन्त्रता ईश्वराधीन छ ।

आचार्य निम्बार्कले ईश्वर, प्रकृति र काल यी तीनबटा परमतत्वको अस्तित्वलाई स्वीकार गरेको भए पनि प्रकृति र काललाई अप्राकृति अर्थात् ईश्वरको अधिनमा राखेका छन् । यस श्लोकको अर्थ बुझ्न दोस्रो श्लोकको अर्थ मनन गर्नुपर्ने हुन्छ । नित्यमुक्त, बद्ध र बद्धमुक्त यी जीवहरूका भेदहरूले क्रमशः अप्राकृतिक, प्राकृतिक र कालको प्रतिनिधित्व गरेका हुन्छन् । आचार्य निम्बार्कका लागि मायामा मोहिनी शक्ति भए पनि त्यो ईश्वरीय गुण नै हो जसको मूल उद्देश्य जीव र ईश्वरका विचमा सहजीकरण गरेर नित्यमुक्त अवस्थामा स्थापित गर्नु हो ।

ईश्वर (ब्रह्म) र जगत् यी दूवैको यथार्थसत्ता स्वीकार गर्ने थुप्रै दार्शनिकहरू छन् तर काललाई परमतत्वका रूपमा स्वीकार गर्ने आचार्य निम्बार्कले दर्शनशास्त्रमा नयाँ प्रतिमान स्थापित गरेका छन् । वेदान्त लघुमन्जुषामा भनिएको छ “काल चेतन र अचेत दूवै भन्दा भिन्न उभायात्मक गुण भएको (ईश्वर र जीवलाई जोड्ने) सचेतन अवधिनै काल हो । कालको स्वतन्त्र अस्तित्व छ तर ईश्वरमा कालको स्वतन्त्रता बाधित गर्ने सामर्थ्य पनि छ ।

वेदान्त दशश्लोकी–४
स्वभावतोऽपास्तसमस्तदोषमशेषकल्याणगुणैकराशिम्।
व्यूहाङ्गिनं ब्रह्म परं वरेण्यं ध्यायेम कृष्णं कमलेक्षणं हरिम् ।४
अर्थः जुन् प्राकृतिक रूपमा नै समस्त दोषहरूबाट मुक्त हुनुहुन्छ, र समस्त कल्याणकारी गुणहरूले युक्त हुनुहुन्छ, जो वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्ध यी चाररूपले घनिभूत हुनुहुन्छ, त्यस्ता कमलको फूलसरह सुन्दर आँखा भएका भगवान् श्रीकृष्णको ध्यान गर्दछौँ ।
…….
आचार्य निम्बार्क वैष्णव परम्पराअन्तर्गत भेदाभेदवाद वा द्वैताद्वैतवादका प्रचारक हुन् । आफ्नो तपस्याको शक्तिले नीमको रूखमा सूर्यको स्थापना गरेको हुँदा नियमानन्दबाट निजको नाम निम्बार्क रहेको हो – भन्ने विश्वास सम्प्रदायका अनुयायीहरूको रहेको छ ।आचार्य निम्बार्कले प्रस्थानत्रयी (ब्रह्मसूत्र, गीता र उपनिषद)को व्याख्या गरेर स्वाभाविक द्वैताद्वैतका अधर्म सम्प्रदायको स्थापना गरे । निम्बार्क सम्प्रदायमा परमब्रह्मतत्वका रूपमा श्रीराधाकृष्णको स्वेकीय स्वरूपको उपासना गर्ने पद्धति छ । आचार्य निम्बार्क र उहाँका पश्चवर्ती आचार्यहरूले शास्त्रीय प्रमाणका आधारमा राधाकृष्ण नै परमतत्व रहेको सिद्ध गरेका छन् ।

आचार्य निम्बार्क ब्रह्मको सगुण स्वरूपका उपासक हुन् तर निर्गुणसंग उहाँको कुनै विरोधाभाष छैन । उहाँको आग्रह यत्ति हो कि परमतत्वलाई सगुण वा निर्गुण भनेर सीमा तोक्न सकिन्न र यो तर्कसंगत पनि छैन । मानवीय बुद्धिमा ब्रह्मतत्वको सीमा तोक्न सक्ने विषयमा कल्पनासम्म गर्न सकिन्न । साकार र निराकार एकै कृष्णतत्वका दुईबटा पाटा हुन् । उपासनाका दृष्टिकोणले भगवानको साकारस्वरूप सजिलो, रसिलो र सम्बाद गर्न सहज हुन्छ । भक्ति एकमात्र ब्रह्मतत्वसँग साक्षात्कार गर्ने आध्यात्मिक साधन हो ।

वेदान्त दशश्लोकी–५
अङ्गे तु वामे वृषभानुजां मुदा विराजमानामनुरूपसौभगाम्।
सखीसहस्रैः परिसेवितां सदा स्मरेम देवीं सकलेष्टकामदाम् । ५
अर्थः श्रीकृष्णकै समान रूप, शक्ति तथा माधुर्य भएकी र उहाँका देब्रेसंगतिर विराजमान, हजारौं सखीहरूले घेरिएकी, सम्पूर्ण मनोकामना पूर्ण गर्न समर्थ वृषभानुकी पुत्री (श्रीराधा)लाई हामी सधैं स्मरण गर्छौं ।

निम्बार्क सम्प्रदायले दार्शनिक दृष्टिकोणमा स्वाभाविक भेदाभेदको सिद्धान्त स्वीकार गर्छ । यो श्लोकमा राधा र कृष्णलाई अभिन्न तत्वका रूपमा स्वीकार गर्दागर्दै पनि द्विशक्तिका रूपमा स्मरण गरिएको छ । दोस्रो कुरा, द्वैतवादी मध्व र तिनका अनुयायी चैतन्य महाप्रभुको शिष्यपरम्परामा राधा र कृष्णको सम्बन्धलाई “परकीया“का रूपमा परिभाषित गरिएको छ अर्थात् राधाकृष्ण अनन्य शक्ति भए पनि व्याबहारिक रूपले पतिपत्नी होइनन् । राधाको विवाह अन्य कुनै गोपालसंग भएको हो । निम्बार्क सम्प्रदायमा श्रीराधाकृष्णको सम्बन्धलाई “स्वेकीया“ मानिन्छ अर्थात् राधाकृष्णको विवाह ब्रह्माले गरिदिएका हुन् र राधाकृष्ण अनादि पतिपत्नी हुन् । राधामा पनि ती सबै शक्तिहरू छन् जुन आचार्य निम्बार्कले श्रीकृष्णका विषयमा ४ थो श्लोकमा वर्णन गर्नुभएको थियो ।

केही संस्कृतका विद्वानहरूले आचार्य निम्बार्कको ‘युगल सरकार’को दृष्टिकोणको आलोचना पनि गरेका छन् । यहाँ बुझ्नु पर्ने कुरा के हो भने राधाकृष्ण कुनै भौतिक व्यक्ति होइन ।परत्पर शक्ति हुन् । राधाकृष्णको सम्बन्धलाई क्वान्टमको चरित्रसंग दाँज्न सकिन्छ । क्वान्टमलाई कुनै वस्तुले नदेख्दा प्रवाहका रूपमा हुन्छ भने कसैले (क्यामेरा)ले देख्दासाथ त्यो पार्टिकलमा रुपान्तरित हुन्छ । यसको अर्थ हो पार्टीकल र वेभका विचमा अभिन्न सम्बन्ध छ र तस्तो सम्बन्ध कसैले निर्माण गरेको होइन, अनादि हो । आचार्य निम्बार्क राधाकृष्णका उपासक हुन् । उनका लागि सम्पूर्ण ज्ञान, भक्ति तथा कर्मको उच्चतम उत्स राधाकृष्णको साहचर्य प्राप्त गर्नु हो ।

वेदान्त दशश्लोकी–६
उपासनीयं नितरां जनैः सदा प्रहाणयेऽज्ञानतमोऽनुवृत्तेः।
सनन्दनाद्यैर्मुनिभिस्तथोक्तं श्रीनारदायाखिलतत्वसाक्षिणे । ६
अर्थः परमतत्वरूप राधाकृष्णको सधैं उपासना गरिरहनु पर्छ । उहाँको ध्यानले कठोर अन्धकारको आवृत्ति नष्ट हुन्छ । यो तत्थ्य परमतत्वका ज्ञाता श्रीनारद मुनिले आफ्ना गुरूबाट प्राप्त गर्नुभएको हो ।

आचार्य निम्बार्कलाई भगवान् श्रीबिष्णुका परमप्रिय पार्षद सुदर्शन चक्रका प्रत्यक्ष अवतार मानिन्छ । निम्बार्क सम्प्रदायका प्रवर्तक श्रीहंस भगवानलाई मानिन्छ भने उहाँले भेदभेदवादी दर्शनको उपदेश देवर्षि नारदलाई र नारदले आचार्य निम्बार्कलाई उपदेश दिएको भनिएको छ ्र यसरी निम्बार्क सम्प्रदाय पनि वैदिक गुरुशिष्य परम्पराको निरन्तरता हो ।

आचार्य निम्बार्कले श्रीराधाकृष्णलाई परमतत्वको रूपमा स्वीकार गरेर जीवको लागि एकमात्र परमउपास्य भएको उपदेश दिएका छन् । जीव अनन्त जन्मदेखिको अज्ञानको घेरामा छोपिएको छ तर सत्चिन्दानंद परमतत्व रूप राधाकृष्णको उपासनाले अज्ञानको विनाश हुन्छ । यो तत्थ्य श्रीहंस भगवानले श्रीमद्भागवतको एकादशौं स्कन्धमा उपदेश गर्नुभएको, नारद मुनिले यसलाई बुझेर निम्बार्कलाई उपदेश दिनु भएको हो ।

आचार्य परम्परामा दीक्षित, शिक्षित र प्रशिक्षित विनम्र शिष्यहरूले अज्ञानको आवृत्तिबाट मुक्ति प्राप्त गरेर श्रीराधाकृष्णको नित्त्य सान्निध्य प्राप्त गरेका अनेकौं साक्षी छन् । यसको अर्थ अन्य उपासनाहरू निरर्थक हुन् भन्ने पटक्कै होइन ।

वेदान्त दशश्लोकी – ७
सर्वं हि विज्ञानमतो यथार्थकं श्रुतिस्मृतिभ्यो निखिलस्य वस्तुनः।
ब्रह्मात्मकत्वादिति वेदविन्मतं त्रिरूपताऽपि श्रुतिसूत्रसाधिता । ७
अर्थः शास्त्रहरूले यो सम्पूर्ण विश्व र बस्तुहरू विज्ञानरूप (सत्चिदानंद) स्वरूप भएको जिकिर गरेका छन् । ब्रह्मरूप भएको कारण यो संसार वास्तविक पनि छ । श्रुति तथा सूत्र ग्रन्थहरूको प्रमाणका आधारमा यो विश्वलाई भोक्ता, भोग्य र प्रेरक त्रिरुपात्मक यथार्थ सत्ता हो भने बुझ्नुपर्छ ।
आचार्य निम्बार्कको दार्शनिक चिन्तनलाई यो श्लोकले अझैं प्रष्ट पारेको छ । पहिलो कुरा यो विश्व जडचेतन उभयात्म्क तत्व हो । जुन परमतत्व ब्रह्म कै रूप हो । दोस्रो कुरा, ब्रह्मात्म्क भएको नाताले यो सम्पूर्ण विश्व सत्य तथा यथार्त तत्व हो । आचार्य निम्बार्कका अनुसार श्रुति तथा स्मृतिग्रन्थहरू सूत्रात्मक रूपमा यो तत्थ्य भनिएको हुँदा मन गढ़ंते होइन । असलमा, हरेक जिज्ञासुले यो विश्व भोक्ता, भोगी र प्रेरकका रुपमा स्वयं परमतत्व “ब्रह्म“ नै हो भनेर बुझ्नुपर्छ ।

आचार्य निम्बार्कके जगतलाई परमसत्य तर भोक्ता, भोग्य र प्रेरक त्रिरूप भएको घोषणा गर्दै आचार्य शंकर तथा आचार्य रामानुजको दार्शनिक चिन्तन अद्वैतवाद र विशिष्टताद्वैत दूवैको दार्शनिक दृष्टिकोणलाई आंशिक सत्य मानेको मान्छ । आचार्य शङ्करले सत्यलाई ‘अद्वैत’ भनेर सीमा तोकेका छन् भने रामानुजले पनि शब्दावली परिवर्तन गरेर त्यही गरेका छन् । निम्बार्कले ईश्वर अथवा परमसत्यको स्वरूप जस्तो छ, त्यस्तै छ, मानवीय बुद्धिले सीमा तोक्नु अस्वाभावि हुन्छ । त्यसैले ब्रह्म आधारभूत रूपले स्वाभाविक छ र त्यो स्वाभाविकता भनेको द्वैत तथा अद्वैत दूवैको समवाय अवस्था हो ।

आचार्य निम्बार्कको यो दृष्टिकोण दार्शनिक रूपमा स्वभाविक छ भने व्याबहारिक रूपमा समावेशीकरणको अद्भूत सैद्धान्तिक आधार बन्न सक्छ । ब्रह्मको त्रिरूप भोक्ता, भोग्य र प्रेरकरूप नै स्वाभाविक हो – आचार्य निम्बार्कको आग्रह होइन, विनम्र निवेदन छ ।

वेदान्त दशश्लोकी–८
नान्या गतिः कृष्णपदारविन्दात् संदृश्यते ब्रह्मशिवादिवन्दितात्।
भक्तेच्छयोपात्तसुचिन्त्यविग्रहादचिन्त्यशक्तेरविचिन्त्यसाशयात् । ८
अर्थः जसको शक्ति र आशयका विषयमा ब्रह्मा, शिवआदि देवताहरूले केही पनि अनुमान गर्न सक्दैनन् र जसले सधैं आफ्ना भक्तहरूको ईच्छापूर्ण गर्न अनेकौं अवतारहरू ग्रहण गर्छन्, त्यस्ता श्रीकृष्णको शरण बाहेक अन्य कुनै साध्य देख्दिन ।

निम्बार्क सम्प्रदायले राधाकृष्णको अनन्यता स्वीकार गर्छ । शिवब्रह्माआदि भगवान् कै स्वरूप भए पनि भोक्ता, भोग्य र प्रेरकका त्रिरूपमा देवताहरूले कृष्णभक्तितिर प्रेरित गर्छन् । परमतत्वका रूपमा श्रीकृष्ण तत्व सबैभन्दा प्रमुख हो र आल्हदिनी शक्तिका रूपमा श्रीराधा उहाँकी अर्धांगिनी हुन् । यसै सम्प्रदायका अत्यन्त महत्वपूर्ण आचार्य हरिव्यास देवले “राधा नै कृष्ण हुन् र कृष्ण नै राधा हुन्“ भन्दै राधाकृष्णको एकत्वलाई स्वीकार गरेका छन् ।

आचार्य निम्बार्कका अनुसार संसारिक दुखमुक्तिको पहिलो सोपान भगवान् श्रीकृष्णको अनन्यतामा आफुलाई समर्पित गर्दै उहाँको अचित्य शक्ति तथा सामर्थ्यमा विश्वास गर्नु हो । जवस् जीवले श्रीकृष्णलाई परमतत्वको रूपमा स्वीकार गर्दैन तवसम्म संसारका दुख (तापत्रय)बाट मुक्ति प्राप्त हुँदैन । यही तत्थ्यलाई प्रमाणित गर्न आचार्य निम्बार्कले ९ वौं श्लोकमा साधनाप्रणाली र साधनाद्वारा कृष्णभक्ति प्राप्तिको उपाय वताएका छन् ।

वेदान्त दशश्लोकी–९
कृपास्य दैन्यादियुजि प्रजायते यया भवेत्प्रेमविशेषलक्षणा।
भक्तिर्ह्यनन्याधिपतेर्महात्मनः साचोत्तमासाधनरूपिकाऽपरा । ९ ।
अर्थः “प्रमुख गुण नै दैन्य (विनम्रता) भएको भक्त÷साधकमा उहाँले (श्रीराधाकृष्णले) कृपा गर्नुहुन्छ । महात्माहरूलाई भगवानको कृपाले मात्र उहाँको उत्तम तथा अनन्य भक्ति प्राप्त हुन्छ । कीर्तनआदि साधन क्रिया नै अपरा भक्ति हो ।“

मूलतः मान्छेको मूलगुण विनम्रता हो । विनम्र भक्तले सजिलैसंग विशेषलक्षणा अनन्य भक्ति प्राप्त हुन्छ, त्यस्तो भक्तिलाई ‘उत्तमा’ भनिन्छ । उत्तमा भक्तिमा भक्तको विनम्रता र भगवानको कृपा दुवैको संयोग हुन्छ । वेदहरूले पष्टसँग ‘ब्रह्म दान, तपस्या, साधनाआदिले प्राप्त हुन नसक्ने तत्त्व हो भनेर घोषणा गरेको हुँदा ईश्वर र भक्त दूवैको परस्पर प्रेमपूर्ण सम्बन्ध स्थापित हुनुपर्छ । यस्तो सम्बन्ध नवाधाभक्तिरूप ‘अपराभक्ति’बाट प्राप्त हुन्छ ।

कुनै पनि अभिमानीले श्रीराधाकृष्णको मधुर सान्निध्य प्राप्त गर्न सक्दैन । ज्ञान र कर्मको साधना पनि भक्तिमय अर्थात् विनम्रतापूर्वक हुनुपर्छ । उपासकमा श्रीराधाकृष्ण बाहेक मेरो अन्य कुनै गति छैन र उहाँको कृपाले मात्र उहाँको उपलब्धि हुन्छ भन्ने दृढ विश्वास हुनुपर्छ । यो श्लोकले भक्तहरू स्वाभाविक रूपले विन्रम तथा निरन्तर भक्तिमा साधनारत हुनुपर्छ । अभिमान रहित भएर विनम्रतापूर्वक गरिएको साधनाले श्रीराधाकृष्णको नित्य सान्निध्य प्राप्त हुन्छ ।

वेदान्त दशश्लोकी – १०
उपास्य रूपं तदुपासकस्य च कृपाफलं भक्तिरसस्ततः परम्।
अर्थः विरोधिनो रूपमथैतदाप्ते र्ज्ञेया इमेऽर्था अपि पञ्च साधुभिः १० ।
साधुहरूले आफ्ना उपास्य (इष्टदेव) उपासक (जीव) र भगवानको कृपाको फल, भक्तिरस तथा भगवानको प्राप्ति र भक्तिका विरोधीतत्व – यी पांच प्रकारका तत्वहरूको स्वरूप राम्ररी जान्नु पर्छ ।

आचार्य निम्बार्कको दार्शनिक चिन्तनमा कृपा, दैन्य, तथा साधना अर्थात् उपासना शब्दलाई निकै महत्व दिएर प्रयोग गरिएको छ ्र वेदान्त दशश्लोकीको अन्तिम श्लोकले साधुत्व (सन्त)का लक्षणहरूको संक्षेपमा जानकारी दिन्छ । साधुको पहिलो गुण हो उसले आफ्ना इष्टदेवका विषयमा जानकारी प्राप्त गरेको हुनुपर्छ, दोस्रोमा उपासकका रूपमा आफ्नो (जीवतत्व)का विषयमा सम्यक ज्ञान प्राप्त गरेको हुनुपर्छ, तेस्रोमा भगवानको कृपा साधनाद्वारा साध्य छ तर त्यो कृपाचाहिं अहैतुकी हुन्छ भन्ने ज्ञान हुनुपर्छ र अन्त्यमा भक्तिका वाधकतत्वहरू केके हुन् ? भन्ने जानकारी पनि हुनै पर्छ । अन्यथा, दैन्यतापूर्वक गरिएका साधनाहरूले भागवतकृपा आर्जित नगर्न सक्छ ।

आचार्य निम्बार्कका दार्शनिक चिन्तनका अनुसार ब्रह्मतत्व, जीवतत्व र जगततत्वलाई भेदाभेद सत्यका रूपमा स्वीकार गर्नु, आफूलाई ब्रह्मको सूक्ष्म अंशका रूपमा महत्व दिनु, एउटा विन्रम साधक भक्तका रूपमा सधैं भगवानको कृपा दृष्टि प्राप्त गर्ने चाहना राख्नु र भक्तिको यात्राका बाधकतत्वहरू जस्तै काम, क्रोध, लोभ, मोह, मत्सर्य, अभिमान, तथा अहङ्कारजस्तासंग जोगिने उपायहरू अवलम्बन गर्नुपर्छ ।

मलाई व्यक्तिगत रूपमा आचार्य निम्बार्कको प्राकृतिक दर्शन निकै महत्वपूर्ण लाग्छ । अद्वैत, द्वैत, अचिन्त्य भेदभेद, विशिष्टताद्वैत तथा शुद्धाद्वैतवादीहरूले आलोचना गरे पनि पारमार्थिक र व्याबहारिक दृष्टिकोणले द्वैतद्वैत दर्शन सबैभन्दा बढी सार्थक दृष्टिकोण हो । अद्वैत वेदान्त कठोर छ, विशिष्टताद्वैतले त्यो कठोरता चिरेर सहज बनाउने प्रयत्न गर्यो तर अद्वैतमात्र सत्य हो भन्ने ढिप्पी छोड्न सकेन । द्वैतवादीहरूले परमतत्वलाई केवल दूईको अङ्कमा विभाजित गरेर सत्यको सीमा तोक्यो भने शुद्धाद्वैतले द्वैततत्वलाई राधाकृष्णसम्म सीमित बनायो । अचिन्त्यभेदभेदवाद आचार्य निम्बार्ककै दर्शनिक चिन्तनको संशोधित स्वरूप हो भन्न मिल्छ ।

कुनै पनि दार्शनिक चिन्तनहरूको आलोचना नगरेको हुँदा कुनै पनि दार्शनिक चिन्तनसंग द्वैताद्वैतवादको विरोध छैन । ‘सम्पूर्ण विज्ञानहरू यथार्थ हुन् (श्लोक–७)’ भनेर आचार्य निम्बार्कले आफ्नो गुरुशिष्य परम्परा र आफ्ना इष्टदेवलाई सम्पूर्ण समर्पणबाट मोक्ष प्राप्त गर्न सकिने बाटो खुला गरेका छन् । तर आचार्य निम्बार्कले आफ्ना अनुयायीहरूलाई “श्रीराधाकृष्णको उपासना बाहेक अर्को मुक्तिको कुनै साधन छैन’ भनेर अनन्यभावले स्वेकीयभावमा श्रीराधाकृष्णको उपासना गर्ने आदेश दिएका छन् ।

यसरी आचार्य निम्बार्कद्वारा प्रवर्धित भेदाभेदवाद पूर्णतया अज्ञातशत्रु तथा आजको समावेशीकरणको सत्यसँग गहिरोसंग जोडिएको छ । कुनै पनि दार्शनिक चिन्तनहरुको आलोचना नगरेको हुँदा – यो सबैभन्दा प्राचीन तथा प्राकृतिक भएको मान्न सकिन्छ । निम्बार्क परम्परामा दीक्षित साधकहरू साधनाप्रिय भएको हुँदा शास्त्रीय वादविवाद, ऐश्वर्य प्रदर्शन वा अन्य सामाजिक, सांस्कृतिक तथा धार्मिक क्रियाकलापमा सक्रिय देखिन्नन् । आफ्ना आराध्यदेव राधाकृष्णको कृपाप्राप्तिका लागि दैन्यतापूर्वक साधनारत रहनुनै यस सम्प्रदायका साधकहरूको प्राथमिकता हुन्छ ।

एजयतयः क्यगचअभः आचार्य नियमानन्दले सूर्यास्तपछि भोजनका लागि आग्रह गर्ने सन्यासी रुपी ब्रह्मालाई नीमको रूखमा सूर्यको दर्शन गराएर भोजन गराए । यसबाट खुसी भएका ब्रह्माले उनको नाम निम्बार्क अर्थात् नीमको रूखमा सूर्य देखाउने आचार्य राखी दिए । आज पनि मथुरा जिल्लाको नींव गाउँमा त्यो रूख जीवित छ रे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनपीएलले उघारेको सपना

डा. शोभाकर पराजुली देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपीएल) को

डिभोर्सः रोक्न सकिन्छ !

डा. गोविन्दशरण उपाध्याय । आर्थिक वर्ष २०२३–२४ मा काठमाडौं जिल्ला अदालतमा सरदर दिनुहुँ

नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?

डा. युवराज संग्रौला । ७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै